सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम
काठमाडौँ, २३ वैशाख (रासस) ः राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।
खासगरी वन क्षेत्र, केही समस्या रहेको क्षेत्रमा सडक बनाउन र लामो समयदेखि अलपत्र पुल सम्पन्न हुन बाँकी रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । अहिले अन्योल भएका ठाउँबाहेक अरुतिरको सडक कतै निर्माण भइसकेको छ भने कतै निर्माण भइरहेको छ ।
अहिलेसम्म दुई सय ११ किमी सडक निर्माणका लागि ठेक्कामा जान बाँकी रहेको आयोजना प्रमुख चुडाराज ढकालले बताउनुभयो । सत्तरी पुल पनि ठेक्कामा जान बाँकी छ । रेखाङ्कनमा पर्ने चितवन, नवलपुर खण्ड, कपिलवस्तु, बाँके र दाङ वनको क्षेत्रमा स्वीकृति नपाएका कारण निर्माण अघि बढेको छैन । उहाँले भन्नुभयो, “ती ठाउँमा के गर्ने भनी निर्णय आउन बाँकी छ ।”
सडकको रेखाङ्कन कतिपय खण्...









