तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । अनेकौँ कुप्रचार भए पनि दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे ।
मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । विभिन्न प्रकरणलाई निष्कर्षमा पुर्याइने उनको भनाइ छ ।
“नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन । भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ,” उनले भने, “हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।”
माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तनको आधार तयार पार्न सकिने उनले उल्लेख गरे । माओवादीको रूपान्तरण अनिवार्य भएकामा उनले जोड दिए...









