‘केटी साथी’ को विषयमा झगडा हुँदा चक्कुले हानेर हत्या
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आइतबार साँझ बूढानीलकण्ठ–६ का सुशील तामाङले ज्यान गुमाए । उनको मृत्यु स्वभाविक थिएन । चार दिनअघि बूढानीलकण्ठमा रहेको छैलुङ गुम्बा नजिकै दुई समूहबीचको झडपमा छुरा लागेर सुशील गम्भीर घाइते भएका थिए । उपचार गराउँदै जाँदा उनले ज्यान गुमाए ।
सुशीलको हत्यामा संलग्न आरोपी मकवानपुरको टिष्टुङ घर भएका राज सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न राज सिंहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
Advertisement
सुशील र राज सिंह मिल्ने साथी हुन् । पुस २३ मा साँझ उनीहरु बूढानीलकण्ठ माथि चिसेनी डाँडामा खानपिन गर्न गएका थिए । सँगै थिए, अर्का मिल्ने साथी लाक्पा शेर्पा । लाक्पाले आफूले दाई भन्ने गरेका उमेश तामाङलाई पनि चिसेनी डाँडामा बोलाए ।
...









