२०८१ बैशाख २२

केपी ओलीको सेटिङ जनताले भत्काइदिन्छन्: अध्यक्ष प्रचण्ड

विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली धूर्त र बेइमान रहेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली बेइमान र धूर्त रहेको भन्दै उनका पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको बताए । 

‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन्’, अध्यक्ष प्रचण्डको भनाई छ ।  अध्यक्ष प्रचण्डले देशलाई अध्याँरो सुरुङभित्र हाल्नमात्रै प्रतिनिधि सभा विघटन नगरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको बताए । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे ।


Advertisement


नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो ।  जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने प्रचण्डको भनाई छ ।

उनले गिरिजाप्रसाद कोइराला निरंकुशताविरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै अब निरंकुशताका अगाडि आफु पनि अन्तिमसम्म लड्ने बताए । ओली पक्षले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीका मान्छे सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङलाई जनताले भत्काइदिन्छन् र जनताले सेटिङ गर्छन्’ अदालतलाई सम्मान गर्ने तर सबैभन्दा ठुलो अदालत जनता नै भएको प्रचण्डले बताए । 

अब आफ्नो गुमाउनु केही नरहेको भन्दै प्रचण्डले भने, ‘मैले त भने नि अब गुमाउन केही पनि बाँकी छैन । अबको वाँकी जीवन नेपाली जनतालाई हो, नेपाली युवाहरुलाई हो । सम्मृद्धि, रोजगारी र सम्मानका लागि हो ।’ 

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले केपी ओलीले आफुमाथि अत्याचार गरेको भन्दै जनतालाई न्याय दिन भनेका छन् । प्रचण्डले भने–‘आदरणीय जनसमुदाय मलाई न्याय चाहियो । केपी ओलीले ममाथि अत्याचार गर्न खोजे । म न्याय चाहान्छु । जसले त्याग र बलिदानको इतिहास बनायो त्यसलाई अपमान गर्ने र हुर्मत लिने काम भैरहेको छ ।’

प्रचण्डले अझ अघि बढ्दै भने– ‘म निसन्तान, नपुंसक भइन के यो मेरो दोष हो ? केपी ओलीका छोराछोरी छैनन तर उनले कलंकको टिका लाए, छोरोछोरी छैनन् भन्दैमा धर्म सन्तानलाई लुटाउने केपी ओली ठिक हुन् त ?’ 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap