२०८१ जेष्ठ ४

दुई वटै विकल्पमा काँग्रेस तयार छ : उपसभापति निधि

महोत्तरी । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन् । शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वरमा स्वर्गीय रामनारायण मिश्रको शालिक अनावरण गर्दै पूर्वगृहमन्त्री समेत रहेका निधिले संसद विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदम रहेको जिकिर गरे ।

उनले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले जनता र मतदाताको अपमान गरेको दावी गरे । नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको दावी गरे ।

उनले भने, ‘देश, जनता, प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु आवश्यक छ । त्यसका लागि दुईटा संवैधानिक बाटो छ । सर्वोच्चद्वारा संसद पुनस्र्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको पुनःगठन बाहेक अन्य कुनै विकल्प नै छैन । यी दुबै विकल्प संवैधानिक नै हुन् । वर्तमान परिस्थितिमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार रहेको छ ।’


Advertisement


उनले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा अत्यन्त आवश्यक रहेको बताए । उनले भने, जनतालाई कुनैपनि हालतमा प्रतिनिधिसभा चाहिन्छ । तर प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै काँग्रेसको मुख्य एजेण्डा रहेको बताए । अर्को प्रसंगमा निधिले नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको तयारी अहिलेलाई थाँती राखेर निर्वाचनमा लाग्नु पहिलो प्राथमिकता रहेको बताए ।

उनले भने, ‘संसद पुनस्र्थापना भए काँग्रेसको १४ औं महाधिवेशन पहिले हुन्छ । तर निर्वाचन पहिले भए महाधिवेशन स्थगित गरी निर्वाचनमा लाग्नुपर्छ ।’ वर्तमान परिस्थितिको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै उनले संसद पुनस्र्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्ने दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार रहेको दोहोर्याए ।

त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपालमा सबैभन्दा बलियो र मधेसी पार्टी नेपाली काँग्रेस रहेको दावी गरे । उनले मधेस र नेपाली काँग्रेस एकअर्काको पर्यायवाची रहेको बताए । यस कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना, स्मृति नारायण चौधरी, प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव, समेतले धारणा राखेका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap