२०८० चैत्र १६

बलात्कारको घटना घरमै गुपचुप बनाउँदाको परिणाम सम्झना बलात्कार/हत्या प्रकरण

साभार: रातोपाटी

काठमाडौँ । भदौको अन्तिम साता सप्तरीमा सामुहिक बलात्कारको शिकार भएकी एक किशोरीले आत्महत्या गरिन् । बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको साटो पीडितलाई नै मिलापत्र गर्न समाजले दबाब दिएपछि ती किशोरीले आत्महत्या गरेकी थिइन् ।

बलात्कारजस्तो जघन्य अपराधविरुद्ध कानुनी कारवाही प्रक्रियामा हुने ढिलाइले निम्त्याउन सक्ने परिणाम बुझ्न उक्त घटना एउटा गतिलो पाठ बनेको छ ।

बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको अर्को उदाहरण हो सम्झना विक बलात्कार र हत्या प्रकरण ।

बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको दायरामा ल्याइएको भए बझाङ, मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकले सायद आज अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला ।

किनकि, उनको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहराले केही समयअघि मात्र अर्की १४ वर्षीय बालिकालाई बलात्कार गरेको तथ्य प्रकाशमा आएको छ । उक्त अपराधमा उनलाई कानुनी कारवाहीको दायरामा समयमै ल्याइएको हुन्थ्यो भने सम्झना विकसम्म उनी पुग्न नै पाउँदैनथे ।

एक महिनाअघि भएको उक्त घटनालाई पीडित परिवारले नै गुपचुप राखे । उक्त घटना प्रहरीसम्म पुगेको भए सायद राजेन्द्र यसअघि नै जेलभित्र हुन्थे र सम्झना यतिबेला जीवितै हुन्थिन् ।

एक महिनाअघि अर्को बलात्कार

प्रहरीका अनुसार राजेन्द्रले एक महिनाअघि गाउँकै बालिकालाई बलात्कार गरेका थिए । राजेन्द्रको परिवारको घट्टमा पिठो पिस्न आएकी १४ वर्षीय बालिकालाई उनले बलात्कार गरेका थिए ।

सो घटनालाई दुई परिवार बसेर गुपचुप मिलाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए ।


Advertisement


‘बच्चा जन्मेमा जिम्मा लिने सहमति गरेर सो घटना गुपचुप मिलाएको पाइएको छ,’ एसएसपी सिंहले रातोपाटीसँग भने, ‘अहिले पहिलो बलात्कार पीडितबाट पनि जाहेरी प्राप्त भएको छ, हामी अनुसन्धान गरिरहेका छौँ ।’

साउन २९ मा मष्टा–२ स्थित घट्टमा साँझ ५ बजे उनले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घट्टमा राजेन्द्र एक्लै थिए । पिठो पिस्न गएकी किशोरीलाई उनले त्यहीँ बलात्कार गरे । ३ दिनपछि परिवारले घटना थाहा पाएपछि दुई पक्ष बसेर गरेको मिलापत्र कागज रातोपाटीलाई प्राप्त भएको छ ।

हेर्नुहोस् पत्र

‘पहिलो घटना गुपचुप मिलाउँदा दोस्रो घटना भयो,’ एसएसपी मुकेश सिंहले भने, ‘परिवार समवेदनशील भएर पहिलो घटना नलुकाएको भए दोस्रो बलात्कार–हत्या हुने थिएन ।’

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले समवेदनशील घटना नलुकाउन सबैमा आग्रहसमेत गरे । बलात्कृत १४ वर्षीय किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ ।

सम्झनालाई पछ्याउँथे

राजेन्द्रले सम्झना विकलाई बारम्बार पछ्याइरहन्थे । आफूलाई राजेन्द्रले पछ्याउने गरेकाले ‘डर लागेको’ कुरा उनले आफ्नो हजुरबुवालाई भनेकी थिइन् । तर, सम्झनाको परिवार यसबारे समयमै समवेदनशील भएन ।

गत असोज ७ गते बुधबार घरबाट आधाघण्टा पर गोठमा गाईगोरु लिएर जाँदै गर्दा राजेन्द्रले सम्झनाको हत्या गरे । घरबाट हिँडेको करिब १५ मिनेटपछि लछारपछार पारेर बलात्कारपछि उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

क्रुर मानसिकता

सम्झनाको हत्या निकै पाशविक ढंगले गरिएको खुलेको छ । उनलाई बलात्कारपछि टाउकोमा ढुङ्गाले हिर्काएर र फलामको सुईरोले घोचेर हत्या गरेको उनको शव परीक्षण रिपोर्टबाट खुलेको हो ।

जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार बलात्कारपछि समवेदनशील अङ्गमा समेत तिखो वस्तुले घोचेको र टाउकोमा ढुंगाले हिर्काएको देखिएको छ । शव परीक्षणको विस्तृत रिपोर्ट भने आउन बाँकी छ ।

बलात्कार र हत्याका आरोपित राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरी अदालतबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले रातोपाटीलाई बताए ।

सम्झनाको बलात्कार पछि हत्या गर्नेलाई कडा कारवाहीको माग काठमाडौँमा समेत प्रदर्शन भइरहेको छ ।

Copy link
Powered by Social Snap