२०८० चैत्र १६

उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि, देशभर कुल संक्रमित ५० हजार नाघे

साभार: रातोपाटी

उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो । 
मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।  

यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।  

नेपालमा पहिलो पटक ०७६ माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चीनको उहानबाट आएका ३२ वर्षीय पुरुषमा  पहिलो पटक कोरोना पोजिटिभ देखिएको थियो। यसो त कोरोनाको उद्गमथलो समेत उहान नै हो । त्यससता नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा जारी गर्ने जस्ता कदम चालिएपनि कोरोना न्यूनीकरण भने हुन सकेको छैन । बरु पछिल्लो समय संक्रमण थप तीव्र गतिमा फैलिएको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्  ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। 

यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।  


Advertisement


प्रदेशगत विवरण 
प्रदेश नम्बर १ मा आइसोलेशनमा ४ सय ७२, प्रदेश नम्बर २ मा ४ सय २५, बागमती प्रदेशमा ४ हजार ५ सय ३९ र गण्डकी प्रदेशमा ७ सय ५३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४५, कर्णाली प्रदेशमा २ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् । 

यस्तै होम आइसालेसनमा प्रदेश नम्बर १ मा ८ सय ७४, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ४ सय ५७ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ३, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ६९ गरी देशभरी ६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आज आईसीयुमा १ सय ६५ जना भेन्टिलेटरमा २१ जना संक्रमित उपचाररत रहेका छन् । 

आज १ हजार ८ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा कुल ३ हजार २ सय १८, प्रदेश नम्बर २ मा १० हजार १ सय ५२, बागमती प्रदेशमा ६ हजार ७ र गण्डकी प्रदेशमा २ हजार ७७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार १ सय ३३, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना गरी आजसम्म ३५ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन् । 

https://drive.google.com/file/d/1-T15c-cogQ7eoCoiDXR8Bmg-uTuJzqss/preview

Copy link
Powered by Social Snap