२०८० चैत्र १६

हामीले नै बिगारेका हौं उनीहरूलाई! : विजयमणि पौडेल




विद्यालयदेखि नै पढ्यौं– लोकतन्त्र जनताको शासन हो। यस्तो शासन व्यवस्थामा जनताद्वारा चुनिएका प्रतिनिधिहरू नै संसद र सरकारमा हुन्छन्। 

संविधान र शासन व्यवस्था हेर्ने हो भने देशमा लोकतन्त्र छ। तर कतिपय व्यवहार र संस्कार हेर्ने हो भने देशमा लोकतन्त्र आएकै छैन। जनताबाट चुनिएका प्रतिनिधिहरूले आफूलाई जनताभन्दा माथि राखेका छन्। जनताले पनि आफैंले भोट दिएर पठाएकाहरूलाई ठूला बनाइदिएका छौं। जनताको सेवक र जनताप्रति जवाफदेही हुनुपर्ने जनप्रतिनिधिहरूलाई ‘महामानव’ बनाइदिएका छौं।

केही जनप्रतिनिधिहरू जनताप्रति इमानदार र नजिक छन्। उनीहरू अपवाद हुन्। अधिकांश जनप्रतिनिधि जनताबाट टाढा छन्। उनीहरू जनताप्रति उत्तरदायी र इमानदार नभएको तथ्य पत्ता लगाउन कुनै प्राज्ञिक अनुसन्धान गर्नै पर्दैन। उनीहरूको दैनिक व्यवहार हेर्ने हो भने यो यथार्थ स्पष्ट देखिन्छ।



Advertisement



उनीहरू जनतासँग कि त भोट माग्न आए कि त राजनीतिक रूपमा लाभ हुने कुनै कार्यक्रममा आए। उनीहरू आउँदा हामीले ताली बजाइदियौं। माला र खादा लगाइदियौं। 

कार्यक्रममा उनीहरू प्रायः ढिलो नै आए। ढिलै आए पनि भव्य स्वागत गरिदियौं। उनीहरू नआइकन कार्यक्रम सुरू नै गरेनौं। उनीहरूलाई पर्खिने क्रममा ७०/८० वर्ष नाघेका वृद्धवृद्धालाई तातो घाममा घन्टौं उभ्याइदियौं। हातमा फूलमाला दिएर बालबालिकालाई घुँडा दुख्ने गरी उभिन लगायौं। मेलापात छाडेर, उद्यम/व्यवसाय बन्द गरेर वा स्कुल छुट्टी दिएरै भए पनि उनीहरू आउने कार्यक्रममा पुगिदियौं।

जब उनीहरू गाडी वा जहाजबाट ओर्लिए, आफैं पुगेर छाता ओढाइदियौं। दलबलका साथ उनीहरू मन्चमा आउँदै गर्दा उद्घोषण गरिदियौं– हाम्रो प्रमुख अतिथि पाल्नुभएको छ, सबै आआफ्नो ठाउँबाट उठेर उहाँको सम्मान र स्वागत गरौं। छिमेकी गाउँ र सहरमा सुनिने गरी गडगड ताली बजाऔं।

उनीहरू हिँड्ने र बस्ने ठाउँलाई विशेष रूपले सिँगारिदियौं। मन्चको अगाडि चिटिक्क परेको सोफामा उनीहरूलाई राखिदियौं। पानसमा बत्ती बाल्न लाएर कार्यक्रमको उद्घाटन उनीहरूबाटै गरायौं।

कार्यक्रम चल्दै गर्दा चाकरीबाजले उनीहरूको कानमा गएर सुटुक्क भनिदियौं– हजुरको आगमनले यो ठाउँमा रौनक छाएको छ। हेरिबक्सियोस् त, सबै खुसीले व्यग्र भएर हजुरको दुई वचन सुन्न प्रतिक्षारत छन्।



जब मन्तव्यका लागि पोडियममा बोलायौं, प्रशंसा र चाकरीले भरिएका विशेषणहरू दियौं। उनीहरूको भाषणमा ताली बजाइदियौं। हरेक कार्यक्रम उद्घाटन गर्न, रिबन काट्न उनीहरूलाई नै बोलायौं। फलानोको बाहुबलीबाट शुभारम्भ भएको उल्लेख गर्दै शिलापत्र वा ताम्रपत्रमा उनीहरूको नाम ठूलो अक्षरले लेखिदियौं।

आफ्नो पार्टी वा गुटको शक्ति प्रदर्शन गर्ने भेलाहरूमा उनीहरूले दूरदराजसम्म गाडी पठाए। खाने-बस्ने व्यवस्था र केही खर्चको व्यवस्था गरिदिए। जयजयकारको नारा लाउँदै हामी उनीहरूको भेलामा पुगिदियौं। तातो घाम वा चिसो सिरेटोमा घन्टौं उनीहरूको कुरा सुनेर ताली बजाइदियौं। हाम्रो भीड देखाउँदै उनीहरूले विरोधीहरूलाई भनिदिए– देख्यौ हाम्रो शक्ति!

‘सम्भ्रान्त’ हौं वा ‘सर्वहारा’, आम जनता हौं वा ‘विशिष्ट मान्छे’– हामीले उनीहरूको चाकरी गरिदियौं। हाम्रो अनुभव छ, उनीहरूलाई खुसी राख्न सक्यो भने ‘नहुने’ काम पनि हुन्छ। ‘हुने’ काम झन् सजिलोसँग हुन्छ। लामो प्रक्रियाको काम एकैछिनमा हुन्छ।

उनीहरू महँगा गाडीमा मानिसका लाइन लाएर आए। हेलिकप्टर चढेर आए। निर्वाचनमा पैसाको खोलो बगाए। सर्वसाधारणलाई उनीहरूले चुनाव अगाडि टोलटोलमा भोज दिए। विभिन्न व्यक्ति र समूहहरूलाई पैसा बाँडे। सम्भ्रान्तहरूलाई विभिन्न महँगा ठाउँहरूमा बेलाबेला भोज दिए।

तर सोधेनौं– त्यो कसको पैसा हो र कहाँबाट आयो? कुनै उद्यम/व्यवसायबिना शानका साथ कसरी बाँच्न सकिन्छ? 

उल्टै उनीहरूको तारिफ गरिदियौं। उनीहरूले बोलाएको ठाउँमा गएर खाइदियौं, पिइदियौं।

हामीलाई केको चासो? हामी धाक लाउँदै हिँड्यौं– फलानो मेरो मान्छे हो, फलानो मेरो आफन्त हो। फलानो मैले भोट हालेको पार्टीको मान्छे हो!

काम परेका बेला हामी उनीहरूको घरघर धायौं। चिनजानकै भरमा प्रक्रिया मिचेर भए पनि आफ्नो स्वार्थ पूरा गर्न खोज्यौं। मौका पाइहाले उनीहरूसँगै फोटो खिचायौं। उनीहरूको जन्मदिनमा त्यही फोटो राखेर ट्विटर र फेसबुकमा शुभकामना लेखिदियौं।

उनीहरूले सपना देखाए, पत्याइदियौं। त्यही सपनामा रगत र पसिना बगाइदियौं। क्रान्ति र आन्दोलनमा उनीहरूले सहयोग मागे। सकेसम्म साथ दियौ‌ं– बन्दुक समातेर, सडकमा ओर्लिएर, गाएर, लेखेर। उनीहरूका लागि कतिपय हामी शहीद भयौं। कति घाइते, रोगी र अशक्त भयौं। कतिले परिवार र जायजेथा गुमायौं। कतिले ‘बुर्जुवा शिक्षा’ को नाममा पढ्नलेख्न छाडेर यौवनको ऊर्जा गुमायौं।

जब ती सपना देखाउने मानिसहरू सत्ताको शिखरमा पुगे, उनीहरूलाई हामीले ‘महामानव’ बनाइदियौं। आफ्नो गुट र स्वार्थ मिल्नेले झुटो बोल्दा पनि ताली बजाइदियौं। फरक गुट र स्वार्थ नमिल्नेले चिच्याएर सही कुरा गरे पनि गाली गरिदियौं। 

अनि त उनीहरूलाई लाग्यो, उनीहरू सर्वशक्तिमान छन्! उनीहरूले जे बोल्दा पनि हुन्छ, जे गर्दा पनि हुन्छ। किनकि उनीहरूलाई थाहा छ– उनीहरूले जे बोले पनि चाप्लुसी गर्दै टेबल ठटाउनेहरू छन्, आफ्नो इमान बेचेरै भए पनि तारिफ गर्नेहरू छन्। अनि विरोध गर्दै आवाज उठाउनेहरू पनि छन्। उनीहरूले कसैलाई सुन्नु पर्दैन। सबै कुरा उनीहरूलाई थाहा छ।

शासनमा रहँदा उनीहरूले बलियो संरचना बनाउनै खोजेनन्। सबै शक्ति र प्रक्रियाको केन्द्रमा आफैंलाई राखे। यसबाट साधारण प्रशासनिक प्रक्रियाबाट हुनुपर्ने कतिपय कामहरू पनि हुन सकेन। अधिकांश कामका लागि उनीहरूकै सिफारिस र  तोक चाहियो।

उनीहरूले जनतालाई आफ्नै वरिपरि घुम्न बाध्य बनाइदिए। आफूलाई यति ‘व्यस्त’ बनाइदिए कि, जनता जहाँ पनि उनीहरूलाई भेट्न घन्टौं कुर्न बाध्य भयौं। उनीहरूले आफूलाई जनताभन्दा माथि राखे। आफैंलाई ‘माननीय’ र ‘सम्माननीय’ बनाइदिए। हाम्रो जस्तो आर्थिक रूपले विपन्न देशमा उनीहरूले आफ्नो जीवनशैलीलाई राजकीय बनाइदिए।

उनीहरूले आफूलाई सुविधाले घेरेर राखे। केही पदहरू एकपटक पाएपछि जिन्दगीभर राज्यले सुविधा दिएर राख्नुपर्ने बनाए। आफ्नो स्वार्थ पूरा हुने गरी कति नीति र प्रावधान ल्याए। अधिकांश परियोजनामा ‘कमिसन’ लिए र लिन सिकाए। आफ्नो पार्टीलाई उद्यम र व्यवसाय गरेर होइन, अरूबाट चन्दा उठाएर चल्ने बनाए। आफ्ना कार्यकर्तालाई आत्मनिर्भर हुने ज्ञान र सीपभन्दा पनि अरूको र राज्यको स्रोत हडप्न र दोहन गर्न सिकाए।

आफ्नै बलबुतामा मेहनत गरेर जीवन निर्वाह गर्ने हरेक नागरिकलाई पक्कै पनि यी सब चर्तिकला हेर्दा/देख्दा उकुसमुकुस हुन्छ।

अर्को यथार्थ यो पनि हो– सार्वजनिक संस्थाहरू मजबुत र निष्पक्ष नहुँदा व्यक्तिगत, सामुदायिक वा संस्थागत कामका लागि सहयोग माग्न शक्ति र सत्तामा बसेकाहरूसँग जान बाध्य हुन्छौं। कति निकायमा जागिर पाउन, छात्रवृत्ति पाउन, उपचार गर्न जस्ता आधारभूत कुरामा समेत ‘सोर्स’ र ‘फोर्स’ चाहिने उदाहरण देखिन्छन्।

फेरि विरोधाभाष यो छ कि– जतिसुकै अनुत्तरदायी भए पनि वर्षौंदेखि एकै पात्रहरू हाम्रो वरिपरि देखिन्छन्।

त्यसैले वर्षौंदेखि हाम्रो व्यवहार र संस्कारमा लोकतन्त्र आउन सकेको छैन। यसका लागि उनीहरूसँगै सबै बदलिन आवश्यक छ। सचेत हुन आवश्यक छ। ब्रह्मले देखेको कुरा बोल्न आवश्यक छ। खबरदारी गर्न आवश्यक छ। आफ्नो व्यक्तिगत र समूहको स्वार्थ छाडेर जागृत हुन आवश्यक छ।

होइन भने, हामी खेतमा गाडिएका बुख्याचा मात्र हुनेछौं– मान्छे देखिने तर सास नभएका।

अनि उनीहरू तिनै बुख्याचामाथि सधैं राजनीति गरिरहने छन्।

इतिहासले देखाएको छ– सास नभएकाहरूको राजा हुन उनीहरूलाई कहिल्यै लाज लागेको छैन!

ट्विटरः @mani_bijaya

Copy link
Powered by Social Snap