२०८१ बैशाख ४

ओस्करमा पुगेका ३ उत्कृष्ट छोटा फिल्म, हेर्नुहोस् युट्युबमा




लम्बाई कम हुँदैमा छोटा फिल्मले पार्ने प्रभावको असर छोटो हुँदैन। कम समयमा चरित्र स्थापित गर्ने, द्वन्द्व सिर्जना गरी रोमाञ्च र संवेदना जगाउने, कथा र दृश्यमा आफ्नो शिल्प देखाउने चुनौती स्वीकार्दै छोटा फिल्मका सर्जकहरूले उम्दा काम गर्दै आएका छन्।

अर्कोतिर, दैनिक जीवनका मसिना घटनाबाटै कथा टिपेर सामाजिक कथा भन्ने मामिलामा पनि छोटा फिल्मको योगदान महत्वपूर्ण छ। छोटा फिल्मलाई सिर्जनशील निर्देशकले छोटो समय र थोरै लगानीमा आफ्नो प्रतिभा देखाउने माध्यमसमेत बनाएका छन्।

invotech

यस्तै विशेषताका कारण फिचर फिल्मसँगै छोटा फिल्मले ओस्कर, कान्सलगायत संसारभरका अवार्ड समारोहमा आफ्नो स्थान बलियो बनाएका छन्। सन् १९२९ देखि वितरण हुन थालेको ओस्करका केही वर्षमै छोटा फिल्मबीच नियमित प्रतिस्पर्धा हुन थालेको हो। सन् १९३२ मा जेम्स प्यारोटको ‘म्युजिक बक्स’ पहिलो पटक पुरस्कृत छोटो फिल्म हो। 

आज हामीले ओस्करमा छानिएका यस्तै तीन छोटा फिल्म सिफारिस गरेका छौं जुन खासगरी बालबालिकाको विषयमा केन्द्रित छन्। उनीहरूको मनोविज्ञान, शारीरिक अपांगता, द्वन्द्व, रंगभेदजस्ता गम्भीर सामाजिक विषय यिनमा समेटिएको छ। 

यी तीनमध्ये दुइटा फिल्म ओस्करमा छानिएका हुन् भने एउटाले अवार्ड नै जितेको थियो। सबै फिल्म अंग्रेजी भाषामा सबटाइटलसहित छन्।



Advertisement



द क्रशः 

आठ वर्षीय अर्डाल ट्राभिस आफ्नी शिक्षक मिस पर्डीलाई मनपराउँछन्। उनले एउटा औंठी दिँदै उनलाई आफ्नो कुरा भन्छन्। पर्डीसँग बिहे गर्ने सपना पनि देख्छन्।

एकदिन आमासँग बजार गएका बेला उनले मिस पर्डीलाई प्रेमीसँग देख्छन्। प्रेमीले आफूलाई भर्खरै प्रस्ताव गरेको भन्दै उनले हिराको औंठी देखाउँछिन्। उनका प्रेमी पियर्स अलि सन्काहा हुन्छन्। पर्डीले खाना खान जाऊँ भन्दा पियर्स झर्को मान्छन्।

यो  देखेर आर्डलको मन खिन्न हुन्छ। घर पुगेपछि उनका बुवाले दराजमा बन्दुक राख्दै गरेको देख्छन्।

अर्को दिन स्कुलबाहिर पर्डीलाई कुरिरहेका पिर्यससँग आर्डलको भेट हुन्छ। आर्डलले उनलाई पर्डीसँग बिहे नगर्नु, नभए मृत्यु होला भन्दै धम्क्याउँछन्। बन्दुकले एकअर्कालाई चुनौती दिने आर्डलको कुरा सुनेर पियर्सले पनि मजाकैमजाकमा स्वीकार गर्छन्। 

भोलिपल्ट स्कुलमा उनीहरूको भेट हुन्छ। पियर्सले बन्दुक ल्याएकै हुँदैनन् तर आर्डलको हातमा हुन्छ। उनी पियर्ससँग निकै रिसाएका छन्, बन्दुक ताक्छन्। त्यही बेला पर्डी पनि आइपुग्छिन्। 

आर्डल, पर्डी र पियर्सको यो त्रिकोणात्मक ‘क्रश’ कथाको अन्त्य के होला? 

यसका लागि ओस्करमा छानिएको आइरिस फिल्म ‘द क्रश’ फिल्म हेर्नुहोला। 

फिल्मको सुरूमै मिस पर्डीले विद्यार्थीहरूलाई सिकाउँदै गरेका तीन शब्दले यो फिल्मको सारांश भन्छ। 



न्यु ब्वाइः

जोशेफ आयरल्यान्डको एक स्कुलमा नयाँ विद्यार्थी हुन्। उनी अफ्रिकाको कुनै गाउँबाट यहाँ आइपुगेका हुन्। नयाँ स्कुलमा उनलाई घुलमिल हुन मुश्किल हुन्छ। उनी चुपचाप दुखी अनुहार लगाएर कक्षामा बसिरहन्छन्।

कक्षामा उनलाई विशेषगरी अरू दुई बालकले सताउँछन् पनि। एकदिन उनीहरू स्कुलको मैदानमा झगडै गर्न उत्रिन्छन्। 

यहीबीच जोसेफको कथा उनको पृष्ठभूमिमा पनि पुग्छ। 

उनी गाउँको सामान्य स्कुलमा कसरी पढ्थे, कति हसिँला थिए र आफ्नाका माझ कति खुसी थिए भन्ने देखिन्छ। 

उनको यो खुसीमा कसरी बादल लाग्छ? अफ्रिकाका जोसेफ कसरी एक्लै आयरल्यान्ड पुगेका हुन्छन्?

यसका लाग ओस्करमा छानिएको आइरिस फिल्म ‘न्यु ब्वाइ’ हेर्नुहोला।

द साइलेन्ट चाइल्डः

लिब्बी चार वर्षकी बालिका हुन् जो कान सुन्दिनन्। उनका दाइदिदी र आमाबा छन्। लिब्बी नसुन्ने भएपछि बोल्न पनि सक्दिनन्। उनको समस्या सहज बनाउँदै हुर्काउन गाह्रो भएपछि उनका आमाबाले एक समाजसेवी शिक्षकको सहयोग लिन्छन्।

सू नामकी ती शिक्षकले लिब्बीलाई सांकेतिक भाषा सिकाउँछिन्। विस्तारै लिब्बी संकेतमार्फत आफ्नो कुराकानी गर्न र आफ्नो कुरा भन्न सक्ने हुन्छिन्। तर लिब्बीका आमाबालाई यो सुधारमा चित्त बुझ्दैन। आमाबाको व्यवहार शिक्षक सूलाई पनि चित्त बुझ्दैन। कान नसुन्ने र आफ्ना कुरा भन्न नसक्ने लिब्बीको पनि चित्त बुझ्नैदन। 

ओस्कर जितेको द साइलेन्ट चाइल्डले कान नसुन्ने विद्यार्थीको सिकाइको नाजुक अवस्थाबारे चित्रण गरेको छ।

बेलायतको यो फिल्मले सन् २०१८ को ओस्करमा लाइभ एक्सन सर्ट फिल्म अवार्ड जितेको थियो। 

Copy link
Powered by Social Snap