२०७९ श्रावण २४
Advertisement

Advertisement

कोही कसरी यतिसम्म स्वार्थी हुनसक्छ?

सायद बिहानको दश बजेको थियो। बिहानको खाजा खाइसकेपछि अनितासहित उसको श्रीमान् र दुवै बच्चाहरू आफ्नो काममा व्यस्त थिए। त्यसैबेला अनिताको मोबाइलको घण्टी बज्यो। अनिताले फोन उठाइन्।

‘हेल्लो, बिनिता दिदी नमस्ते!,’

दिदीले धेरै समयपछि फोन गरेकी थिइन्, त्यसैले अनिता कुरा गर्न एकदम उत्सुक थिइन्। जब उनीहरू भेट्छन्, एकअर्कालाई अत्यन्तै न्यानो माया दर्शाउँछन्।

‘अनिता, तिमीलाई कस्तो छ?’

‘यहाँ सबैलाई ठिक छ दिदी अनि त्यहाँको हालचाल के छ?’


Advertisement


‘सबै कुरा राम्रो छ अनिता। आज तिम्रो छोराको विवाहको जनै सुपारी लिने दिन हो!,’ उनले धेरै गम्भीर मुद्रामा भनिन्।

अनिताले बुझ्नै सकिन दिदीले के भनिरहेकी छिन? उसको छोराको जनै सुपारी र उसैलाई थाहा छैन? अनिता चकित भइन्। अनिताले अचम्म मान्दै सोधिन्, ‘मेरो छोराको जनै सुपारी? दिदी, तपाईं यो के भनिरहनु भएको छ? मैले केही बुझिनँ।’

अनिता आत्तिएको तुरुन्त महसुस गरिन् बिनिताले र भनिन्, ‘अनिता, म त ठट्टा गरिरहेको थिएँ। तिमी त त्यसै आत्तियौ। मेरो छोरा रबिन तिम्रो पनि छोरा होइन र? उसको जनै सुपारी लिने हो।’

‘ओह! कुरा यस्तो पो! दिदी अब बुझेँ। क्या दिदी तपाईं पनि ठट्टा गर्नुहुन्छ। तपाईंले मलाई तर्साउनु भयो।’

आज दिदीले किन हो कुन्नी बडो आफ्नोपन व्यक्त गर्दै थिइन्। अनिता बस्ने ठाउँबाट केही मिनेटको दूरीमा बस्छिन् तर कहिल्यै आउँदिनन्। आउने जाने गरेको पनि छैन। कहिल्यै हालचाल बुझ्ने गरेको पनि थाहा छैन। तर जब उनीहरू भेट वा जम्काभेट हुन्छ, व्यवहार नै फरक हुन्छ। जस्तो अभिन्न मित्र, जो लामो समयपछि एकअर्कालाई भेट्दैछन् र धेरै कुराहरू गर्नुछ।

‘दिदी, धेरै बधाई छ! जनै सुपारी कहिले हो?’

‘आजै हो, दिउँसो १२ बजे।’

‘के? दिदी… मलाई बल्ल भनिरहनु भएको छ? यति बेला साढे दश बज्यो। यति चाँडै म कसरी आउन सक्नेछु?’

‘तिम्रो र मेरो घर कति पो टाढा छ र? दश मिनेटको बाटो पनि छैन। तिमी आरामसँग आइपुग्न सक्छौ।’

‘तर दिदी… अचानक कसरी? यदि मलाई तपाईंले पहिल्यै भनेको भए सजिलो हुने थियो!’

दिदीले स्पष्टीकरण दिन थालिन्, ‘अनिता तिमीलाई के भन्नु, केटी पक्षले अचानक आजै गर्नु पर्छ भने!’

‘किन यस्तो दिदी?’

जब अनिताले आश्चर्य मान्दै सोधिन् अनि उनले भनिन्, ‘तिनीहरू यहाँका होइनन्, एक दिनअघि यहाँ आएका छन्, होटेलमा बसेका छन्, भोलि फर्किनेछन्।’

अनिताको मनमा धेरै कुराहरू खेल्न थाल्यो- के कसैले यस्तो शुभ अवसरमा पनि यसरी निम्तो दिन्छ! सायद हुनसक्छ हामीलाई बोलाउन नचाहेका हुन्, सायद समाजले के भन्ला भनेर मात्र औपचारिकता जनाउन जानकारी गराएको हो कि! त्यही सात/आठ किलोमिटरको दूरीमा छन् उनीहरू, तैपनि किन समयमा बोलाएनन् आदि आदि?

‘ठिक छ दिदी, त्यसो भए कार्यक्रम कति लामो हुन्छ?’

‘यस्तै दुई-चार घण्टाको प्रोग्राम हो। चार/पाँच बजेसम्म सबै सकिन्छ।’

उनीहरूले निम्त्याएको तरिका अनितालाई पटक्कै मन परेन। त्यसैले अनिताले आउन नसक्ने कारण देखाउँदै असमर्थता जनाइन्, ‘दिदी, वास्तवमा आज हामी बाहिर जानु छ। मेरी छोरीले परीक्षमा राम्रो अंक ल्याएकोले कलेजमा सम्मानित गर्ने कार्यक्रम छ। त्यसैले त्यहाँ जानु छ।’

दिदीको मन राख्न अनिताले उनलाई छोरीको कार्यक्रमको बारेमा जानकारी दिनु उचित ठानिन्, अन्यथा बहाना बनाइन् भनेर सोच्थिन्।

अनिताको कुरा सुनेर दिदीसँग छोरीको कार्यक्रममा पनि जानु आवश्यक छ भन्ने बाहेक अरू कुनै शब्द थिएन। फेरि के सोचेर अनिताले यदि छोरीको सम्मान कार्यक्रम चाँडै सकियो भने दिदीको घरको कार्यक्रममा सामेल हुनेछु भनेर भनिन्।

कलेज टाढा थियो, त्यसैले छोरीको कार्यक्रम सकेर घर फर्किंदा अँध्यारो भइसकेको थियो। पछि उनीहरूले भन्ने मौका नपाओस् भनेर अर्को दिन बिहान दिदीको घरमा जाने सोच बनाइन्। बिनिता अनिताको फुपूको ठूली छोरी थिइन्। हजुरआमाको प्यारी नातिनी थिइन्। अनिताको बुबाले पनि खुब माया गर्नुहुन्थ्यो।

बिनिता दिदीको श्रीमान नरेन्द्र भिनाजुले आजभन्दा लगभग बीस वर्ष पहिला एक महिनामा फिर्ता गर्छु भनेर अनिताको बुबासँग पैँतिस हजार सापटी लिएका थिए। अनिताको बुबाले नाई नास्ती नगरीकन तुरुन्तै पैसा दिनु भएको थियो। तर तीन महिना बितिसक्दा पनि उनले पैसा फिर्ता गरेनन्। अनिताको बुबाले फोन गर्दा नरेन्द्र भिनाजुले केही दिन पर्खिनको लागि आग्रह गर्दथे। अनिताको बुबाले पनि उनको आग्रहलाई स्वीकार गरेर थप समय दिँदै गए।

यस प्रकार उनले हरेक समय केही बहाना बनाएर समय माग्थे र अनिताको बुबाले पनि उनलाई पटक-पटक समय दिँदै गए। त्यसबीच उनीहरूको घरमा धेरै कार्यक्रम र विवाहहरू भए। आवश्यकता पर्दा अनिताको बुबाले पैसा फिर्ता माग्नु हुन्थ्यो। कयौं पटक बिनिता दिदीमार्फत पनि पैसा फिर्ताको लागि अनिताको बुबाले भन्नु भएको थियो। हरेक पटक बहाना बन्थ्यो। सापटी दिएको पैसा फिर्ता हुन सकेन।

नरेन्द्र भिनाजुले सापटी लिएको रकमबाट जग्गा किनेका थिए जसको आजको मूल्य पचास लाखसम्म पुगेको छ। तर आजसम्म उनले त्यो पैँतिस हजार फर्काएका छैनन्। यसरी उनीहरू बीचको सम्बन्धमा दूरी बढ्न थाल्यो। बिनिता दिदीले पनि नरेन्द्र भिनाजुलाई नै समर्थन गर्थिन्। उनीहरू अरुलाई भन्ने गर्थे कि केवल केही हजार रूपैयाँ मात्र फिर्ता गर्न बाँकी छ। बाँकी रकम बुबालाई फिर्ता गरिसकेको छ।

भोलिपल्ट अनिता बिनिताको घरमा पुगिन्। यहाँ उल्लेख गर्नु आवश्यक छ कि जुन घरमा बिनिताको परिवारहरू बस्थे, वास्तवमा त्यो घर नरेन्द्र भिनाजुको मामाको घर थियो। सबै आफन्तहरूलाई राम्ररी थाहा छ कि त्यो घरमा पनि उनीहरूले आफ्नो मामालाई ठगेर कागजातहरूमा हेरफेर गरेर आफ्नो नाममा गराएका थिए।

उनीहरूको घरमा जानुअघि नै अनिताले उनीहरूलाई साँझ पाँच बजेसम्म आउनेछु भनेर जानकारी गराएकी थिइन् ताकि उनीहरूको काममा कुनै बाधा नपुगोस्। अनिता त्यहाँ पुग्दा बिनिता दिदी सुतिरहेकी थिइन्। ढोका उनको छोरा रबिनले खोलेको थियो। उसले चिनेर होला बिनिता दिदीलाई अनिता आन्टी आएको छ भनेर जनकारी गरायो।

ढोका खोल्नेबित्तिकै अनिता सिधैं भित्री कोठामा गइन्। अनिताको आवाज सुनेर बिनिता आँखा मिच्दै ब्युँझिन। मुस्कुराउँदै तुरुन्तै उठिन् र अनितालाई अंगालो हालिन्। छोराको सम्बन्धका लागि अनिताले उनलाई बधाई दिइन्। बिनिताको मुहारबाट हल्का मुस्कान खस्यो। अनितालाई त्यही ओछ्यानमा बस्न आग्रह गरिन्।

केही क्षणमा रबिनले एउटा ट्रेमा पानी र मिठाई ल्यायो। उनीहरूबीच यताउताका कुरा हुन थाल्यो। केटी कहाँको हो? के गर्छ? कति शिक्षित छ? आदि।

‘दिदी, मलाई तपाईंको हनुवाला बुहारीको फोटो त देखाउनुहोस्।’

बिनिताले तुरुन्त रबिनलाई बोलाइन्।

‘रबिन, सानीमालाई केटीको फोटो देखाऊ।’

रबिनले मोबाइल ग्यालरी खोल्छ र फोन अनिताको हातमा दिएर बाहिर गयो।

‘केटी राम्री छिन् दिदी! नाक-अनुहार पनि राम्रो छ।’

‘हो, तिमीजस्तै। अलि गोरोपन कम छ।’

‘के म नराम्री छु र दिदी?,’ आश्चर्य मान्दै सोधिन्।

‘होइन, मभन्दा कम गोरो भनेको।’

बिनिता दिदीको लागि गोरो हुनु नै सुन्दरताको मापदण्ड थियो। बिनिताले आफ्नो बिहेको कुरा भन्न थालिन्, उनको बिहे गर्ने समयमा सासूले आफ्नी बुहारी गोरी हुनुपर्नेछ भनेर भनेका थिए। अनुहार जस्तो भए पनि गोरो हुनुपर्छ। यसमा अनिताले उनलाई भनिन्, ‘दिदी, अब समय परिवर्तन भएको छ।’

बिनिता नचाहेर पनि त्यस कुरामा सहमत भइन्। त्यसपछि केटी पक्षले दिएको उपहारहरू देखाउन सुरु गरिन्। घरका सबै मानिसहरूलाई कपडा, सारी, सुट लुगाहरू इत्यादि पक्षले दिएका थिए। केटी पक्षले नरेन्द्र भिनाजुको नाममा लेखिदिएको पन्ध्र लाखको चेक पनि बिनिताले दराजबाट निकालेर देखाइन्।

ठिक त्यति नै बेला भिनाजु कोठामा छिरे। छोराको जनै सुपारीका लागि अनिताले बधाई दिइन्। उनले अनिताको बधाईलाई अप्ठ्यारो मान्दै स्वीकारे। अनिताले अलि अनौठो महसुस गरिन् तर त्यस कुरालाई त्यत्तिकै छोड्नु उचित ठानिन्। रबिनबाहेक तिनीहरूका दुई छोरी पनि थिए जो त्यस समयमा घरमा थिएनन्। तिनीहरू दुवै अफिस गएका रहेछन्।

दर्शना जेठी छोरी, एमबिए गरेकी छ र आजकल सहरको ठूलो बैंकमा राम्रो पदमा काम गरिरहेको छ। दोस्रो छोरी दिव्याञ्जली जो सिभिल इन्जिनियरिङ डिग्री लिएर, ऊ पनि राम्रो कम्पनीमा कार्यरत छिन्। दुवैको तलबमा पनि राम्रो छ। दुवै विवाहको लागि योग्य छन्। त्यसैले अनिताले उनीहरूको विवाहको बारेमा पनि कुरा गरिन्।

नरेन्द्र भिनाजुले भन्न लागे, ‘दुवैले अझै बिहे गर्ने सोच बनाएका छैनन। आफ्नो खुट्टामा उभिएर स्थापित भएपछि मात्र बिहे गर्ने भन्छन।’

फेरि केही सोच्दै भने, ‘त्यस्तै केटा पनि त पाउनु पर्‍यो दाइजो नचाहिने। हामीले पनि छोरीहरूलाई पढाउन लाखौं खर्च गरेका छौं।’

अनिताले उनको कुरालाई काट्दै ठट्टा गर्दै भनिन्, ‘अब तपाईं छोराको लागि यति धेरै दाइजो लिइरहनु भएको छ अनि छोरीलाई किन दाइजो नदिने?’

‘हामीले के पाएका छौं र! अब यसको हिसाब आफै गर न! विवाहमा सात/आठ लाख रुपैयाँ खर्च हुनेछ, त्यसपछि के बाँकी रहन्छ? बाँकी रकम विवाहको सामान, लत्ता कपडा, गहनामा खर्च गर्नुपर्नेछ। उनीहरूले यसबाहेक अरू केही पनि दिँदैनन, घरमा कुनै सामानहरू आउँदैन।’

अनिताले बुझिन् कि भिनाजु खुसी थिएनन्, यो उनको अनुहार स्पष्ट देखिन्थ्यो। केटी पक्षकाहरूले छोरीको विवाहको लागि कसरी पैसा जम्मा गरे होलान्। उनीहरूले रातदिन आफ्नो रगत र पसिना बगाएर कमाएको सम्पत्ति दिएको हुनुपर्छ तर नरेन्द्र भिनाजुको अनुहारमा सन्तुष्टी थिएन।

कस्तो दोहोरो मापदण्ड! एकातिर उनीहरू एउटा केटा चाहान्छन् जसले दाइजो नमागोस्, अर्कोतर्फ छोराको विवाहमा पन्ध्र लाख रुपैयाँ पाउँदा पनि थोरै भइरहेको थियो। त्यसमाथि उक्त केटीले पनि छोरीले जस्तै उच्च शिक्षा हासिल पोस्ट ग्रेजुएट गरेको छ र सुन्दर पनि छ।

साँझको सात बजेको थियो। अँध्यारो हुँदै थियो, त्यसैले जानको लागि अनिताले उनीहरूबाट अनुमति लिइन्। बाहिर निस्कन लाग्दा बिनिता दिदीले अनितालाई एउटा झोलामा केही हालिदिएकी थिइन्। अनिताले त्यो लिन अस्वीकार गरेको भए पनि बिनिता दिदीको अनुरोधलाई अस्वीकार गर्न सकिनन्।

अनिता घर पुगिन्। उनलेले सोचिन् कि दिदीले यति धेरै माया गरेर के दिएको होला हेरौं! झोलामा दुइटा केरा, एउटा सुन्तला, अनार, कसार र केही मिठाई देखेपछि अनिताको आँखाहरूले विश्वास गर्नै सकेन कि दिदीले उसलाई माया गरेर यो दिएकी थिइन्!

छोराछोरी पनि हाँस्न थाले र जिस्काएर भन्न थाले, ‘आमा, मन्दिरको पुजारीले प्रसाद दिएको हो?’

छोराछोरीको कुरा सुनेर अनिताको श्रीमान पनि मुस्कुराए। सबैलाई उनीहरूको स्वभावबारे राम्ररी थाहा थियो, त्यसैले उनीहरूले केही भनेनन्। अनिताले पनि के भन्ने? अनिता निःशब्द भइन्, केही भन्न असमर्थ थिइन्।

भोलिपल्ट जब अनिताको आमाले बिनिताको छोराको बिहेको बारेमा बुझ्नको लागि फोन गरिन्, भिनाजुले पन्ध्र लाखको दाइजोबारे सबै ठाउँमा हल्ला फैलाएको थाहा पाइन्। नरेन्द्र भिनाजुले अनिताको बुबालाई उनीहरूको घरमा अनिता आउन लागेको बारेमा भनिसकेका रहेछन्।

आमाले त्यो पन्ध्र लाख रुपैयाँको कुरा उठाउनुभयो। अनिताले आमालाई आफ्नो आँखाले चेक देखेको कुरा भनिन्। आमाले आश्चर्य मान्नु भयो कि रबिनले अहिलेसम्म कुनै काममा गरेको छैन। त्यसले काम पायो भने पनि पढाइअनुसार कति कमाउला? केटी पक्षकाहरूले के देखेर उनीहरूलाई पन्ध्र लाख दाइजो दिएका होलान्?

कुराकानीमा आमाले भनिन् कि नरेन्द्र भिनाजुले बुबालाई केटी एक्ली छोरी हो भनेर भन्दै थिए रे। उसका बाबुआमाबाहेक अरू कोही छैन। केटीको बुबाले ठेकेदारको काम गर्छन्। पैसाको कुनै कमी छैन र आमाबुबापछि सबै सम्पत्ति केटी र रबिनको हुनेछ। जस्तो नरेन्द्र भिनाजुको हजुरबुबाले ससुरालीको सम्पत्ति पाएका थिए त्यस्तैगरी रबिनले पनि उसको ससुरालीको सबै सम्पत्ति पाउनेछ।

अचम्मको कुरा, कोही कसरी यतिसम्म स्वार्थी हुनसक्छ? के वास्तवमै उनीहरूले यति धेरै जोड-घटाउ गरेका थिए? के नरेन्द्र भिनाजुले यी सबै सोच विचार गरेपछि मूल्यांकन गरेर यो सम्बन्धलाई स्वीकार गरेका हुन् त? कहिलेकाहीँ यस्तो लाग्छ, कहिले हाम्रो समाजले यस्ता खराब र स्वार्थी मानिसहरूबाट छुटकारा पाउनेछ?

Copy link
Powered by Social Snap