२०७९ मंसिर २४
Advertisement

Advertisement

जसले बख्खुलाई ब्रान्डिङ गरेर बनाए ‘गोर्खा ट्विड’




करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए।

सन् २०१५ मा उनी बेलायत गए। सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे।

युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन। 

तर अचानक बाटोमा हिँड्दै गर्दा एउटा बोर्डमा उनको नजर पुग्यो। ‘ट्विड’ लेखिएको पसलमा उनी छिरे। ट्विड शब्दका बारेमा उनी अनजान थिए। भित्र गएपछि कपडा पसल रहेछ भन्ने थाहा पाए। 

अन्जानमै छिरेको पसलका लुगाकपडा देखेर उनी चकित खाए। त्यहाँ परापूर्वकालदेखि नेपालका हिमाली क्षेत्रमा प्रयोग हुनेजस्तै कपडा र सामग्री थिए।


Advertisement


‘मलाई त्यो दिनसम्म ट्विडका बारेमा जानकारी थिएन। त्यहाँ पुगेपछि थाहा भयो, त्यो त रफ उल रहेछ, प्रशोधन नगरिएको ऊन,’ दीपबहादुरले सम्झिए।

उनले त्यही दिन अर्को कुरा पनि थाहा पाए- कुनै समय नेपालका हिमाली तथा पहाडी क्षेत्रका मान्छेले लगाउने बख्खु र कोटकै ब्रान्डिङ रहेछ ‘ट्विड’।

तर उनलाई यकिन भएन-  के साँच्चै स्कटल्यान्डको ट्विड र नेपालको बख्खु उस्तै हो? 

फर्केपछि दीपबहादुर काठमाडौंका सुट सिलाउने पसल चहार्न थाले। ट्विड नेपालमा आउँछ कि आउँदैन, कस्तो बजार छ, कस्ता मान्छेले लगाउँछन् लगायत सोधखोज गरे।

प्रारम्भिक सोधखोजले उनलाई निष्कर्षमा पुर्‍यायो- ट्विडजस्तै कपडा नेपालमा उत्पादन गर्न सकिन्छ र यो उच्च खानदानी तथा कपडाका सोखिनहरूले लगाउने रहेछन्।

यो निष्कर्षपछि उनले तत्काल नमूना उत्पादन सुरू गरिहाले। कार्पेट उत्पादन गरिरहेका दीपबहादुरलाई ट्विडको नमुना उत्पादन गर्न कठिन भएन। धागो बनाउने, रङ हाल्ने तथा कपडा बनाउने (बुन्ने) आधारभूत पूर्वाधार उनीसँग उपलब्ध थिए।

नमूना उत्पादन त भयो। तर दीपबहादुरलाई स्कटल्यान्डको जस्तै ट्विड भयो कि भएन भन्ने अलमल रह्यो। त्यसैले यसको व्यावसायिक उत्पादन योजना पनि बनाएका थिएनन्।

तर जब उनले आफ्नो नमूना उत्पादन पसलहरूमा लिएर जँचाए, त्यसपछि उनी हौसिए।

‘मैले आफ्नो नमुना यहाँ ट्विड बिक्ने पसलमा देखाउँदा उस्तै देखियो। गुणस्तरका हिसाबले पनि कमी देखिएन। मेरो मेहनत खेर गएन,’ उनले भने।

त्यसपछि त के चाहियो। उनले व्यावसायिक उत्पादन सुरू गर्ने निधो गरे।

सन् २०१६, फेब्रुअरीमा उत्पादन सुरू भयो। ब्रान्ड नाम दिए- ‘गोर्खा ट्विड’।

विश्व बजारलाई लक्ष्य गरेर उत्पादन सुरू गरेकाले ‘गोर्खा र ट्विड’ जोडेको उनको भनाइ छ।

‘नेपाली बजारमा कपडा बिक्री नगर्ने सोचमा छु। हामी आफैंले आउटलेट राखेका छौं। नेपालीपन झल्किने गोर्खा र विश्व बजारको ट्विड नाम राखेर नामाकरण गरिएको हो,’ दीपबहादुरले भने।

गोर्खा ट्विडको आउटलेट लाजिम्पाटमा छ। नेपाली उपभोक्ताले चाहेमा यहीँबाट लिनसक्ने उनले जानकारी दिए। यसका लागि आफूलाई मनपर्ने रङ र डिजाइनमा अर्डर गर्न पनि सकिन्छ।

अहिलेसम्म १० हजार मिटर ट्विड बुनिसकिएको र २ हजार मिटर बुन्ने क्रममा रहेको उनले जानकारी दिए। अब विदेश निर्यातका लागि पहल गर्ने उनको योजना छ।

गोर्खा ट्विडको ब्रान्डमा कोट, पाइन्ट, स्वीटर, सर्ट, जुत्ता तथा झोला उक्त आउटलेटमा पाइन्छन्।

ट्विड अर्थात् प्रशोधन नगरिएको ऊन बनाउन नेपाली कच्चा पदार्थ प्रयोग हुन्छ। यसमा श्रम पनि नेपाली नै प्रयोग हुने उनले बताए।

दीपबहादुरका अनुसार कर्णालीका विभिन्न जिल्लाबाट मंसिर र चैत गरी वर्षमा दुईपटक ऊन ल्याइन्छ। कर्णालीमा बन्ने राडीपाखीमा प्रयोग हुनेभन्दा फरक ऊन हुने उनले जानकारी दिए।

‘यसरी तयार पारिएको गोर्खा ट्विडका कपडा विदेशीका तुलनामा डिजाइनदेखि गुणस्तरसम्म केहीमा कमी छैन,’ उनले दाबी गरे, ‘प्राकृतिक रङ समायोजन गरिएको र डिजाइन पनि भिन्न भिन्न छ।’

गोरखा ट्विडको तयारी कोटको मूल्य १६ हजारदेखि सुरू हुने उनले जानकारी दिए। यहाँ ‘कर्णाली कलेक्सन’ भनेर छुट्टै उत्पादन पनि राखिएको छ जहाँ कर्णालीकै जीवनशैलीसँग मिल्ने कोट तथा अन्य कपडा छन्।

अहिले उच्च मूल्यका कपडामात्र बिक्री गरिरहे पनि भविष्यमा प्रविधि प्रयोगबाट सकेसम्म सस्ता सामान ल्याउन प्रयास गर्ने दीपबहादुरले बताए।

Copy link
Powered by Social Snap