२०७९ श्रावण २४
Advertisement

Advertisement

ज्ञानी हुने कला – SYM शुद्ध सकारात्मकता

मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ ।

यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक/प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ ।

सिक्ने समूह

सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक ठूला शिक्षक मानिन्छन् । त्यसपछि मित्रहरूबाट निरन्तर सिकिन्छ । तर, हेक्का राख्नुपर्ने कुरा के छ भने सुखका साथी गर्मी महिनामा हिउँ पग्लिए झैं छिट्टै विलीन हुन्छन् । तर, दुःखका साथी भने जाडो महिनामा हिउँ जमे झैं एकट्ठा भइरहन्छन् । भनिन्छ, जीवनमा एउटा असल अर्थात् इमानदार मित्र पाउनु जीवन नै सफल हुुनु हो । यथार्थमा, एउटा असल मित्र एक हजार आफन्त भन्दा बलियो हुन्छ । तर, परेको बखत सहयोग नगर्ने मित्रको संगत गर्नु बेकार छ ।

सिकाइ विधि

सामान्यतः पढेको कुरा बिर्सिन्छ । देखेको कुरा सम्झिन्छ । गरेको कुरा जानिन्छ र गर्दै गरे बानी पर्छ । यसलाई अंग्रेजीमा ह्याबिट्स कम फ्रम ह्याबिट पनि भनिन्छ । नेपालीमा धनले धन र ऋणले ऋण तान्छ भने झैं ज्ञानको भोकले हामीलाई ज्ञानतर्फ नै डो¥याउने शाश्वत सत्यलाई भुल्नुहुँदैन ।

यस सम्बन्धमा मानिसलाई चार प्रकारमा विभक्त गर्न सकिन्छ ।

पहिलो, जो ऊ आफू जान्दैन र जान्दिनँ भन्ने पनि जान्दैन, ऊ मूर्ख हो, त्यसलाई छुट्याऊ ।

दोस्रो, जो ऊ आफू जान्दैन, तर जान्दिनँ भन्ने जान्दछ, ऊ साधारण हो, त्यसलाई सिकाऊ ।

तेस्रो, जो ऊ आफू जान्दछ तर जान्दछु भन्ने जान्दैन, ऊ सुषुप्त हो, त्यसलाई ब्युँझाऊ ।

चौथो, जो ऊ आफू जान्दछ र जान्दछु भन्ने जान्दछ, ऊ ज्ञानी हो, त्यसलाई पछ्याऊ ।


Advertisement


सकारात्मक सोच

कसैबाट सहयोगको अपेक्षा गर्नुपूर्व उसलाई सहयोग पुर्‍याउनुपर्छ । यसैगरी, अर्काबाट आफ्नो इच्छा पूरा गराउन पहिला उसको इच्छा बुझेर सो इच्छा पूरा गरिदिनुपर्छ । कसैका लागि पनि दिन हिचकिचाउने र लिन इच्छुक रहने प्रवृत्ति क्षम्य हुँदैन । यसर्थ, आदर चाहनेले सर्वप्रथम अर्कालाई आदर गर्नुपर्छ ।

यसै प्रसंगमा दुर्गालालले रच्नुभएको छ– फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार । जस अनुसार हरेक मानिसले आफ्नो कामबाट मैले के पाएँ होइन, मैले के दिन सकें ? भनी आफैंलाई प्रतिप्रश्न गर्नुपर्छ । यो गरेर मलाई के फाइदा होइन कि ? यो गरेर मलाई के बेफाइदा ? भनी स्वयंसँग सवाल गर्नुपर्छ । साथै, अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? भन्ने सकारात्मक सोचले हरेक मानिसलाई गन्तव्यसम्म पु¥याउँछ ।

सिकाइको आरम्भ

हजारौं माइलको यात्रा पहिलो पाइलाबाट आरम्भ हुन्छ । बिहान हेरेर दिनको अनुमान गर्न सकिन्छ । खुट्टा देख्दैमा कस्तो नाँच्लिन् भन्ने अनुमान गर्न सकिन्छ । सामान्यतः मानिस आउँदाको पहिचान लुगाले बताउँछ, तर जाँदा उसको योगदान वा प्रतिभा मात्रै स्मरणमा रहन्छ । यसर्थ, सबैले बत्तीसै लक्षणयुक्त हुने कोसिस गर्नुपर्छ । एउटा कटु सत्य कुरा के हो भने, सबै फूल फुल्दैमा बास्ना चल्दैन, जाई र चमेली फुल्दा बास्ना चल्छ, तर उन्यूँ र खर फूल्दा बास्ना चल्दैन । यसर्थ, हाम्रो सिकाइको आरम्भ सम्भव भएसम्म यथाशीघ्र गर्नुपर्छ ।

उसो त अँध्यारोले अँध्यारो हटाउन सक्तैन, प्रकाशले सक्छ । यसैगरी, घृणाले घृणा हटाउन सकिंदैन, प्रेमले सकिन्छ । यसै कारण भन्ने गरिन्छ, दुईवटा सलाइका काँटी हेर्दा समान देखिए पनि एउटाले अँध्यारो कोठामा बत्ती बालेर कोठालाई उज्यालो बनाउँछ भने अर्को सलाइको काँटीले डढेलो लगाएर वनलाई नै सखाप पारिदिन्छ । यसर्थ, बीउ राम्रो कि नराम्रो भनी जान्न त्यसको फल हेर्नुपर्छ । सोही रितले मानिस राम्रो कि नराम्रो भनी जान्न, उसको कार्यशैली परख गर्नुपर्छ ।

आफैं सिकिन्छ

हिमालबाट सुरु भएको खोला बाटो नसोधी हिंड्दा पनि समुद्रमा पुग्छ । सोही बमोजिम आफ्नो कर्तव्यमा अविचलित मानिसले सफलता चुम्छ । यथार्थमा, पोखरीमा हाम फाल्ने सबै मानिस मर्दैनन्, पौडन नजान्ने मात्रै मृत्युको मुखमा पुग्छन् । त्यसैगरी, मानिस पैसा नभएर गरिब हुने होइन, आफ्नो सम्पत्तिको उपयोग गर्न नजानेर गरिब हुन्छ । अर्थात् ढंग नपुग्ने पोखरीमा डुब्ने पक्का भएझैं आफूलाई उपलब्ध अवसर छोप्न नसक्नेहरू नै असफल हुन्छन् । असफल हुनु भनेको तल

खस्नु होइन, अरूभन्दा पछाडि पर्नु हो भन्ने कुरा निकै कमले मात्रै बुझ्छन् ।

रूखले जसरी बर्सेनि पात फेर्छ, सोही रितले हामीले आफूलाई समयानुकूल बदल्नुपर्छ । पहिला मानिस भन्ने गर्थे समयले मानिसलाई बदल्छ, आजभोलि मानिसले नै समय बदल्ने गरेका छन् । यसका निमित्त आँट गरेर अघि बढ्नुपर्छ । भनिन्छ, असफलताको मनन् गर्नेहरू नै सफलताका हकदार हुन्छन् ।

अमूल्य सल्लाह

तपाईं हामी थाक्दैमा रोकिइनुहुँदैन, जुन बेलासम्म तोकिएको काम पूरै फत्ते हुँदैन, सो बखतसम्म कामलाई निरन्तरता दिनुपर्छ । कन्फ्यूसियसका अनुसार आफ्नो अज्ञानताको सीमाको पहिचान गर्नु नै असली ज्ञान हासिल गर्नु हो । अल्बर्ट आइन्स्टाइनका अनुसार हामीले चिन्तन, अनुसरण र अनुभवबाट सिक्ने गर्दछौं ।

आचार्य चाणक्यले भनेका छन्, आनन्दको बेला बचन नदेऊ । क्रोधको बेला जवाफ नदेऊ । दुःखको बेला निर्णय नलेऊ । यसबाटै मानिसको पहिचान हुन्छ ।

खराब नसोचौं

हामीले सबै परिस्थितिबाट पाठ सिक्नुपर्छ । खुट्टामा लागेको चोटले सम्हालिएर हिंड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीका साथ जिउन सिकाउँछ । संसारमा एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम आफूले खराब कुरा सोच्न बन्द गर्नुपर्छ । हेक्का राख्नुपर्छ, अवसर र सूर्योदयमा एउटै समानता छ, ढिलो गर्नेलाई यसले पर्खंदैन । यत्ति कुराको हेक्का राख्ने मानिस जीवनमा कहिल्यै पछाडि पर्दैन ।

यथार्थमा, जो आफैंमा खुसी हुन्छन्, उनीहरूको संसार पनि खुसी हुन्छ । केही नयाँ काम गर्नका लागि तिमी महान् हुन आवश्यक छैन । तर महान् हुनका लागि केही नयाँ काम गर्न जरूरी छ । खुसी हुनुको अर्थ यो होइन कि सबै कुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सक्यौ । यदि तिमी कसैलाई अपमान गर्दछौं भने तिमीले आफ्नो सम्मान गुमाउँछौ । योभन्दा बढी व्यक्तित्व विकासको सूत्र के नै हुन सक्छ र ? हामी सबै कुरा जानेर पनि नजानेझैं व्यवहार गर्दछौं, हाम्रो ठूलो कमजोरी र गल्ती नै यही हो ।

सम्हालिनुपर्छ

क्रोधको बेला केही रोकिइनुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ– संसारको सबै समस्या समाधान हुन्छ । संसारमा सबै कुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन । सबैभन्दा तीव्र उही हिंड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छ, जो सबैलाई साथमा लिएर हिंड्छ । तिमी आफ्नो भविष्य बदल्न सक्तैनौं, तर प्रवृत्ति बदल्न सक्छौ । जब प्रवृत्ति बदल्छौ, भविष्य आफैं बदलिन्छ । यस कुराले हरेक मानिसलाई सम्हालिन उत्प्रेरित गर्दछ ।

शत्रुता र मित्रता

शत्रुता र मित्रता हरेक मानिसको आफ्नै हातको खेल हो । शत्रुलाई सिध्याउने एउटा काइदा छ, त्यो उसँग मित्रता कायम गर्ने नै हो । नभुलौं, शत्रु देख्दा मुस्कुराउनु नै उसलाई गरिने सर्वाधिक ठूलो सजाय हो । संसारका सबैभन्दा सुखी मान्छ ती होइनन्, जसले धेरै पाएका छन् । ती हुन्, जसले धेरै दिएका छन् ।

जहाँ बुद्धिमान हुन्छन्, त्यहाँ संवाद हुन्छ । जहाँ मूर्ख हुन्छन्, त्यहाँ विवाद हुन्छ । जिब्रो सुध्रियो भने, जीवन सुध्रिन बेर लाग्दैन । हामी भन्ने गर्दछौं, कर्ममा तिम्रो अधिकार छ, फलमा छैन । क्रोध नै तिम्रो शत्रु हो । अर्थात् आफ्नो मित्र र शत्रु दुवै तिमी आफैं हौ । अज्ञानतालाई नष्ट गर्ने उपाय ज्ञान हासिल गर्नु हो ।

एउटा शाश्वत सत्य यो पनि हो, तिम्रा दुई आँखा छन्, दुईपटक हेर । दुईवटा कान छन्, दुईपटक सुन । एउटा मुख छ, एकपटक बोल । कारण, मौन रहनु एउटा ठूलो हतियार प्रयोग गर्नु हो । यो कुरा बुझ, बोल्न बुद्धि भए पुग्छ, मौन रहन बुद्धि र विवेक चाहिन्छ ।

परिवर्तित होऔं

सबैजना विश्वलाई बदल्नेबारे सोच्छन्, तर आफैंलाई बदल्नेबारे भने कसैले पनि सोच्दैनन् । मूर्खले आफूलाई बुद्धिमान ठान्छ । तर, बुद्धिमानलाई आफू कति मूर्ख छु भन्ने थाहा हुन्छ । मूल कुरा, मान्छे आफ्ना दुःख गन्न रुचाउँछ तर सुख गन्न बिर्सन्छ । महत्वाकांक्षा नभएको बुद्धिमान मान्छे पखेटा विनाको चरा जस्तै हुन्छ ।

असल मानिसको गुण विनम्रता हो । उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? असल मानिसको अर्को गुण घमण्ड नगर्ने हो । सबैको एकैनाश कहाँ हुन्छ समुन्नति, अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । यसैगरी, असल मानिसको गुण शान्त रहने पनि हो । खहरे गडगडाहट सहित बग्छ, नदी सुसाउँदै बग्छ, समुद्र शान्त हुन्छ । यिनै जीवन र जगतका रहस्यहरूको मनन् गरी व्यवहारमा रूपान्तरित हुँदा सम्भवतः ज्ञानी हुने दिशामा अघि बढिनेछ ।

Copy link
Powered by Social Snap