२०८१ बैशाख १४

महिनामा ३० हजार कार्टन बिक्छ ‘हटपट’, भारतदेखि युरोप, अमेरिकासम्म निर्यात




पोखरा नुडल्स प्रालिले ‘हटपट’ नामको चाउचाउ बजार पुर्‍याएको दुई वर्ष हुनै लागेको छ। पहिलो एक महिना ६ हजार कार्टन उत्पादन गरेकामा हाल मासिक तीस हजार कार्टन पुगेको छ। एक कार्टनमा २० प्याकेट हुन्छ।

पोखरा नुडल्सले २५ वर्षभन्दा अघि, २०५३ सालमा चाउचाउ उत्पादन सुरू गरेको हो। रम्बा, बोनस, जोजो, सरर, सिटी, चिनो, समय लगायत नामका दर्जन हाराहारी प्रकारका चाउचाउ उत्पादन गर्दैछ। हटपट सबैभन्दा पछिल्लो उत्पादन हो। 

कम्पनीका राष्ट्रिय प्रबन्धक सूर्य पोखरेलका अनुसार पोखरा नुडल्सका चाउचाउमध्ये हटपटको बिक्री दोस्रो स्थानमा छ।

‘बजारमा पुर्‍याएको छोटो समयमै हटपटको माग बढेको छ। यसबाट हामी सन्तुष्ट छौं,’ प्रबन्धक पोखरेलले भने, ‘मासिक ३० हजार कार्टन बिक्री भइरहेको छ।’



Advertisement



उनका अनुसार आकर्षक प्याकेजिङ, पकाएर खाँदा ट्वाक्क पिरो र मसलेदार यो चाउचाउमा नेपाली र कोरियाली रामेन चाउचाउको स्वादको मिश्रण छ। उपभोक्तालाई फरक स्वाद दिन र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न कम्पनीले हटपट चाउचाउ ल्याएको उनले बताए।

‘विभिन्न देशमा करिब तीन वर्षको अनुसन्धानपछि हटपट उत्पादन सुरू भएको हो,’ पोखरेलले भने।

हटपटमा पहिले ‘चिकेन गोरमट स्पाइसी’ उत्पादन भएको थियो। यो झोल बनाएर खाने अर्थात सुपी नुडल्स हो। पोखरेलका अनुसार यसको झोल अन्य चाउचाउको भन्दा फरक छ। खासै पिरो छैन, सबै उमेरका उपभोक्ताका लागि सुहाँउदो छ। यसमा सिजनिङ पाउडर र सुकेका केराउ, प्याजका पात, च्याउ लगायतको ‘भेजिटेबल’ प्याकेट हुन्छ। हाल बजारमा सबैभन्दा बढी माग सुपी नुडल्सकै रहेको उनले बताए।

उपभोक्ताले हटपट रूचाएपछि कम्पनीले ६ महिनापछि ‘हटपट टु-एक्स स्पाइसी’ बजारमा ल्यायो। सुपीसँगै सुख्खा खानेहरूको रूचि ध्यानमा राखेर टु-एक्स स्पाइसी ल्याइएको हो। अलि बढी पिरो मन पराउनेका लागि टु-एक्स स्पाइसी उपयुक्त भएको पोखरेल बताउँछन्।

‘सुरूमा चाउचाउ उमालेको पानी फ्याँकेर चाउचाउ सुख्खा बनाइ स्पाइसी पेस्ट र रोस्टेड फ्लेक्स मोलेर खाँदा यसको स्वाद फरक भइदिन्छ,’ पोखरेलले भने, ‘यसले अहिले बजारमा आइरहेका अन्य स्पाइसी ड्राइ चाउचाउसँग प्रतिस्पर्धा गरेको छ।’

यी दुई स्वाद उपभोक्तामाझ पुर्‍याएपछि कम्पनीले शुद्ध शाकाहारीका लागि अर्को स्वाद थप्यो, गोरमेट स्पाइसी भेजिटेबल। यो पनि सुपी नुडल्स नै हो। 

हाल हटपटका तीन फरक स्वाद बजारमा उपलब्ध छन्। तीन वटै स्वादका हटपट चाउचाउ उपभोक्ताले रूचाएको पोखरेलको भनाइ छ। पोखरा नुडल्सले हरेक ब्रान्डमा नयाँ स्वाद खोजिरहेको र आगामी दिनमा हटपटका थप स्वाद ल्याउने उनले बताए। 

स्वदेशी र विदेशी दुवै उपभोक्तालाई लक्षित हटपट बन्ने सामग्री भने विदेशबाट आयात हुन्छ।

मैदाबाहेक अन्य सबै सामग्री आयात गर्ने गरेको पोखरेलले बताए। उनका अनुसार कोरियाली रामेन नुडल्सका लागि अन्तर्राष्ट्रिय कम्पनीहरूले अकबरेको धूलो प्रयोग गर्छन्।

‘कोरियाली रामेनको स्वाद भएकाले हटपटमा अन्तर्राष्ट्रिय स्तरकै सामग्री र प्याकेजिङ पनि छ,’ उनी भन्छन्, ‘खुर्सानी बाहिरबाटै आयात हुन्छ। चाउचाउमा खान सकिने हल्का पिरो हुन्छ, यसले स्वास्थ्यमा असर गर्दैन।’ 

उनका अनुसार मकै र गहुँको पिठो, मकैको कार्बोहाइड्रेट (स्टार्च), पाम तेल, आयोडिनयुक्न नुन, गहुँको प्रोटिन (ग्लुटेन) लगायत मिलाएर हटपट चाउचाउ तयार गरिन्छ। च्याउ, गाँजर, चिनियाँ साग, खुर्सानी र प्याज इत्यादिको र पाप्रिका (खुर्सानीको धूलो), लसुनको धूलो, सोया सस लगायतको प्याकेट पनि हुन्छ।

हटपट उत्पादनको मितिदेखि एक वर्षसम्म खान मिल्छ। तीन थरीकै हटपटमा एक प्याकेटको तौल सय ग्राम छ। उपभोक्ता मूल्य प्रतिप्याकेट ५० रूपैयाँ छ। 

देशका अधिकांश सहरमा यो चाउचाउ पुगे पनि खुद्रा पसलमा भन्दा सपिङ मलमा पाइने पोखरेल बताउँछन्। सबभन्दा बढी माग भने पोखरामा रहेको प्रबन्धक पोखरेलले बताए। 

‘सहरका मार्ट, सुपरमार्केट जस्ता व्यावसायिक मलमा पाइन्छ। अनलाइन बजारमा पनि किन्न सकिन्छ,’ उनले भने, ‘सामान्य तथा खुद्रा बजारमा खासै भेटिँदैन।’

कम्पनीले हटपटको प्रचारका लागि विभिन्न सहर घुम्दै उपभोक्तालाई निःशुल्क स्वाद चखाइरहेको छ। हरेक महिना फरक सहरका सपिङ मलमा स्टल राखेर चाउचाउ खुवाउने गरेको उनले बताए। 

उनले भने, ‘यसरी फरक सरहमा हटपटको स्वाद पस्केपछि माग पनि बढेको छ।’

बजारमा भित्रिएको छोटो समयमै हटपट अन्तर्राष्ट्रिय बजारमा पनि पुगेको छ। पोखरेलका अनुसार बेलायत, अमेरिका, अस्ट्रेलिया, भारत लगायत देशमा हटपट पाइन्छ। क्यानडा र इटालीमा निर्यात गर्ने तयारी छ। कुल उत्पादनको ६० प्रतिशत बाहिरी मुलुकमा पुग्ने गरेको उनको भनाइ छ। 

पूर्व मिस नेपाल शृंखला खतिवडा हटपटको ब्रान्ड एम्बासडर भएसँगै उनीमार्फत पनि विभिन्न देशमा हटपट चाउचाउको स्वाद फैलिएको उनले बताए।

आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय बजारमा नेपालको ‘नम्बर एक ब्रान्ड चाउचाउ’ बनाउने कम्पनीको लक्ष्य रहेको पोखरेल बताउँछन्। उनका अनुसार कम्पनीमा एक हजार जनाभन्दा बढीले रोजगारी पाएका छन्। 

Copy link
Powered by Social Snap