२०८० चैत्र १६

चार दशक अघिको मुगु अनुभव




दाजु गोपालका माइलो साला वासुदेव पोखरेल मुगुमा शिक्षक हुनुहुन्थ्यो। २०३५ साउन महिनामा वासुदेव मुगुबाट प्यूठान घर आएको समयमा भेटघाटको लागि हाम्रो घरमा (धुर्कोट गैराखर्क, गुल्मी) आउनुभयो। 

मैले भरखर आई.ए. पास गरेर घरमै थिएँ। वासु सोल्टीले मलाई मुगु जाउँ, त्यहाँ शिक्षकमा तुरून्त नियुक्ति पाइन्छ भन्नुभयो।

मुगुमा तलबको ११० प्रतिशत भत्ता पनि पाइने र १ वर्ष पढाएपछि सरकारले नै बि.एड्. पढ्न पठाउँछ, जाउँ भनेर जोड गर्नुभयो। 

पहिलेदेखि नै वासु सोल्टी भाउजूलाई भेट्न हाम्रो घर आइरहने र हामी दुवैको पढाइ पनि एउटै क्लास भएकोले हामी दुईको राम्रो मित्रता पनि थियो। वासुदेवको प्रस्ताव अनुसार घरमा सल्लाह गरेर म मुगु जान तयार भएँ।

२०३५ साल साउन १६ गते मेरा सबै प्रमाणपत्रहरू लिएर म घरबाट मुगु जान हिँडेँ। घरबाट प्युठान दाजुको ससुराली घरमा गई २ दिन बसेँ। १८ गते त्यहाँबाट सोल्टीहरू हरि, वासु, मुकुन्द र एक जना मोति नगरकोटी समेत मुगु जान हिँडी साँझ गेजबाङ सानीमाको घर बास बस्यौँ। 

१९ गते बिहान गेजबाङबाट हिँडेर साँझ बड्डाँडा बास बस्न पुगियो। २० गते बड्डाँडाबाट भालुबाङ पुगी बिहानको खाना खायौँ। पूर्व-पश्चिम राजमार्ग बनेको थिएन। त्यसैले कोइलाबास जान राप्ती नदी डुङ्गाबाट तरेर जामुनेबास भन्ने ठाउँमा बास बस्न पुग्यौँ। जामुनेबासबाट २१ गते बिहान १० बजे कोइलाबास पुगी खाना खाएर बसबाट भारतको तुलसीपुर रेलवे स्टेशनमा पुग्यौँ। हरि सोल्टी तुलसीपुरबाट तौलिहवातर्फ जानुभयो। हामी चारजना रेलबाट गोण्डा हुँदै अर्को दिन बिहान नेपालगञ्ज पुग्यौँ। 

हामीहरू नेपालगञ्जमा २ दिन बस्यौँ। वर्षाको समयमा नेपालगञ्जबाट जुम्ला हवाईजहाज नजाने हुँदा मुगु पैदल जानुको विकल्प थिएन। नेपालगञ्जबाटै पैदल हिँडेको पहिलो दिन देउरालीमा बास बस्यौँ। दोस्रो दिन सुर्खेतको कल्याण भन्ने ठाउँमा बास बस्न पुग्यौँ। तेस्रोफ दिन सुर्खेत विरेन्द्रनगर पुगी बजार घुमघाम गरेर गाईबान्ना भन्ने ठाउँमा बास बस्न पुगियो।



Advertisement



चौथो दिन दैलेख सदरमुकाम पुगी बास बस्यौँ। पाँचौ दिन दैलेखकै भावर्सेनी लेकमा रहेको गोठमा बास बस्यौँ। छैठौँ दिन दैलेख र कालिकोटको सिमानामा रहेको माबुको लेक पार गरी कालिकोटको कामखेत भन्ने ठाउँमा बास बस्न पुग्यौँ। सातौँ दिन जुम्ला सिंजा उपत्यकाको जाच लिही भन्ने ठाउँमा बास बसियो। आठौँ दिन मुगुको पिना पुगी नवौं दिनको बिहान मुगुको सदरमुकाम गमगढी पुग्यौँ। 

सदरमुकाम हेर्दा अनौठो लाग्यो। गमगढी डाँडोमा सामान्य खरको छानो भएका घरहरू थिए। तिनै घरहरूमा सरकारी कार्यालय थिए। गाउँमा जस्तै २-३ वटा होटल थिए। होटलमा खाद्य संस्थानको उसिना चामलको भात र आलुको तरकारी खान पाइथ्यो। 

त्यहाँ महाकाली माध्यमिक विद्यालयका प्र.अ. प्यूठानका कृष्णप्रसाद शर्मा हुनुहुन्थ्यो। वासु सोल्टीले हामीहरूको नियुक्तिको लागि कृष्णप्रसाद शर्मासँग सल्लाह गर्नुभयो। कृष्णप्रसाद शर्माले जि.शि.अ. भरतबहादुर संजेलसँग कुरा गरेपछि हामीले जिल्ला शिक्षा कार्यालयमा नियुक्ति पाउँ भनेर निवेदन दियौं। 

जिल्ला शिक्षा कार्यालयले अन्तरवार्ता लिएर आई.ए. पास भएकोले मलाई श्रीनगर नि.मा.वि. गल्फाको प्रधानाध्यापकमा अस्थायी नियुक्ति दियो। मुकुन्दलाई नि.मा.वि. कालैं र मोतिलाई प्रा.वि. मैलाको लागि नियुक्ति दियो।

मैले नियुक्ति पाएको श्रीनगर, मैला, लौठी तथा जैर ४ गाउँ पञ्चायतहरू २०३५ सालमा हुम्लाबाट मुगुमा गाभिएका रहेछन्। त्यहाँ जान मुगु कर्णाली र हुम्ला कर्णाली तरेर जानुपर्ने रहेछ। 

गल्फा जान २-३ दिनको बाटो कसरी जाने समस्या देखियो। जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरूसँग कुरा गर्दा गल्फा श्रीनगरका धनसुर भण्डारीले त्यसै दिन मैलाकै लागि शिक्षकको नियुक्ति लिएका रहेछन्। मोति र धनसुरको एउटै विद्यालय रहेछ। हाम्रो धनसुरसँग भेट भएपछि सँगै जाने सल्लाह भयो। नाथर्पुका १ जना दलबहादुर शाही भेटिए। उनी पनि नाथर्पुका शिक्षक रहेछन्। 

२०३५ भदौ ४ गते बिहान हामी चार जना गमगढीबाट हिँड्यौँ। मुगु कर्णाली तुइनबाट तरेर मुगु कर्णालीको किनारै किनार अगाडि बढ्यौँ। गोरेटो बाटो पनि राम्रो नभएकोले भिरमा घाँसको गाँज समाउदै साँझ खोईसाय भन्ने ठाउँमा बास बस्न पुग्यौँ। 

अर्को दिन ५ गते नाथर्पु हुँदै हुम्ला कर्णाली पुग्यौँ। तुइन तरेर हुम्ला कर्णाली पारी पुग्दा नदी किनारमा राम्रो फाँटमा धान रोपिएको थियो। त्यहाँ प्रशस्त केराहरू भएको सुन्दर ठाउँ देखियो। त्यसको नाम मकै रहेछ। त्यो गल्फाको बेसी र त्यसलाई स्थानीयहरू औल भन्दा रहेछन्। त्यहाँबाट उकालो लागेर हामी साँझ श्रीनगर गाउँमा पुग्यौँ।

२०३५ भदौ देखि २०३६ जेठ सम्म मेरो बसाइ तत्काल मुगुको गल्फा श्रीनगरमा भयो। २०३८ सालमा सरकारले यो क्षेत्र पुनः हुम्ला जिल्लामै कायम गर्‍यो। छुट्टै भेषभूषा, खानपान, रहनसहन, हिमाली भूगोल भएकोले माटाका छत भएका घरहरू थिए। घरहरूमा जाडोका कारणले होला, झ्याल थिएनन्। घरको भित्रबाट धुवाँ जाने साना चिम्नी प्वाल थिए। रातिमा उज्यालोको लागि सल्लाको दियालो बाल्दथे। दियालोको धुवाँले मानिसका कपडा सबै काला हुन्थे। मानिसहरूमा सरसफाइको ज्ञान थिएन। जाडोका कारणले होला, स्थानीय पुरूष र महिला सबैले धुम्रपान गर्दथे। गाउँको नजिकै खुला ठाउँमा दिसा गर्ने चलनले गाउँमा फोहरो थियो। धेरै चिसो हुनाले मानिसहरू नुहाउने र कपडा धुने गर्दैनथे। मलाई शुरूमा घर-घरमा डुलेर खाना खानुपर्दा यी सबै कारणले म यस्तो ठाउँमा किन आएँ जस्तो लागेको थियो। कर्णाली चिन्न कर्णाली पुग्नैपर्ने यथार्थ रहेछ। 

गल्फा श्रीनगरमा भण्डारी, फडेरा, रोकाया, कार्की, बोगटी, तागाधारी क्षेत्रीहरू र पाबै भनिने मतवाला क्षेत्रीको बसोबास थियो। गाउँमा कामी, दमाई लगायतका शिल्पी जातिहरू पनि थिए। 

हुम्लाबाट जिल्ला पञ्चायतको सभापति भइसकेका र तत्काल मुगुमा जिल्ला पञ्चायतका सदस्य रहेका दानबहादुर भण्डारीको परिवार सम्पन्न थियो। दानबहादुर मैले पढाउने श्रीनगर नि.मा.वि. को सञ्चालक समितिका अध्यक्ष समेत थिए। गल्फामा उनीहरूको परिवारको राम्रो प्रभाव थियो। एउटा बोगटी परिवारले उनीहरूको विरोध गर्दथे। सोही बोगटी परिवारका गोरखबहादुर बोगटी हुम्लाबाट ने.क.पा. (ए.मा.ले.) को तर्फबाट प्रतिनिधि सभा सदस्य समेत भए। त्यस समयमा उनी बाजुराको कोल्टीमा ८ कक्षामा पढ्दै थिए। घर आएको समयमा उनी मसँग पढ्ने गर्दथे। मैले पढाएको विद्यार्थी चक्र फडेरा पछि जि.वि.स. को उपसभापति भएको मैले थाहा पाएँ। 

श्रीनगर नि.मा.वि. मा कक्षा सातसम्म पढाइ भए पनि विद्यार्थी संख्या न्यून थियो। त्यस पञ्चायतमा एसएलसी पास भएको एकजना मानिस थिएन। छोरीहरूको जन्मेपछि विवाह गरिदिने चलनले छोरीलाई पढ्न पठाउँदैनथे। दुई महिना जति म घर–घरमा डुलेर खाना खाँदा सबै घरबाट कमसेकम एक जना त पढ्न पठाउनुहोस् भनेर भन्ने गरेको थिएँ। प्रायः सबै घरका खर्कमा गोठ भएकाले पढ्ने उमेरका केटाहरु गोठमा बस्ने गर्दथे। मैले विद्यालयका अध्यक्ष दानबहादुर भण्डारीलाई विद्यार्थी संख्या बढाउन अभियान चलाउँ भनेर सल्लाह गरी गाउँमा अभियान चलाउँदा विद्यार्थीको संख्या केही बढेको थियो।

म गल्फामा बस्दै जाँदा सबै कुरा बानी पर्दै गयो। गाउँका मानिसहरू पनि मसँग खुशी थिए। गाउँमा खाना नि:शुल्क पाइन्थ्यो। ५ रूपैयाँ माना घिउ र मह थियो। चाहिएको सामान किन्न गाउँमा दुकान थिएन। गमगढी गएको समयमा कपडा धुने र नुहाउने साबुन तथा टुथपेष्ट किनेपछि पुगिहाल्ने। तलब भत्ता समेत मासिक रू. ८५० पाइन्थ्यो, खर्च थिएन। अतिरिक्त हुलाकमा हप्ताको २ दिन डाँक जान्थ्यो। डाँक पुग्ने दिन हुलाकमा घरबाट चिठी आएको छ कि भनेर म जान्थेँ। ३०-३५ दिनमा घरको चिठी पुग्दा खुशी हुनु पर्दथ्यो। एक-डेढ महिना पुरानो गोरखापत्र पढ्न पाइन्थ्यो। 

त्यहाँका मानिसहरू हिन्दु धर्म माने पनि मुख्य देवता मष्टो मान्दथे। मष्टोको प्रतिनिधि धामी हुन्थ्यो। स्थानीय मानिसहरू केही गर्नुपर्दा वा कहीँ जाँदा साइत हेराउन धामीलाई विधिपूर्वक जगाएर उसले भनेको कुरा देवताले भनेको भनेर विश्वास गरी सोही अनुसार गर्दथे। चाडपर्वमा दशैँलाई ज्वाँरो भनेर दशैँको टीकाको दिन लामोथाडो मुखिया खड्कबहादुरको घरमा सबैले जमरा लिएर गई खड्कबहादुर र धामीबाट जमरा र अक्षता (दहीचामल) लगाएर आशीर्वाद लिन्थे। दशैँको पूर्णिमाको दिन त्यही लामोथाडोमा धामीहरू जम्मा भई नाच्ने र अनेक चटक देखाउने गरेको देखियो। 

तिहार मानेको पाइएन। मंसिरमा बल्लपूजा (गोरूपूजा ) गर्दथे। माघ महिनाको संक्रान्तिलाई आउँदो माघी र मसान्तलाई जाँदो माघी भनेर मनाउँदा घरघरमा चिउला (पुडी रोटी) पकाएर खाने चलन थियो। विद्यार्थीहरूले घर-घरबाट शिक्षकलाई चिउला ल्याइदिन्थे। 

वैशाख महिनामा पाल्स भन्ने ठाउँमा गाउँका छोट्टीहरू लिगुडो (निउरो) लिन जाँदा सोही दिन साँझपख तिनीहरूलाई खाजा समेत लिएर गाउँका छोट्टाहरू लौँठी गाउँसम्म लिन जाँदा रहेछन्। फर्कँदा दुवै समूह देउडा गाउँदै आएर विद्यालयको प्राङ्गणमा रातभर अनुशासित भई देउडा खेलेको देखियो। देउडा खेलेको हेर्न गाउँका बा-आमा, बूढाबूढी सबै आई छोट्टाछोट्टीहरूलाई हौसला दिइरहेका हुन्थे। 

हिन्दु संस्कारको काम गर्न जुम्ला सिंजाका ब्राह्मणहरू जान्थे। मानिसको मृत्यु भएपछि बाजा बजाउँदै कर्णाली नदीमा लगेर दाहसंस्कार गर्दथे। काजक्रिया गर्न फुर्सद नभए वा मृतकको छोरा सानो भए सकेको समयमा गर्ने चलन थियो। त्यहाँ छोराछोरी जन्मेपछि सानैमा केटा पक्ष र केटी पक्षले विवाहको तय गरी आपसमा दही खाएर पक्का गर्दथे। केटी १०-१२ वर्षकी भएपछि केटाको घरमा जानु पर्दथ्यो। बाबुआमाले पहिले विवाह पक्का गरेको केटाको घरमा नगएर केटी अरुसँग गएमा पोइल गएको भनी केटी लैजाने केटाले जारी तिर्नुपर्ने चलन समेत थियो। 

मानिसहरूको पेशा कृषि अन्तर्गत खेतीपाती गर्ने, प्रशस्त भेंडाच्याङ्ग्रा र गाईभैँसी पाल्ने थियो। भेंडाच्याङ्ग्राको ऊनबाट कम्बल, लिउ, फेरुवा बनाई बिक्री गर्दथे। पाखोबारीमा लगाइएको कपासबाट महिलाहरूले चर्खामा कातेको धागोले पुरुषहरू घरेलु तानबाट कपडा (ठेटुवा) बुनेर तयार गरी सिलाएर लगाउँथे। 

खेतीमा थोरै मात्रामा मकै, धान तथा गहुँ, जौ, उवा, कागुनो, चिनो, कोदो, फापर उत्पादन हुन्थ्यो। गल्फा क्षेत्रलाई हुम्लाको मधेश भन्दथे। सबैलाई वर्ष दिन खान नपुगे पनि जसोतसो मानिसहरूले निर्वाह गरेको पाएँ। मानिसहरू हिउँदमा तिब्वतको ताक्लाकोटबाट भेंडाच्याङ्ग्रालाई नुन बोकाई तल बाजुरा, अछाम र राजापुरसम्म आई सामान लिएर फर्कने बाटो यहीँबाट थियो। 
मानिसहरूको आवतजावत भइरहने हुनाले रमाइलो थियो। गम्था घुम्न जाँदा नेपालको सबैभन्दा ठूलो ताल रारा पनि घुम्ने अवसर पाएँ। २०३५ सालमा राराको गाउँमा १ रूपैयाँको १० वटा स्याउ पाइन्थ्यो।

(लेखकको भर्खरै प्रकाशित आत्मवृत्तान्त ‘जीवनका पाइलाहरू’ बाट)   

Copy link
Powered by Social Snap