२०८१ बैशाख १३

‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 




५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा फेरि दोहोरिन चाहिरहेका छन् । शेर्पाले पहिलो कार्यकालमा गर्न नसकेका कामलाई पूरा गर्ने र नेपाली फुटबललाई माथिल्लो स्तरमा लैजाने योजनासहित उम्मेदवारी दिएको बताएका छन् । उनीसँग वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भिड्दैछन् ।

चारवर्षे कार्यकालमा भएका काम र आगामी योजनाबारे अध्यक्षका उम्मेदवार शेर्पासँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानी :

आफ्नो चारवर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

हामी आउँदा लिग नभएको ३–४ वर्ष भइसकेको थियो । रंगशाला पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थियो । च्यासलको अवस्था उस्तै थियो । एएफसीसँग आग्रह गरेर हेड क्वाटरमा सिट स्कोरबोर्ड राख्यौं र लिगका लागि पूर्वाधारका हिसाबले स्ट्याण्डर्ड मेन्टेन गर्‍यौं । ३–४ वर्ष लिग नहुँदा धेरै खेलाडीले फुटबल छाडेको अवस्था थियो । क्लबहरूलाई इन्करेज गर्न सुरुमा विना रेलिगेसन लिग गर्‍यौं । दोस्रो वर्ष एक र तेस्रो वर्ष २ टिम रेलिगेसनमा जाने व्यवस्था गरेर लिगलाई निरन्तरता दिन सफल भयौं । कोरोना महामारीका बीच पनि लिग गरेर नेपाली फुटबलको ब्याकबोन रिभाइभ भयो । अब लिगलाई लामो बनाउने र होम एण्ड अवेमा लैजान प्रयास भइरहेको छ । यो चार वर्षमा यसबाहेक अरू थुप्रै पुराना कामलाई निरन्तरता दिएका छौं । नेपाली फुटबलको जग बलियो बनाउन नयाँ काम थालेका छौं ।



Advertisement



फेरि उम्मेदवारी चाहिं किन ?

कोभिडका कारण चार वर्षमध्ये दुई वर्ष धेरै काम गर्न पाएनौं । हामीले सुरु गरेका थुप्रै काम पूरा गर्न बाँकी छ । पोखरामा हामीले ठूलो एक्सिलेन्सी सेन्टर बनाउँदैछौं । अबको चार वर्षमा त्यसलाई पूरा गर्न सक्यौं भने नेपाली फुटबलका लागि भविष्यमा राम्रो हुनेछ । फुटबललाई अझ आधुनिकीकरण, आर्थिक रूपमा सबलीकरण गर्नु छ । पूर्वाधार निर्माण र युथ प्रोग्रामलाई अझ व्यवस्थित गर्न पनि मेरो उम्मेदवारी हो ।

तर चार वर्ष एन्फाको नेतृत्वमा रहँदा आफ्नो बाचाअनुसार काम गर्न सक्नुभएन भन्ने पनि छ । पोखराको एक्सिलेन्सी सेन्टरमा ढिला भइरहेको छ भने रौतहट एकेडेमीदेखि एन्फा मुख्यालयको विषयमा प्रश्न उठेको छ नि ?

एउटा नियम कानुन, अर्को उजुरी हालेर हाम्रै साथीहरूले अवरोध खडा गरेकाले ढिला भएको हो । पोखरामा ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) गर्नै हामीलाई १५ महिना लाग्यो । नक्सा पास गर्नेदेखि सरकारबाट बजेट, विदेशी अनुदान स्वीकृत जस्ता प्रक्रिया पूरा गर्न समय लाग्यो । उहाँहरूले एएफसी फिफामा उजुरी हाल्नुभयो । त्यसले गर्दा नेपालको कानुनी प्रक्रिया मान्नुपर्‍यो नि ! च्यासल, बुटवल र धरानको नक्सा पास छैन । तर हामीले ‘सोभेनियर सप’को समेत नक्सा पास गरेका छौं ।

नत्र म यतिखेर जेल परिसक्थें होला नि ! अख्तियारले छानबिन गरेकै हो, युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरेकै हो । एएफसी र फिफामा पत्र पठाएको छानबिन भएकै हो

रौतहटमा पनि ईआईए गर्न १७ महिना लाग्यो । हामीले नगरपालिकासँग स्वीकृति लिएर काम गरेका थियौं । तर एउटा भर्खर बन्दै गरेको फोटो राखेर मुद्दा हाल्न लगाउने काम भयो । अब ६–७ गते त्यसको पेशी छ भन्ने सुनेको छु ।

हेडक्वाटर बनाउँदा पनि चार महिना काम हुन सकेन । काम सुरु हुनुभन्दा अघि नै अख्तियारमा मुद्दा हाल्नुभयो । काम सकिएपछि मुद्दा हाल्ने हो नि, तर उहाँहरूले अख्तियारमा मुद्दा हाल्नुभयो । अख्तियारले छानबिन गर्‍यो र क्लिनचिट पायौं ।

अघिल्लो कार्यसमितिले पाँच वटा कोठा रिनोभेट गर्न ३ लाख ४० हजार डलर बजेट स्वीकृत गरेको थियो । तर हामीले पूरा बिल्डिङ रिनोभेसन गर्छौं भनेर फिफामा प्रस्ताव गर्‍यौं । २ लाख ७० हजार डलरको इस्टिमेट बजेट आयो । फिफासँग सहकार्य गरेर प्रक्रिया सुरु गर्‍यौं र २ लाख ४० हजारमै काम भयो । १ लाख डलर बचायौं । फिफाका अधिकारीहरूले यो पैसा के गर्ने भनेर सोध्दा हामीले लिगको बजेट कम छ भन्यौं र १ लाख डलर पुरस्कार स्वरुप पायौं । अनि कहाँ भयो भ्रष्टाचार ? भ्रष्टाचार गर्ने नियतले म सामाजिक क्षेत्रमा लागेको होइन । म भ्रष्टाचार विरोधी हुँ र भ्रष्टाचार गर्नुपर्ने जरुरत पनि छैन ।

टेन्डर प्रक्रिया नै पूरा नगरी छुट्टा–छुट्टै कम्पनीलाई दिइयो भन्ने आरोप छ नि ?

हामीलाई तीन महिनामा काम सिध्याउनुपर्ने, नभए पैसा फ्रिज हुन्ने अवस्था थियो । एउटालाई सबै काम ठेक्का दिंदा समयमा काम नसक्ने देखेपछि फिफासँग सोधेरै काम गरेका हौं । किनकि हाम्रो आफ्नै आर्थिक नियमावली बन्ने क्रममै थियो । फिफाको आर्थिक गाइडलाइन अनुसार ५० हजार डलरसम्म एउटा कोटेसन र ३०० हजार डलर भन्दा कमको एउटा कोटेसन हुने रहेछ । त्यसअनुसार नोटिस निकालेर काम गरेका हौं नत्र म यतिखेर जेल परिसक्थें होला नि !

अख्तियारले छानबिन गरेकै हो, युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरेकै हो । एएफसी र फिफामा पत्र पठाएको छानबिन भएकै हो, खै के भयो त ? हामीलाई गन्तव्यमा पुग्न बाधा हालिएकै हो, तैपनि यति काम भएको छ । त्यसको श्रेय जसले डिस्टर्व गर्‍यो, उसले पनि पाइरहेको छ, मैले पनि पाइरहेको छु । म कमिटी सिस्टममा विश्वास राख्ने मान्छे हुँ । तर श्रेय बाँड्ने, गलत भएको सबै दोष मलाई लगाउने प्रवृत्तिले फुटबल विकास हुन सक्दैन ।

एकलौटी गर्नुभयो, सामूहिकता, पारदर्शिता भएन भन्ने गुनासो पनि सुनिन्छ ।

कार्यसमिति वा पदाधिकारीमा व्यापक छलफल गरेको छु । इतिहासमै पहिलो पटक लगातार १८ घण्टासम्म छलफल भएको छ । अनि एकलौटी कसरी भयो ? उहाँहरूको शैली पञ्च भेला जस्तो छ । आज एक कदम अघि बढ्ने, अर्को दिन एक कदम पछि । त्यसरी त अघि बढ्दैन, कमिटी सिस्टममा चल्नुपर्छ । कमिटीले पास गर्ने, साधारण सभा फेस गर्ने । त्यसो गर्दा कसरी एकलौटी भयो, एउटा प्रमाण दिनुस् । पारदर्शिता कहाँ भएन, त्यसको उदाहरण दिनुस् ।

हामीले सबै सूचना वेबसाइटमा राखेका छौं । ग्रासरुट कार्यक्रम, कोचिङ, रेफ्री कोर्स अनलाइनबाट हुन्छ । हिजो पदाधिकारीलाई भनसुन गरेर हुन्थ्यो, अहिले अनलाइन भएपछि फस्ट कम फस्ट छ । खेलाडी छनोटको विधि बनाएका छौं । त्यसैले पारदर्शिता भनेको के हो ? लुगा लगाएर त हिंड्नुपर्ला नि !

त्यसैले अपुग होला, अझै पनि गर्न बाँकी छ । कोड अफ कन्डक्ट बनाउन बाँकी छ, नियम र कानुनहरू बनाउन बाँकी छ । हामी आयौं भने त्यसलाई पनि पूरा गर्छौं ।

त्यसो भए चार वर्ष एन्फाको नेतृत्वमा बस्दा सबै राम्रा मात्र भए, केही कमजोरी, त्रुटि भएन ?

कोभिड र भूकम्पले काम गर्न धेरै गाह्रो भयो । तर मैले कुनै कमी–कमजोरी गरेको फिल हुन्न । बरु कमिटीकै साथीहरूले साथ नदिंदा काम गर्न अप्ठ्यारो भयो । सरकारबाट आएको बजेटहरू फछ्र्योट नगर्ने, प्रमाणपत्रहरू समयमा नदिने, जिम्मा दिएको काम नगर्ने हुँदा एक्लै काममा खट्नु चाहिं परेको छ ।

मुख्य प्रशिक्षकसँग जोडिएको विवादमा चुप बस्नुभयो, गल्ती ढाकछोप गर्नुभयो भन्ने आरोपबारे के भन्नुहुन्छ  ?

प्रशिक्षक–पदाधिकारी विवादमा कार्यमसिति बसेर छानबिन गर्न खेलकुद मन्त्रालयलाई दिने सर्वसम्मत निर्णय भएको हो । पदाधिकारी नै संलग्न भएको विषयमा एन्फा आफैंले छानबिन गर्दा राम्रो हुँदैन भनेर मन्त्रालयलाई दिएका हौं । छानबिन के भयो ? रिपोर्ट के आयो ? मन्त्रालय वा खेलकुद परिषद्लाई सोध्दा हुन्छ ।

पछिल्लो समय खेलाडी र प्रशिक्षकबीच देखिएको विवादमा पनि नेतृत्व मौन देखियो नि !

कार्यसमितिको डिमान्ड अनुसार मिटिङ राख्यौं र उहाँहरूले भनेकै सदस्यहरू राखेर छानबिन समिति बनायौं । त्यसको रिपोर्ट आइसक्यो र सिफारिस अनुसार सार्वजनिक पनि गर्‍यौं । एएफसी कपको छनोट भर्खर सकिएको छ । अब एन्फाको निर्वाचन हुन्छ, त्यसपछि कार्यसमितिले निर्णय गर्ने, प्रक्रियामा जाने हो ।

छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा त अब्दुल्लाह अल्मुताइरीलाई विदा गर्नुपर्छ । यसले कतार र त्यहाँको फुटबल संघसँगको सम्बन्धलाई असर गर्दैन ?

त्यसो होइन । प्रक्रिया पालना गर्ने भन्ने हो । त्यसको निर्णय आएपछि कार्यान्वयन गर्छौं ।

अब फेरि अध्यक्ष उठ्नुभएको छ । तपाईंका एजेण्डा केके हुन् ? चुनिनुभयो भने के के गर्नुहुन्छ ?

लिगलाई अझ व्यावसायिक बनाउने, जिल्लाहरूमा टुर्नामेन्ट गरेर व्यवस्थित गर्ने । जिल्लामा ट्रेनिङ सेन्टरहरूको सुरुवात भएको छ । हामीले १२ जिल्लासँग सम्झौता गरेका थियौं, बजेट पनि छ । त्यो बजेट कार्यान्वयन गरेर १२ जिल्लाको ट्रेनिङ सेन्टर बनाउने र अरू जिल्लामा पनि सुरु गर्ने योजना छ ।

ए, बी र सी डिभिजन क्लबलाई ट्रेनिङ मैदान अभाव छ । काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहसँग ट्रेनिङ सेन्टरका रूपमा खेल मैदान बनाउँछौं ।

पोखरामा एक्सिलेन्सी सेन्ट मेगा प्रोजेक्ट हो । त्यहाँ आर्टिफिसियल पिच, बिच सकर, रिह्याव सेन्टर लगायत संरचना बनाउनु छ । अन्तर्राष्ट्रिय स्टेडियम बनाउन सुरु गर्नुपर्छ भनेर सरकारलाई पटक–पटक भनेका छौं । ३०० रोपनी जग्गा पाएको छौं, तर ४०० रोपनी भए हुन्थ्यो भनेर जग्गा खोजिरहेका छौं ।

स्कुल बच्चाहरूलाई डिस्टर्व नहुने गरी शनिबार होम एण्ड अबे युथ प्रोग्राम गर्नुछ । विभिन्न उमेर समूहका प्रतियोगिता गर्र्ने, यू–१८ टुर्नामेन्टलाई व्यवस्थित बनाउने, क्लबहरूको शेयर बेच्ने अवधारणामा जाने वातावरण बनाउने थुप्रै योजना छन् । आउने चार वर्षमा यसलाई एउटा आकार दिन चाहन्छु, जसले नेपाली फुटबलको प्रस्थान बिन्दु तयार हुन्छ जस्तो मलाई लाग्छ ।

चुनाव जित्ने आधार चाहिं के–के हुन् ?

कामको मूल्यांकन । जिल्ला, क्लब, संघका साथीहरूले हाम्रो कामको मूल्यांकन गर्नुहुन्छ भन्ने विश्वास छ ।

किनकि फुटबलमा एक रातमा चेन्ज सम्भव छैन । हिजोका साथीहरूले जग बसालेको भए अहिले सहज हुन्थ्यो । तर हामीले ग्रासरुट, युथ प्रोग्राम भर्खर सुरु गरिरहेका छौं । पहिलो पटक चार क्लबले भर्खर एएफसी क्लब लाइसेन्स पाएका छन्, १० वटा क्लबले एकेडेमी सुरु गरेका छन् । यो काम २०१४ मा क्लब लाइसेनिङ गर्दा नै लागु गरेको भए अहिले त सजिलो हुन्थ्यो होला ।

हामी आएपछि चार वर्षमा देखिने गरी काम भएको छ । यद्यपि हामीले भने अनुसार थुप्रै काम गर्न बाँकी छ । त्यसैले अब चार वर्षमा कुनै खाले दुर्घटना, घटनाहरू नहोस्, नेपाली फुटबलमा निरन्तर काम गर्न पाइयोस् भन्ने चाहना छ ।

Copy link
Powered by Social Snap