२०७९ असार ११
Advertisement

Advertisement

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

मान्छेको जन्मपछि जीवनका विभिन्न चरण पार हुन्छन् । उमेरसँगै शारीरिक, मानसिक र भावनात्मक पक्ष पनि विकास हुँदै जान्छन् । ‘टिनएज’ उमेरको सबैभन्दा संवेदनशील र जीवनको निर्णायक बन्ने उमेर हो । यो उमेरमा जीवनलाई लिएर कोही पनि गम्भीर नहुने सम्भावना हुन्छ । पारिवारिक रमाइलो र साथीहरुसँगको हाँसीमजाकले टिनएजको बिदाइ हुन्छ । पढाइ कहिले सकियो अत्तोपत्तो हुँदैन । जवान हुने चाहनामा रहेका टिनएजरलाई भने यो समय एकदमै लामो लाग्छ ।

टिनएजलाई कसैले गुलाबी उमेर भन्छन्, कसैले किशोरावस्था । कसैले अपरिपक्व उमेर भन्ने गर्छन् । यो आ-आफ्नो धारणा हो । अक्सर टिनएज पार गरिसकेका व्यक्तिहरु आफू हुर्किएको वातावरण र समय अनुसार धारणा बनाउँछन् । त्यसैले यो उमेरबारे विभिन्न व्यक्तिको धारणा फरकफरक हुन जान्छ ।

किशोरावस्थाबारे वैज्ञानिक धारणा लिने हो भने वैज्ञानिक यो उमेरलाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा अरिपक्व मान्छन् । त्यसैले हरेक आमाबाबाले यो उमेरमा छोराछोरीलाई कस्तो खालको शिक्षा र संस्कार दिइरहनु भएको छ भन्ने महत्वपूर्ण हुनेरहेछ ।


Advertisement


यो उमेरमा साथीहरुको लहलहैमा लाग्ने, के होला कस्तो होला भन्ने उत्सुकताले लागूपदार्थ दुर्व्यसनको सिकार बन्ने, पढ्नमा भन्दा खेल्नमा बढी ध्यान जाने, कसैले राम्रो कुरा भन्यो भने पहिले पहिले राम्रो लाग्ने टिज एज पार गर्नै लाग्दा कत्ति पनि मन नपर्ने, धेरै रिसाउने, केही समस्या भए पनि अरुसँग खुलेर भन्न नसक्ने, घरपरिवार भन्दा साथीहरु प्यारो लाग्ने र उनीहरुसँगै बढी समय बिताउन मन लाग्ने, केही सानो समस्या भइहाल्यो भने पनि त्यसलाई ठूलो समस्याको रुपमा लिने र आत्महत्या गर्नेबारे सोच्ने यस्ता खालका विचार आउँछन् ।

किशोरकिशोरीलाई समाजको बारेमा हेक्का हुँदैन । उनीहरुको वृत्तिविकास हुने समय भएकाले आºनै व्यक्तिगत जीवनको परिवर्तन देखेर खुसी हुने र रिसाउने गरिरहेका हुन्छन् ।

किशोरावस्थामा यस्ता खालका विचार आउँछन् वा कस्ता खालका विचार आउँथे भनेर हरेक बुवाआमाले सोच्न जरुरी छ । बच्चाबच्ची जन्माएर मेरो जिम्मेवारी पूरा भयो भन्ने सोच्ने एकथरी आमाबुवा पनि छन् । तर जन्मेदेखि २० वर्ष उमेरसम्मको समय एक मानिस पूरै जीवनभर कस्तो मानिस भएर बाँच्ने भन्ने निर्धारण गर्दछ । मेरो छोराछोरी कमजोर वा ट्यालेन्ट छन् भनेर भन्नको लागि आमाबुवाले दिने शिक्षामा निहित हुन्छ । यदि कुनै छोरा-छोरी ट्यालेन्ट वा कमजोर छन् भने दुईवटै परिणाममा श्रेय बुवाआमालाई जानुपर्छ । उनीहरुले नै छोराछोरी बनाउन र बिगार्नमा सबैभन्दा ठूलो भूमिका खेल्छन् ।

यो उमेर समूहका व्यक्तिले आफ्नो उमेरका सम्बन्धमा होस् वा जिन्दगीका सम्बन्धमा खासै धारणा बनाइसकेका हुँदैनन् । उनीहरु के सही र के गलत छुट्याउन अन्योलमा पर्छन् । यसो हुनु पनि जायज हो । कामले व्यक्तिलाई अनुभव दिन्छ । अनुभवले मान्छेलाई सिकाउँछ । त्यही भएर काम, अनुभव र सिकाइ जिन्दगीभर कहिल्यै रोकिंदैनन् ।

आदर्शविक्रम सिंह

टिनएज कटिसकेको व्यक्ति फेरि किशोरावस्थामा पुग्न चाहन्छ । जिम्मेवारीको भारीले रमाइलो भन्दा बेसी समय कामका लागि जान्छ । जिम्मेवारीमा समय दिंदादिंदै उमेर बढ्छ । उमेरसँगै रहर कहाँ छुट्छन् कहाँ । त्यसपछि जिन्दगीका अनेकथरी परिभाषा बन्छन् । त्यसैले टिनएज जिन्दगीका अविस्मरणीय सम्झना बनाउने र रमाइलो गर्ने एउटा उपयुक्त उमेरका रुपमा पनि लिन सकिन्छ ।

महंगो सामान, विद्यालय वा शिक्षाले कोही महान् बन्दैन । महान् र असल मान्छेहरु जसको इतिहासका स्वर्णिम अक्षरमा नाम लेखिएको छ । उनीहरु असल संस्कारका उपज हुन् ।

दुनियाँको सबैभन्दा राम्रो उत्पादनशील र सीपयुक्त पढाइ पैसाको बलमा हासिल गर्न सकिन्छ । तर संस्कार विश्वको कुनै पनि महंगो विश्वविद्यालयले पनि दिन सक्दैन । त्यसैले कुनै विद्धानले भनेका रहेछन्- ‘बुवाआमा दृश्य भगवान हुन् ।’ यदि आमाबुवाले चाहे भने यसरी छोराछोरीलाई सबल, सक्षम र सशक्त बनाउन सक्छन् ।

शारीरिक परिवर्तन

यो समय किशोरकिशोरीको शारीरिक परिवर्तनको समय हो । हर्मनहरु परिवर्तन हुन्छन् । शारीरिक परिवर्तनका विभिन्न संकेत देखिन सुरु हुन्छन् । के भयो भनेर आश्चर्यमा परिरहेका टिनएजरलाई उनीहरुले सोध्नु अगावै यो उमेरमा हुने परिवर्तन हो भनेर बुझाउनु आमाबुवाको कर्तव्य हो । यसो गरिएन भने आमाबुवा आफ्नो कर्तव्यबाट पन्छिने भए नै सँगै छोराछोरीले जुनसुकै निर्णय लिन पनि सक्छन् । यो कुरालाई आमाबुवाले ख्याल राख्नुपर्छ ।

मानसिक परिवर्तन  

यति ठूलो संसारमा सूचना पनि धेरै छन् । टिनएजरहरुले कुन सही र कुन गलत सूचना हो थाहा पाउन सक्दैनन् । उनीहरु सबै सूचनालाई सत्य ठान्छन् । जसले त्यसप्रति उनीहरुको विश्वास बढ्दै जान्छ, यही नै सत्य हो भन्ने ठान्छन् ।

उनीहरुले प्राप्त गरेका सूचनाका आधारमा उनीहरुको मस्तिष्क तयार हुँदै जान्छ । त्यसैको आधारमा उनीहरु आफ्नो जिन्दगीको निर्णय लिन्छन् । त्यसैले उनीहरुलाई राम्रा पुस्तक, सूचनाको उद्देश्य र यसले हाम्रो मस्तिष्कमा पार्ने छापका बारेमा आमाबुवाले जानकारी दिनुपर्छ । हामीले हाम्रो मस्तिष्कको कामबारे समयमा शिक्षा दिनुपर्छ । त्यसैले छोराछोरीलाई समयमै यस विषयमा जानकारी दिनु बुवाआमाको दायित्व हुन आउँछ ।

भावनात्मक परिवर्तन

यो उमेरमा मस्तिष्कबाट भन्दा धेरै काम भावनाबाट गरिन्छ । मान्छे जति ठूलो भए पनि कुनै काम मनैदेखि गर्छ भने उक्त काम राम्ररी सम्पन्न हुन्छ । त्यसैले होला विचार भन्दा भावनालाई शक्तिशाली मानिन्छ । यो उमेरमा गलत निर्णय लिइयो भने पनि मनैदेखि गलत कार्य गरिन्छ । यदि सही निर्णय लिइयो भने पनि मनैदेखि सही काम गरिन्छ ।

त्यही भएर आमाबुवाले छोराछोरी किशोरावस्थामा छन् भने एकदमै सजग हुनुपर्छ । जति सक्यो उनीहरुको भावना बुझ्ने, उनीहरुको समस्या पहिचान गर्ने, उनीहरुलाई के सही र के गलत छुट्टाउन सिकाउने, अझै महत्वपूर्ण कुरा उनीहरुसँग रिसाउने होइन, मायाले धेरै भन्दा धेरै कुरा गर्ने, हाँसीमजाक गरेर असल साथी बनिदिंदा उनीहरु तपाईसँग खुलेर कुरा गर्छन् । अनि तपाईं तपाईंले चाहे जस्तो संस्कार दिन सक्नुहुन्छ ।

सामाजिक शिक्षा

किशोरकिशोरीलाई समाजको बारेमा हेक्का हुँदैन । उनीहरुको वृत्तिविकास हुने समय भएकाले आºनै व्यक्तिगत जीवनको परिवर्तन देखेर खुसी हुने र रिसाउने गरिरहेका हुन्छन् । समाजमा कसरी बस्ने, हामी कस्तो समाजमा बस्छौं, समाजले कस्ता कुरालाई बर्जित गरेको छ, कस्ता काम र कुरालाई गर्ने छुट दिएको छ, समाजका नीति नियम के छन् । यस्ता विषयमा जानकारी दिनु आमाबुवाको जिम्मेवारी हुन जान्छ ।

बालबालिकाका लागि काम गर्ने संस्था युनिसेफले किशोरावस्थामा छोराछोरी भएका आमाबुवालाई केही सुझाव दिएको छ । जुन एकदमै महत्वपूर्ण छन् ।

-उनीहरुलाई आफ्नो भावना व्यक्त गर्न हौसला दिनुहोस् ।

-उनीहरुलाई सहयोग गर्न समय निकाल्नुहोस् ।

-तपाईं र तपाईंका छोराछोरीबीच कुनै समस्या भए समाधानका लागि काम गर्नुहोस् ।

-आफ्नो ख्याल राख्न समय लिनुहोस् ।

(सिंह उत्प्रेरक वक्ता समेत हुन् ।)

Copy link
Powered by Social Snap