२०८१ बैशाख १२

गृहले रोक्यो दुवईका राजपरिवार सदस्यको सबै औपचारिक कार्यक्रम




५ असार, झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम गृह मन्त्रालयले रोकेको छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो ।

माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पनि दुबईका राजपरिवार सदस्य माक्तुमको पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको अनलाइनखबरसँग पुष्टि गरे । ‘विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारको स्वीकृति लिनुपर्ने हो, सुरक्षा संवेदनशीलताको हिसाबले पनि यो आवश्यक कुरा हो’ रिजालले भने, ‘तर अनुमति नलिएकाले पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको छ ।’



Advertisement



परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी सहायक प्रवक्ता रिता दाहालले दुबईको राजपरिवारका सदस्य नेपाल आएको भन्ने बाहेक कुनै पनि जानकारी नभएको बताइन् ।

शनिबार माक्तुमले विर्तामोडमा प्रसाईंले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान मेसिनको शुभारम्भ गरेका थिए । त्यो कार्यक्रम निजी भएकाले त्यहाँ उनको उपस्थितिलाई सामान्यरुपमा लिइएको रिजालले बताए ।

तर कार्यक्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुँगमबहादुर कुँवर नेतृत्वको प्रहरी टोली सुरक्षार्थ खटिएको थियो ।

माक्तुमले विमानस्थलमा उत्रिएलगत्तै व्यवसायी प्रसाईंलाई सुनको जस्तो देखिने लौरो उपहार दिएका थिए । उपहार दिएको तस्वीर सार्वजनिक भएपछि विदेशबाट आउने श्रमिकले ल्याएको बाला समात्ने भन्सारले उनलाई ‘सुनको लौरो’ लान छुट दिएको भन्दै आलोचना भएको थियो ।

आलोचना बढ्न थालेपछि बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बाहिर सार्वजनिक भएजस्तो लौरो सुनको नभएको प्रतिक्रिया दिएका थिए । उनले भनेका छन्, ‘यो टोकन अफ लभ हो, सुनको जस्ते देखिए पनि यो सुनको लौरो होइन ।’

आइतबार र सोमबार उनले झापाको भद्रपुर नगरपालिका र कचनकबल गाउँपालिकामा मस्जिद शिलान्यास गर्ने कार्यक्रम थियो । उनले मुस्लिमका लागि विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम पनि राखिएको थियो । यी सबै कार्यक्रम व्यवसायी प्रसाईंले प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न तयारी गरिरहेको झापा क्षेत्र नं. ३ मा पर्छन् ।

चुनावी तयारी तीब्र पारिरहेका वेला दुवईका राजपरिवार सदस्यलाई निर्वाचन क्षेत्रमा लगेर कार्यक्रम गर्न खोजेपछि झापाका अन्य नेताहरुले पनि असन्तुष्टि जनाएका थिए । त्यहीबीच गृह मन्त्रालयको निर्देशनमा आइतबार र सोमबारका लागि तोकिएको उनका अन्य सबै कार्यक्रम रद्द गरिएका हुन् ।

माक्तुमले विर्तामोड नगरपालिकाको एक मदरसामा गएर नमाज पाठ गरेका छन् । त्यसबाहेक उनी अन्य कुनै कार्यक्रममा सहभागी भएनन् । केही साता अघि व्यवसायी प्रसाईं आफैं दुबई पुगेर उनीसँग भेट गरेका थिए ।

अहिले उनी नेपाल आएका बेला व्यवसायी प्रसाईंले दुबईमा पनि मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘मोक्तुम मेरा पाहुना मात्र होइनन्, विजनेश पार्टनर पनि हुन् ।’

प्रसाईंले दुवईमा मेडिकल कलेज सञ्चालन गर्नका लागि उनीसँग लगानीको सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । तर विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले नेपाली नागरिकलाई कुनै पनि क्षेत्रमा लगानी गर्न नेपालबाट रकम बाहिर लैजान निषेध गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम रद्द भएपछि माक्तुम सोमबार पोखरा भ्रमणका लागि निस्किँदैछन् । त्यसपछि स्वदेश फर्किने कार्यक्रम रहेको सुरक्षा स्रोतले बताएको छ ।

Copy link
Powered by Social Snap