२०८० चैत्र १६

कोरोना संक्रमितलाई होटल आइसोलेसनमा राख्ने सरकारको तयारी, खर्च आफैंले व्यहोर्नुपर्ने

साभार: सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्राललये काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई होटलको आइसोलेसनमा राख्न सकिने गरी छलफल अघि बढाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफ्नै खर्चमा राम्रो सुविधामा बस्न चाहने संक्रमितलाई होटलको आइसोलेसनमा राख्नेगरी छलफल अघि बढेको बताए।

‘यसबारे छलफल भइरहेको छ। पैसा हुने र अलिक राम्रो सुविधामा बस्न चाहने संक्रमितहरूलाई होटलमा राख्ने भनिएको हो,’ उनले भने।

उनले घरमा बस्न समस्या भएका र आइसोलेसनमा पनि भीडभाड हुने भन्दै एक्लै बस्न चाहनेहरूको लागि उक्त विकल्पबारे छलफल भएको बताए।

प्रवक्ता गौतमले भने, ‘कति मानिस घरमा बस्न समस्या भएका हुन्छन्। साथै आइसोलेसनमा पनि बढी भीडभाड भयो भनेर छुट्टै बस्न खोज्ने हुन्छन्। हामीले त्यस्ता व्यक्तिलाई होटलमा राख्न सकिन्छ कि भनेर काम गरिरहेका छौं।’

उनले धेरै संक्रमितहरूबाट आइसोलेसनमा बस्न गाह्रो भएको गुनासो आइरहेकाले पनि ती संक्रमितहरूलाई होटलमा आइसोलेसन बनाएर राख्न लागिएको बताए।

त्यसरी होटलमा बस्दा त्यहाँको खर्च भने संक्रमित आफैंले व्यहोर्नुपर्ने उनी बताउँछन्।

‘सरकारले संक्रमितको सबै खर्च व्यहोर्ने भने पनि होटलमा बसेको खर्च उहाँहरूले नै व्यहोर्नुपर्छ। सरकारले खर्च व्यहोर्न उहाँहरू प्रोटोकलभित्र रहेर तोकिएको आइसोलेसनमा बस्नुपर्छ,’ उनले भने।


Advertisement


प्रवक्ता गौतमले यसबारे प्रारम्भिक छलफलमात्र भएको र कार्यविधि तयार हुन बाँकी रहेको जनाए।

उनले उपत्यकामा आफैं खर्च गर्न सक्ने धेरै मानिस रहेकाले तिनिहरूको लागि यो सुविधाले राम्रो गर्ने बताए।

‘कति मान्छे त आफ्नै खर्चमा अलिक राम्रो सुविधामा बस्छु भन्नेहरू पनि छन् नि। त्यस्ता व्यक्तिहरूलाई लक्षित गरेर गर्न लागिएको हो,’ उनले भने।

प्रवक्ता गौतमले यसमा कुनै पनि संक्रमितलाई करकाप नगर्ने र स्वेच्छाले बस्न चाहनेलाई मात्र होटलको आइसोलेसनमा राख्ने जनाए।

उनले होटललाई आइसोलेसनमा प्रयोग गर्नका लागि व्यवसायीहरू समेत तयार रहेको बताए।

Copy link
Powered by Social Snap