२०७८ असार ८
Advertisement

.

Advertisement

तेस्रो लहर आए ‘जोखिममा बालबालिका’, सरकारको तयारी कस्तो छ ?

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुन सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । पहिलो लहरको संक्रमणमा ८ प्रतिशतभन्दा कम संख्यामा बालबालिका संक्रमित भए पनि दोस्रो लहरमा यो संख्या बढेको मन्त्रालयको तथ्यांक छ ।

दोस्रो लहर संक्रमणको दुई महिनामा २४ हजार ८२१ बालबालिका संक्रमित भएका छन् भने जेठ २३ गतेसम्म २० वर्षमुनिका ७२ जनाको मृत्यु भएको छ । तेस्रो लहरको संक्रमणमा बालबालिकामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यतिखेर सरकार बालमैत्री स्वास्थ्य संरचना र जनशक्ति व्यवस्थापनमा जुटेको छ ।


Advertisement


तेस्रो लहरमा बालबालिका किन जोखिममा ?
रोगप्रतिरोधी क्षमताका हिसाबले बालबालिका युवा तथा वयस्कभन्दा कमजोर उमेर समूहमा पर्छन् । त्यसमा पनि पाँच वर्षमुनिका बालबालिकामा रोगप्रतिरोधी क्षमता निकै कम र कुनै पनि संक्रमण हुन सक्ने सम्भावना बढी हुन्छ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले जुन ३, २०२१ मा प्रकाशन गरेको रिपोर्टअनुसार विश्वभर हालसम्म १४.१ प्रतिशत बालबालिकामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मृत्युदर ०.२३ प्रतिशत रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

नेपालमा बालबालिकाका लागि खोप हालसमम्म उपलब्ध नभएको कारण पनि उनीहरुमा थप जोखिम हुन सक्ने प्रक्षेपण मन्त्रालयले गरेको छ । बालबालिकामा कोभिड संक्रमण भएको खण्डमा त्यसको असर लामो समयसम्म देखिन सक्ने नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. गणेशकुमार राई बताउँछन् ।

विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा संक्रमण भएको ६ हप्तापछि पनि त्यसको जीवाणुले विभिन्न प्रतिक्रिया मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) देखाउन सक्छ । यसरी देखाउने प्रतिक्रियाले बालबालिकाको विभिन्न अंगमा दीर्घकालीन असर पुर्‍याउन सक्छ । बालबालिकामा देखिने एमआईएससीको उपचार दुर्लभ र निकै महँगो पनि हुन आउँछ । त्यसैले समयमा नै बालबालिकालाई संक्रमण हुनबाट जोगाउनु नै जोखिम कम गर्ने उत्तम उपाय भएको डा. राई बताउँछन् ।

यी हुन् जोखिम वर्गमा पर्ने बालबालिका
– शिशुबाहेक पाँच वर्ष उमेरसम्मका बालबालिका बढी जोखिममा
– वंशाणुगत मुटुरोग भएका
– मिर्गौला, दम, फोक्सोसम्बन्धी विभिन्न रोगको औषधि प्रयोग गरिरहेका
– मोटोपन, उमेरभन्दा बढी तौल भएका

नेपालमा बाल आईसीयू र जनशक्ति कति ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा हालसम्म नेपालका सरकारी अस्पतालहरुमा १२० वटा बाल आईसीयू रहेका छन् । नेपाल पेडियाट्रिक सोसाइटीमा आबद्ध बाल चिकित्सकको संख्या ४८८ छ । सोसाइटीमा आबद्ध नभएका तर विभिन्न अरु निकायमा काम गरिरहेका समेत गरी अहिले नेपालमा ५०० जना बाल चिकित्सक रहेको सोसाइटीका अध्यक्ष डा. राई बताउँछन् ।

नेपाल नर्सिङ काउन्सिलको तथ्यांकमा हालसम्म ६२ हजार ९१९ जना नर्स दर्ता रहेका छन् ।

के–के तयारी गर्दै छ सरकार ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको दोस्रो लहरको दौरान देशभरका १०० भन्दा बढी शय्या रहेका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न बजेट विनियोजन गरेको छ । तेस्रो लहरमा संक्रमण आउन सक्ने र त्यसको जोखिममा बालबालिकाहरु रहेको भन्दै सबै अस्पतालहरुमा कम्तीमा २० प्रतिशत शय्या बालबालिकाका लागि छुट्ट्याउन निर्देशन दिएको छ । त्यस्तै, बालमैत्री सघन उपचारकक्ष निर्माण गर्न र पर्याप्त अक्सिजनको व्यवस्थापन गर्न पनि मन्त्रालयले सबै अस्पतालहरुलाई सूचित गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै सबै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने बताएका छन् ।

२७५ वटा आईसीयू भेन्टिलेटर थप गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । त्यसैगरी, सबै अस्पतालमा बालमैत्री स्वास्थ्य सामग्री थप गर्न पत्र काटिसकिएको डा. पौडेलले जानकारी दिए ।

यसबाहेक अहिले नेपालमा बालबालिकाका लागि भएका जनशक्ति, उनीहरुको सक्रियताको अवस्था, जनशक्ति व्यवस्थापन तथा परिचालनका लागि पनि विभिन्न संघ–संस्थाँसग मिलेर ‘रिसोर्स म्यापिङ’को काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म अमेरिका, चीन, इजरायललगायत मुलुकले १२ देखि १६ वर्षसम्मका बालबालिकालाई खोप दिइरहेको भए पनि विश्वका अधिकांश मुलुकमा बालबालिकामा कोभिड–१९ विरुद्धको खोप प्रयोगमा ल्याइएको छैन ।

Copy link