२०८१ बैशाख ५

मोरङमा अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण

२५ जेठ, विराटनगर । मोरङको बेलबारी नगरपालिकाले अष्ट्रेलियाको भनेर नवलपरासीको बाख्रा वितरण गरेको पाइएको छ । नगरपालिकाले जेठ १५ गते अष्ट्रेलियाबाट आयात गरेको ‘फूल ब्लड’ बोयर बोका भनी नवलपरासीबाट ल्याएको ९२ वटा बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण गरेको हो ।

अष्ट्रेलियाबाट ‘फूल ब्लड’ बोयर बाख्रा ल्याउन जेठ ३ गते संखुवासभाको ग्रो अर्गानिक कृषि फर्मलाई एक करोड २४ लाख रुपैयाँमा ठेक्का दिएको थियो । सप्लायर्सले जेठ १५ गते बोका ल्याएपछि वितरण गर्दा किसानले विरोध जनाएका थिए ।


Advertisement


बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बाख्रा ल्याउँदा सप्लायर्सको बदमासी देखिएको बताए । ‘आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएपछि बाख्रा बाँडियो,’ उनले भने, ‘शनिबार ल्याएका थिए, कागजपत्र पछि ल्याउने भनेपछि बाख्रा वितरण गरियो ।’

सप्लायर्सले बाख्रा ल्याएको कागजात अझै नगरपालिकामा बुझाएको छैन । कागजात नबुझाएपछि नगरपालिकाले भुक्तानी रोकेको छ । ‘हामीले कागजात माग्दा उहाँहरुले बुझाउन सक्नुभएन, भन्सारमा बुझ्दा बाख्रा नै आएको देखिएन,’ शाहले भने, ‘कागजात बुझाउन नसकेपछि हामीले भुक्तानी रोकेका छौं, अब कारवाही गर्छाैं ।’

नगरपालिकाका स्रोतका अनुसार सप्लायर्सले नवलपरासीका किसानले पालेका बोयर क्रस बोका र पाठी एउटा निजी फर्ममा भेला पारेर ल्याएका थिए ।

हल्ला भएपछि छानविन समिति

किसानले विरोध गरेपछि नगरपालिकाले उपप्रमुख ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि कारवाही प्रक्रिया अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत शाहले बताए ।

नगरपालिकाले भुक्तानी नपाएपछि सप्लायर्स कम्पनीका श्याम पाण्डेले बाख्रा नै फिर्ता मागेको नगरपालिका स्रोतले बताएको छ । तर किसानलाई वितरण गरिसकेकाले बाख्रा फिर्ता गराउन नसक्ने नगरपालिकाले जवाफ दिएको थियो ।

नगरपालिका स्रोतका अुनसार बाख्रा आयात गर्ने फर्म पाण्डेको होइन । मोरङका ६ वटा स्थानीय तहको फोहर व्यवस्थापन र सौर्य उर्जाको सम्भाव्यता अध्ययनको जिम्मेवारी पाएका पाण्डेले नगरपालिकामा बाख्रा ल्याउने सेटिङ गरेर संखुवासभाका कृषकको फर्म प्रयोग गरेका स्रोतको दावी छ ।

‘हर्ताकर्ता पाण्डे नै भएपनि सम्झौता पत्रमा भने गोविन्द रायको हस्ताक्षर छ,’ बेलबारी नगरपालिका स्रोतले भन्यो, ‘भुक्तानीको तयारी हुँदै गर्दा ठगी भएको देखिएपछि सबै पछि हटे ।’

बाख्रा खरिदमा भएको अनियमिततामा जोडिएपछि पाण्डेसँग सम्पर्क गर्दा उनले बोल्न चाहेनन् । ‘मलाई डाक्टरले नबोल्नु भनको छ,’ अनलाइनखबरसँगको सम्पर्कमा उनले भने,‘ अहिले म बोल्न सक्दिन बिरामी छु ।’

स्रोतका अनुसार नवलपरासीबाट उक्त बाख्रा २५ देखि ३० हजार रुपैयाँ गोटा खरिद भएको थियो । सम्झौता पत्रमा हस्ताक्षर गरेका राय भने आफूलाई बाख्रा आयात गरेको विषयमा जानकारी नभएको बताए । आफू फर्मको प्रशासन हेर्ने कर्मचारी मात्रै भएको उनले बताए ।

ठेकेदार र नगरको बदमासीले किसान ठगिए

ठेकेदार र बेलबारी नगरपालिकाको बदमासीले बेलबारीका किसान ठगिएको नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बताए । ‘राज्य कोषको चरम दुरुपयोग हो, किसानमाथि अन्याय पनि भयो,’ उनले भने, ‘अष्ट्रेलियाबाट ल्याएको बाख्रा होइन, समूहका किसानले पालेको बाख्रा संकलन गरेर पठाएको सूचना छ ।’

बोयर जातका बाख्रामा हाडनाता क्रस भएको पाइए राम्रो उत्पादन नदिने भन्दै उनले विवरण नखुलेका बाख्रा वितरण गर्दा किसानको लगानी जोखिममा पर्ने बताए ।

चितवनमा बोयर जातको बाख्रा पालन गरिरहेका एक कृषकका अनुसार नगरपालिकाले बोलपत्रमा उल्लेख गरेको फूल ब्लड बोयर जातको बाख्रा तत्कालै आयात गरेर दिनसक्ने अवस्था थिएन ।

पियोर बोयर खोजेपछि आफूले टेण्डर नभरेको बताउँदै ती किसानले भने, ‘अष्ट्रेलियाबाट बाख्रा आयात गर्न सहज छैन, सम्झौताको १२ दिनपछि बाख्रा आउँदा नगरपालिकाले ध्यान दिनुपर्ने थियो ।’

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap