२०८१ बैशाख ११

पार्टीलाई जेठ २ मा फर्काउन अन्तिमसम्म लागिरहनेछौं: गोकर्ण विष्ट

नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीलाई २०७५ जेठ २ कै संरचनाअनुसार अगाडि बढाउन आफू लागिरहने बताएका छन्।

पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको उल्लेख गर्दै उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको बताएका छन्।


Advertisement


विष्टसहित नेता माधवकुमार नेपाल पक्षका केही नेताले अध्यक्ष केपी शर्मा ओली पक्षका केही नेतासँग संवाद गरिरहेको र नेपाल पक्षकै नेताहरूले विष्ट ओलीतर्फ नै लाग्न सक्ने संकेत गरेका खबर आएका थिए।

यसबारे प्रष्टाउन विष्टले बिहीबार फेसवुकमा आफ्ना धारणा राखेका छन्।

‘पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ गते पूर्ववत अवस्थामा फर्काएर कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहित सबल एवं एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो,’ उनले भनेका छन्, ‘यसमा अन्तिमसम्म लागिरहन्छौं।’

यस्तो छ उनको भनाइ:

नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्।

एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्? समयले नै बताउला।

पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो।

हामी यसमा निरन्तर प्रयत्नशील छौँ। अन्तिमसम्म लागिरहनेछौँ। पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो। हाम्रो अडान हो।

Copy link
Powered by Social Snap