२०८१ बैशाख २१

प्रदेश नम्बर १ को अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

प्रदेश नम्बर १ को वर्खे अधिवेशन बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।


Advertisement


आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आजको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चाबीच अधिवेशन बोलाउन सिफारिस भएको हो। अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो।

यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए।

तर बुधबारको मन्त्रिपरिषद बैठकले प्रि-बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो। यसको विपक्षी दलहरुले विरोध गरेका थिए। 

प्रदेशका विपक्षी दलहरुले बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुखसम्मलाई भेटेर दबाब दिएका थिए।

असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ।

यसपटक प्रि-बजेट छलफलको म्याद गुज्रिसकेको छ। बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ। यही व्यवस्था छल्न सरकारले अध्यादेश ल्याएको हो।

Copy link
Powered by Social Snap