२०८१ जेष्ठ ६

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ।

बुधबार बिहान साढे ८ बजे बोलाइएको बैठक एक घन्टा ढिला सुरू भएको एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङले बताए।

बैठकमा २० जना सासंद सहभागी छन्। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा उपस्थित भएका छैनन्।

आजको बैठकमा ओली पक्षका रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट अनुपस्थित छन्। 

संसदीय दलका नेता प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक आह्वान गरेका हुन्।

सोमबार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरेपछि दलको बैठक बसेको छ। बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।


Advertisement


केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि प्रदेशमा एमालेका बहुमत सांसद माधव नेपाल पक्षका छन्। उनीहरूले माओवादी केन्द्रकै वर्तमान सरकारलाई समर्थन गर्न सक्ने सम्भावना छ।

एमाले सुदूरपश्चिम कमिटीले भने सरकारबाट फिर्ता नआउने मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। एमालेले सरकार बनाउन चाहेमा सभामुखबाहेक तीन मत कम हुन्छ। जसपाले समर्थन गर्नेमा एमाले सुदूरपश्चिम ढुक्क छ। यदि त्यसो भएमा कांग्रेस माओवादी गठबन्धनको २५ र एमाले जसपा गठबन्धनको २६ मत हुन आउँछ।

प्रदेश सभामा कांग्रेसका १२ र माओवादी केन्द्रका १३ सांसद छन्। सुरूमा १४ सांसद रहेको माओवादीमा झपट बोहरा एमालेमा गएपछि पदमुक्त भएका छन्।

Copy link
Powered by Social Snap