२०८१ बैशाख २५

लुम्बिनीमा यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

आज लुम्बिनीमा २५६५ औं बुद्ध जयन्ती मनाइएको छ।

कोरोनाभाइरस महामारीका कारण पहिलेजस्तो यसवर्ष धुमधामले बुद्धजयन्ती मनाइएन।

पहिले राष्ट्र प्रमुख, सरकार प्रमुख तथा बुद्ध र लुम्बिनीसँग सरोकार राख्ने विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा र्‍यालीसहित बुद्ध जयन्ती मनाइन्थ्यो। 

यसवर्ष भने धेरै मानिस जमघट भएनन्। सामान्य रूपमै बुद्धजयन्ती मनाइयो। लुम्बिनी बिकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाएको हो । 


Advertisement


कोषका सदस्यसचिव सानुराजा शाक्यले कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गतवर्ष जस्तै यसबर्ष पनि बुद्ध पूजा पाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर मनाइएको बताए।

यस्तै साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ।

आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष महास्थवीरले मायादेवी मन्दिर परिसरमा दिप प्रज्ववलन र खिर दान गरेर बुद्धजयन्ती समारोहको शुभारम्भ गरेका थिए।

साथै लुम्बिनीमा २५ हजार विरूवा रोप्ने कामको पनि मुख्यमन्त्री पोखरेलले आज शुभारम्भ गरेका छन्।

लुम्बिनीमा रहेका सबै गुम्बा र बिहारको प्रतिनिधित्व हुनेगरी भिक्षु तथा भन्तेहरुको उपस्थितिमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओमार्फत् दिएका सन्देश र पर्यटनमन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश सुनाइएको थियो।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी गुरुयोजनाको काम पूरा गरी बृहत लुम्बिनी गुरुयोजनाको लागि सरकारले योजना बनाइरहेको बताए। उनले लुम्बिनीमा सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेकोले अर्को वर्षको बुद्ध जयन्तीमा उक्त सभाहलमै कार्यक्रम गर्न सकिने बताए। 

लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनीमा विभिन्न काम गर्नका लागि ४ अर्बको टेन्डर आह्वान गरिएको र अबको साढे २ बर्षभित्र गुरुयोजना अनुसारका ती काम सकिने बताए।

Copy link
Powered by Social Snap