२०८१ जेष्ठ ६

पोखरामा निषेधाज्ञामा थप कडाइ, ५ सय पैदलयात्री नियन्त्रणमा

कोरोना संक्रमण तीव्र बनेपछि कास्कीमा निषेधाज्ञामा थप कडाइ गरिएको छ । शनिबारदेखि जिल्ला प्रशासन कार्यलयले एक साताका लागि थप गरेको निषेधाज्ञामा केही परिवर्तन गर्दै कडाइ गरेको हो । 

निषेधाज्ञा थप गरेसँगै प्रशासनले पोखरामा अनावश्यक हिँडडुलमा कडाइ गरेको छ । 


Advertisement


उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी र श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खान बस्नका लागि व्यवस्था गर्न सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको छ । विभिन्न उद्योग धन्दा र निर्माण कार्यमा संलग्न मजदुरलाई आज पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेशका वारे र कोरोना संक्रमणको जोखिम लगायतका वारेमा सम्झाएर पठाइएको प्रहरीले जनाएको छ ।

पोखराका विभिन्न भागबाट निषेधाज्ञा उल्लंघन गर्ने ४९५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए । नियन्त्रणमा लिएकामा मध्ये ३७७ पुरुष र ११८ जना महिला रहेको उनले बताए । 

त्यसैगरी निषेधाज्ञामा बिना काम हिडेँका १ सय ९७ सवारी पनि नियन्त्रणमा लिइएको प्रवक्ता हमालले बताए । नियन्त्रणमा लिइएका सवारी मध्ये १ सय ५३ दुइपाङग्रे र ४४ चारपांग्रे सवारी रहेका छन् ।

निषेधाज्ञाको पालना गर्न गराउन कास्कीमा करिव ७०० प्रहरी परिचालन गरिएको हमालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्मको समय तोकेको छ । तोकिएको समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल र डिपार्टमेन्ट स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् । 

त्यस्तै खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्नु पर्ने छ । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न नपाउने प्रशासनले जनाएको छ ।ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं सङ्कलन केन्द्रमा पु¥याउन र बिक्री वितरण गर्न पाइने छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि बाहेक घर बाहिर निस्किन नपाइने उल्लेख छ । प्रशासनले सार्वजनिक एवं निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । 

निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

विबाह, व्रतबन्ध जस्ता कार्यका लागि होटल तथा पार्टी प्यालेस संचालनमा रोक लगाइएको छ । विवाह र व्रतबन्ध जस्ता कार्यक्रम घरमै गर्नु पर्ने र दश जनाभन्दा बढी उपस्थित हुन नपाइने प्रशासनले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न पाइने उल्लेख छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap