२०८१ बैशाख १४

दशरथ ग्रोसरीले कम मूल्यमा सामान निःशुल्क डेलिभरी गर्ने

यतिबेला दोस्रो लहरको कोरोना भाइरस फैलिएसँगै उपत्यकामा निषेधाज्ञा छ। अत्यावश्यक बाहेक गाडी ठप्प छन्। दैनिक उपभोग्य सामान किन्न बिहान १० बजेसम्म पसल खोल्न दिइएको छ।

पसल खुल्ने समय तोकिएकाले भिडभाड भई संक्रमण झनै बढ्ने देखिन्छ। यो समस्या मध्यनजर गरेर केही इ-कमर्स कम्पनीले खाद्यान्नको होम डेलिभरी गरिरहेका छन्।

कोभिड समयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले इ-कमर्स प्लेटफर्म ‘दशरथ ग्रोसरी’ ले भने सस्तो मूल्यमा निःशुल्क होम डेलिभरी गर्ने जनाएको छ। यो ‘अफर’ जेठ १ गतेदेखि २० गतेसम्म लागू गरिने ग्रोसरीका म्यानेजिङ डाइरेक्टर दशरथ खनालले जानकारी दिए।

‘हामी यो अवधिभर आफैंले तिरेको मूल्यमा उपभोक्तालाई निःशुल्क होम डेलिभरी गर्छौं,’ उनले भने, ‘पहिले ४ देखि ५ प्रतिशत नाफा राख्ने गरेका थियौं।’


Advertisement


उनका अनुसार यस कम्पनीले सिधै उद्योगबाट सामान ल्याउँछ। खाद्यान्न सामग्री उद्योग, वितरक, होलसेल र खुद्रा हुँदै उपभोक्तासम्म पुग्छ। यो श्रृंखला तोडेर उद्योगबाट सिधै सामान ल्याएर उपभोक्तालाई बेच्दै आएको उनले बताए।

कोभिड समयमा फाइदा नराखी सेवाभावले काम गरेको खनाल बताउँछन्, ‘कोभिडका बेला उपभोक्तालाई राहत होस् भनेर गरेका हौं।’

दशरथ खनाल

दशरथ ग्रोसरीका उपत्यकामा सात वटा आउटलेट सञ्चालनमा छन्- ग्वार्को, इमाडोल, सानागाउँ, लुभू, भैंसेपाटी, हरहर महादेव र जगातीमा। उपभोक्ताले यी सबै आउटलेटबाट सामान किन्न सक्छन्। तर कोरोनाकालमा आउटलेटभन्दा अनलाइनबाटै किन्न खनाल सुझाउँछन्।

‘जोखिम कम गर्नुका साथै उपभोक्तालाई राहत होस् भनेर हामीले अफर ल्याएका हौं। होम डेलिभरीलाई नै बढी प्राथमिकता दिन्छौं,’ उनले भने।

आउलेटबाट तीन किलोमिटर आसपासका उपभोक्ताले डेलिभरी सेवा पाउने छन्।

‘इ-कमर्समा डेलिभरी एकदमै असहज छ। कहीँ टाढाबाट अर्डर आयो भने पुर्‍याउन थप २०/२५ रूपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘अझै ग्राहकले सामान लिदिएनन् भने घाटामा गइन्छ। त्यसैले आउटलेट आसपासमा मात्रै सेवा दिँदै आएका छौं।’

ग्रोसरीबाट अर्डर गरिएका सामान ग्राहकलाई बाहिर स्थानीय बजारभन्दा महँगो परे फिर्ता गरिने पनि उनले बताए।

‘धेरै अघिको स्टक सामान भए मात्रै हो, नभए हामीकहाँ भन्दा स्थानीय बजारमा सस्तो हुने कुरै आउँदैन,’ उनले दावी गरे।

खनालका अनुसार कम्पनीले वेबसाइट बनाउँदैछ। हाल भने ग्राहकले आउटलेटमै फोन गरेर सामान अर्डर गर्नुपर्छ। आउटलेट अनुसार आसपास बस्ने ग्राहकले यी नम्बरमा फोन गरी सामान मगाउन सक्छन्।

  • ग्वार्कोः ९८६०२१२४२७
  • इमाडोलः ९८१३४९२१४८
  • सानागाउँः ९८४९३६०२७३
  • लुभूः ९८२८५५१६५९
  • भैंसेपाटीः ९८०८७६४३८४
  • हरहर महादेवः ९८४४४९०१२०
  • जगातीः ९८६९७६६८८२

आउटलेटमा चार सय हाराहारी दैनिक उपभोग्य सामान छन्। दशरथ ग्रोसरीबाट उपभोक्ताले खाना पकाउने ग्यास पनि अर्डर गर्न सक्नेछन्। ग्रोसरीले एभरेस्ट, सुगम, श्री, बाबा, र लुम्बिनी ग्याससँग सहकार्य गरेको छ। उपभोक्तासँग भएका नेपाल, सगर, चण्डी र तारा ग्यासका सिलिन्डर थप शुल्क नलिकन साटिने खनालले बताए।

तर ग्राहकले सामान अर्डर गर्दा कम्तीमा एक हजार रूपैयाँको गर्नु पर्नेछ। 

दशरथ ग्रोसरीले सन् २०१९ नोभेम्बरबाटै होम डेलिभरी सेवा दिँदै आएको हो। म्यानेजिङ डाइरेक्टर खनालले पढाइ सिलसिलामा बैंगलोर हुँदै ग्रोसरी खोल्ने योजना बुनेका थिए। सन् २०१७ मेमा नेपाल आएपछि उनले दिदीको किराना पसल नियाले। कुनै बेला सामान आउने, कुनै बेला नआउने, आए पनि हरेक पटक भाउ बढेर आउने समस्या देखे।

‘यसको कसरी समाधान गर्न सकिन्छ भनेर ग्रोसरी बिजनेसको आइडिया सोचेँ। अनि आएको केही दिनमै भैरहवा, विराटनगर लगायत ठूला मिलमा गएर बुझेँ। कतिले त हाम्रो कुरै नसुनी गेटबाटै फर्काइदिन्थे,’ उनले काम गर्दाका समस्या सुनाए, ‘पछि हाम्रो बिजनेस मोडल यो हो, हामी नगद कारोबार गर्छौं भनेपछि सामान दिन सहमत भए।’

सामान भएपछि उनले परिवारको सहयोगमा २० लाख रूपैयाँ लगानी गरी इमाडोल र सानागाउँमा आउटलेट खोले। आउटलेटबारे प्रचार गर्न पर्चा बनाएर घरघरै, चोकचोकै बाँडे। कहिले ग्राहकलाई नमूनाका रूपमा केही सामान निःशुल्क दिए।

‘अहिले आउटलेट आसपासका उपोभोक्तालाई यहाँ सस्तो र गुणस्तरीय सामान पाइन्छ भनेर बुझाउन सफल भएका छौं,’ खनालले भने। हाल सञ्चालित सात आउटलेटमध्ये तीन वटामा उनको आफ्नै लगानी छ। बाँकी तेस्रो पक्षले चलाएको छ।

ठाउँ खोज्ने, आउटले बनाइदिने, सामान व्यवस्थापन गरिदिने काम ग्रोसरीले गर्छ। लगानी र सामान बेच्ने काम भने सञ्चालनकर्ताले गर्नुपर्छ।

खनालको ५० वटा आउटलेट पुर्‍याउने योजना थियो। तर तत्काल कोरोनाका कारण सफल भएन। महामारी समस्या समाधान भएपछि विस्तारै आउटलेट बढाउँदै लैजाने उनले सोचेका छन्।

Copy link
Powered by Social Snap