२०८१ बैशाख २२

भट्टराई-यादव पक्षले जसपा कार्यकारिणी समिति बैठक बोलायो

जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ।

राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जसपाका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राइले सेतोपाटीलाई जानकारी दिए।

‘आज अनौपचारिक बैठक बोलाइएको हो। बैठकमा अहिलेका घटनाक्रमबारे छलफल हुन्छ,’ उनले भने, ‘पार्टीका केही साथीले विधान विपरित गतिविधि भएको भन्ने सुन्नमा आएको छ त्यसबारेमा समेत छलफल हुन्छ।’


Advertisement


बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए।

भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन्। भेलामा १८ जना सांसद रहेको ठाकुर-महतो पक्षको दाबी छ।

यस्तै आजको बैठकबारे आफूहरूलाई जानकारी नभएको ठाकुर-महतो निकट जसपा कार्यकारिणी सदस्य केशव झाले बताए।

जसपाको कार्यकारिणी समितिमा ५१ जना छन्। ती मध्ये रेशम चौधरी जेलमा छन्। कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग बहुमत छ।

भट्टराई-यादव पक्षले आफूहरूसँग ३० जना भन्दा बढि रहेको दाबी गर्दै आएको छ। ठाकुर-महतो पक्षले समेत भट्टराई-यादवसँग सामान्य बहुमत रहेको स्वीकार्दै आएको छ।

Copy link
Powered by Social Snap