२०७८ असार ८
Advertisement

.

Advertisement

संसारकै पहिलो साइन्स फिक्सन फिल्म, हेर्नुहोस् युट्युबमा

फुर्सदमा सिनेमा

गोलाकार मानव आकृतिको चन्द्रमा र त्यो चन्द्रमाको आँखा छेडेर विमान प्रवेश गरिरहेको चित्र। यो सिनेमाको दुनियाँको एउटा प्रभावशाली चित्र हो। एक सय बीस वर्ष पुरानो यो चित्र संसारका थुप्रै फिल्म कलेज, थिएटर र चित्रकला प्रदर्शनीमा आज पनि देख्न पाइन्छ।

सिनेमा इतिहासको कथा र सिनेमाको जादुमयी शक्ति सम्झाउने यो चित्र सन् १९०२ को साइलेन्ट फिल्म ‘अ ट्रिप टु द मून (ले भोयाज दान्स ला ल्युन)’ को हो। ‘अ ट्रिप टु द मून’ संसारकै पहिलो साइन्स फिक्सन र सिनेमाको इतिहासकै महत्वपूर्ण फिल्म पनि मानिन्छ।

यो त्यो समयको कुरा हो जुनबेला सिनेमामा कल्पना, कथा, स्पेसल इफेक्ट वा सम्पादनको कल्पना गरिएको थिएन। न त चन्द्रमामा विमान नै पुगेको थियो।

छ खगोलशास्त्रीहरुले चन्द्रमा यात्राको योजना बुनेको सन्दर्भबाट ‘अ ट्रिप टु द मून’ को कथाको सुरू हुन्छ। उनीहरू मिलेर बन्दुकको गोली आकारको अन्तरिक्ष यान तयार गर्छन्। तोपमा राखेर, समुद्री तटका सुरक्षाकर्मीको सहयोग लिएर उडेको त्यो यान चन्द्रमाको आँखामा ठोक्किन्छ।


Advertisement


विमान चन्द्रलोक पुगेपछि ताराभित्रबाट चिहाइरहेका मान्छेका अनुहार देखिन्छन्।

चन्द्रमामा केही बेर थकाइ मार्दा-नमार्दै खगोलशास्त्रीहरूले हिमपातको सामना गर्दै, एलियनसँग लड्दै-भिड्दै रोमाञ्चक यात्राको अनुभव लिन्छन्।

मेलियसले लेखक जुल्स भर्नको ‘अर्थ टु द मून’ र ‘अराउन्ड द मून’मा आधारित भई फिल्मको कथा लेखेका थिए।

बीसौं शताब्दीको सुरूआती समयका धेरै फिल्म सम्पादन नगरिएका, दैनिक जीवनका सामान्य गतिविधि समेटिएका हुन्थे। मेलियसले पनि पेरिस सहरको दैनिकी खिच्दै फिल्म बनाउन सिके।

एकदिन उनीबाट एउटा गल्ती भयो। फिल्म खिच्दै गर्दा दुर्घटनावश उनको क्यामराले काम गरेन। उनले खिचिरहेको दृश्यमा अवरोध आयो। यसपछि उनले फेरि फिल्म खिच्ने क्रममा थाहा पाए, त्यो अवरोधका बावजुद कथाको निरन्तरता भंग नहुने रहेछ।

समयान्तर हुँदा पनि फरक फरक दृश्यले उही कथा भन्ने रहेछ। रंगमञ्च र जादु पृष्ठभूमि भएका मेलियसलाई यो नयाँ कुराले ताज्जुब बनायो।

यसपछि उनले आफ्नो जादुयी ज्ञानको प्रयोग गरेर सिनेम्याटिक स्पेसल इफेक्टहरू निकाले। उनको यो प्रयोग अ ट्रिप टु द मून र त्यसपछिका फिल्ममा देख्न पाइन्छ।

सन् १८९५ डिसेम्बर २८ पेरिसको ग्रान्ड द क्याफेमा विश्वकै पहिलो सार्वजनिक सिनेमा प्रदर्शनी भएको थियो। लुमियर दाजुभाइद्वारा खिचिएका दस छोटा फिल्म प्रदर्शन गरिएका थिए।

तीमध्ये ‘वर्कर्स लिभिङ द लुमियर फ्याक्ट्री’ लगायत मान्छेका दैनिक र सार्वजनिक गतिविधि कैद गरिएका वास्तविक वृत्तचित्रहरू थिए। तिनमा कल्पना वा कथा तत्व थिएन। सिनेमाटोग्राफले मोसन पिक्चर रेकर्ड र डेपलभ गर्न सम्भव बनाएको थियो।  

यो प्रदर्शनी हेर्नेमध्ये एक जर्ज मेलियस पनि थिए। सिनेमाटोमेटोग्राफ प्रविधिको माध्यमबाट खिचिएका फिल्म हेरेपछि जादुगर मेलियस सिनेमाको जादुबाट विशेष प्रभावित भए। उनले त्यसमा अपार सम्भावना पनि देखे।

भनिन्छ, लुमियर दाजुभाइसँग उनले सिनेमाटोग्राफर किन्न इच्छा देखाए तर उनको अनुरोध अस्वीकार भयो। त्यसपछि उनले अरूको सहयोग लिएर फिल्म खिच्ने प्रविधि जुगाड गरे।

सन् १८९६ देखि १९१३ को अवधिबीच करिब ५०० फिल्म बनाएका मेलियसको अ ट्रिप टु द मून सबैभन्दा चर्चित फिल्म हो। उनी यस फिल्मका निर्माता पनि हुन्। यसबाहेक उनका ‘अराउन्ड द मून’, ‘इम्पोसिबल भोयज’, ‘द किङडम अफ फेरिज’ आदि फिल्म चर्चित छन्। हास्यव्यंग्य, विज्ञान, जादुटुना, मेलोड्रामालगायत उनले धेरै फिल्म बनाएका छन्।

आजको समयमा सिनेमाका जादुगर भनेर चिनिए पनि मेलियसको आफ्नै जीवन कथा भने सुखद छैन। फिल्ममा उनले भित्र्याएका नयाँ शैलीबाहेक उनका फिल्मका प्रतिलिपि पनि युरोप र अमेरिकामा चोरी भएको थियो। आर्थिक संकटका कारण उनी यति निराश भए कि नेगेटिभसहित आफ्ना फिल्मका सामग्रीहरू जलाए।

सिनेमाका जादुगर मेलियसको योगदान र उनको जीवनबारे चर्चित हलिउड निर्देशक मार्टिन स्कोर्सेजीले बनाएका ‘ह्युगो’ फिल्म बनाएका छन्, जसलाई स्कोर्सेजीले मेलियसप्रतिको सम्मान भनेका छन्।

Copy link