२०८१ बैशाख १४

प्रतिनिधि सभा बैठक : कोरोना संक्रमित सांसदलाई टेन्टमा राखिने, भोट हाल्न छुट्टै हल

प्रधानमन्त्री केपी शर्मा ओली माथि विश्वास छ/छैन भन्ने प्रस्तावमा प्रतिनिधि सभामा भोली नै मतदान हुने भएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार भोली नै विश्वासको मतबारे निर्णय हुनेछ। कोरोना संक्रमणको अवस्था रहेकाले छलफलको समय छोट्याइएको उनले बताए। प्रधानमन्त्रीले वकत्व्य दिएपछि जम्मा १ घण्टा मात्र संसदमा छलफल हुने भएको छ। उक्त एक घण्टामा दलीय आधारमा समय विभाजन गरिएको छ। छलफलपछि प्रधानमन्त्रीले जवाफ दिनेछन्।


Advertisement


मतदानका लागि झण्डै २ घण्टाको समय लाग्ने संसद सचिवालयको अनुमान छ। सचिवालयले कोरोना संक्रमित सांसदहरुलाई प्रतिनिधि सभा भवनकै अर्को हलमा मतदानको व्यवस्था मिलाएको छ। ‘संक्रमित सांसदहरुका लागि प्रतिनिधि सभा बाहिर टेन्टमा खुल्ला स्थानमा राख्ने व्यवस्था मिलाइएको छ’, योगीले भने, ‘संक्रिमत सांसदहरुलाई हावा जाने खुल्ला स्थानमा बस्ने व्यवस्था मिलाइने छ।‘

प्रधानमन्त्री माथिको विश्वास छ छैन भन्ने मतको विभाजन सांसदहरुले हस्ताक्षर गरेर दिनेछन्। 

‘हुन्छ र हुन्न र मत दिन्न भन्ने व्यवस्था मतपत्रमा हुनेछ’, योगीले भने, ‘भोली नै टुङ्गो लगाउने सहमति कार्यव्यवस्था परामर्श समितिमा जुटेको छ।‘

प्रतिनिधि सभामा हाल २७१ सांसद छन्। प्रधानमन्त्री ओलीलाई पदमा कायम रहन १३६ मत आवश्यक हुन्छ। जनता समाजवादी पार्टीले आफ्ना सांसदहरुलाई विश्वासको मत दिने वा निदिने निर्णय गर्न स्वतन्त्र छाडेको छ। नेकपा एमालेका माधव नेपाल पक्षका सांसदहरुले आज सभामुख अग्नि सापकोटालाई राजीनामा दिने तयारी गरेपनि अन्तिम समयमा रोकिएको छ। रातभरीमा एमालेको केपी शर्मा ओली र माधव नेपाल पक्षबीच सुलह नभए भोली नै उनीहरुको राजीनामा आउने सम्भावना छ। माधव नेपाल पक्षका २० सांसदहरुले राजीनामा दिए प्रतिनिधि सभाको आकार खुम्चने छ। आकार खुम्चिएको अवस्थामा विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनको सम्भावना छ। 

Copy link
Powered by Social Snap