२०८१ बैशाख ८

पाँच वर्षकै उमेरमा बलात्कृत भएपछि अस्पतालमा छटपटाउँदै बालिका (पूरा भित्र)

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको बालरोग कक्षभित्र जनरल वार्डभित्र बेड नं ९१४ मा छट्पटाइरहेकी ५ वर्षीया बालिका निर्मला मल्लाह (नाम परिवर्तन) को जीवन कोपिलामै चुडिएको छ । दाइने गालामा धारिलो हतियारले छाला र मासु निकालेजस्तो गहिरो चोट छ । देब्रे आँखाको तल्लो भाग काटिएको छ । उनी देब्रे आँखा खोलेर हेर्न सक्दिनन् । घाँटीमा गहिरो निलो दाग छ । ओठको माथिल्लो भागको एउटा चोक्टा नै निकालिएको छ । योनाङ्गमा गहिरो घाउ लागेको छ । अनुहार पूरै सुन्निएको छ । दिशा पिसाबका लागि कोखाबाट पाइप लगाइएको छ । 

निर्मला रुपन्देहीको तिलोत्तमा–१५ स्थानीय बासिन्दा हुन् । स्थानीय विद्यालयमा कक्षा एकमा पढ्दै गरेकी उनी माघ १ गते बलात्कारको शिकार भइन् । घर नजिकै हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्दै आएका कपिलवस्तु बाणगंगा–१२ का २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले घटनास्थलबाट नै पक्राउ गर्यो ।  पसलमा सामान किन्न गएकी बालिकालाई बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।  


Advertisement


यसरी भएको थियो घटनाः 
घटना माघ १ गतेको हो । साँझ ५ बजेतिर बजैको लागि सामान किन्न पसल गएकी निर्मला ५ः३५ सम्म घर फर्किनन् । उनी घर नफर्किएपछि उनका पिता मेजर मल्लाह लगायत उनको खोजीमा निस्किए । आफन्त र साथीभाईको घर र गाउँमा खोजतलास गर्दा उनी भेटिइनन् । उनका पिता भन्छन्, ‘पसल नजिकैबाट निर्मलालाई बिकले काखमा लिएर गएको देखेका १४ वर्षीय बालकले सुनाएपछि हामी हिरालाल मल्लाहको घर गयौँ ।’ तर, त्यहाँ मेजरले हिरालालको घरमा विकलाई नुहाईधुवाई गरेर आगो तापेर बसिरहेको अवस्थामा देखे । उनका अनुसार हिरालाल र विकले पीडित निर्मलालाई नदेखेको भन्दै नजिक नआउन धम्की दिए । 

त्यसपछि मेजरलगायत गाउँका केही व्यक्ति सोही १४ वर्षीय बालकको भनाईअनुसार निर्मलालाई लिएर गएको झाडीतिर गए । त्यहाँ उनीहरुले निर्मलाको विभत्स रुप देखे । रगताम्य अवस्थामा कपाल फिजारिएको र शरीरभरी चोट नै चोट लागेको अवस्थामा भेटिएकी निर्मलाले सानो स्वरमा ‘हजूर बाबा म यहाँ छु’ भनिन् । उनका पिताले कसले यस्तो गरेको भनेर सोध्दा ‘विकले’ भनेर जवाफ दिएकी उनका पिताले बताए । त्यसपछि बालिकालाई उठाएर लैँजादै गर्दा निर्मला पुनः बेहोस बनिन् । 

घटना भएको स्मरण गर्दै उनका एक आफन्त दाई भन्छन्, ‘निर्मलालाई भेटेपछि हामी फेरि हिरालालको घर गयौँ । हिरालालले बलात्कारी विकलाई भगाइसकेको रहेछ ।’ घटनास्थलमा जम्मा भएका गाउँलेले विकलाई खोज्दै जाँदा ट्वाइलेटमा फेला पारेको उनी बताउँछन् । 

घटनास्थलको स्मरण गर्दै अस्पतालमा पीडित बालिकासँगै काठमाडौँ आएका उनका आफन्त राम मल्लाहले (नाम परिवर्तित)ले भने, ‘बच्चीलाई बलात्कारपछि मरेको भन्ने ठानेर गाड्नको लागि खाडल समेत खनेको रहेछ ।’ बालिकाको खोजीपछि विकले पुनः बालिकाको हत्या गर्न चक्कु बोकेर घटनास्थलतर्फ जाँदै गर्दा खोजीमा संलग्नको आवाज सुनेर विक भागेको उनी बताउँछन् । 

बालिकाको अवस्था 

उनका पिताले घटनास्थलबाट उठाएर उनलाई तत्कालै भैरहवास्थित मेडिकल कलेज पुर्याए । त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल पठाइयो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई शिक्षण अस्पताल ल्याइएको हो ।  उपचारमा संलग्न डाक्टरको भनाई उदृत गर्दै उनका पिता भन्छन्, ‘बच्चीको यौनाङ्को शल्यक्रिया भएको छ । अब उनी कहिल्यै आमा बन्न सक्दिनन् । पापीले मेरो छोरीको जीवन बर्बाद पारिदियो ।’ शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार बालिकाको शल्यक्रियापछि अवस्था सुधारोन्मुख रहेको छ । 

उपचारमा आर्थिक अभाव 

सामान्य मजदुरी गरेर पेट पाल्दै आएका पिता मेजर मल्लाहले अहिलेसम्म डेढ लाख खर्च भइसकेको बताएका छन् । निर्मला उनकी साइली छोरी हुन् । अन्य तीन छोरीहरुको समेत लालनपालन गर्नुपर्ने मेजरले छोरी निर्मलाको उपचारका कारण आर्थिक भार समेत खेप्न धौ–धौ भइरहेको बताए । काखमा एक वर्षकी सबैभन्दा कान्छी छोरी च्यापेर शिक्षण अस्पतालको चक्कर लगाइरहेका उनी छोरीलाई न्यायको माग गरिरहेका छन् ।
विगत ८ दिनदेखि अस्पतालको चक्कर लगाइरहेका निर्मलाका पिताले उपचारको खर्च व्यहोर्न समस्या पर्दै गएको दुःखेसो गरे । 

निर्मलाका अर्का आफन्त (दाई पर्ने)का अनुसार विक यसअघि पनि पटकपटक महिला, बालबालिकालाई जिस्क्याउने संवेदनशील अंगमा हात लगाउने र रक्सी खाएर अश्लील शब्द बोल्ने गरेको र गाउँलेले कारबाही गर्न खोज्दा उनका मालिक हिरालाल मल्लाहले उनका क्रियाकलापहरुको ढाकछोप गर्दै आएका थिए । 

एसपी पोखरेलले यस घटनामा थप अनुसन्धान भइरहेको बताए । अभियुक्त विकले बलात्कारपछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ ।  नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्ने अपराधीलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग परिवार र आफन्तले गरेका छन् ।  बालिकाका आफन्त र गाउँलेले अभियुक्तलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा केहीबेर धर्नासमेत दिएका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap