२०८३ कार्तिक १२

चीन, रूस र अक्सफोर्डले बनाइरहेका भ्याक्सिनको तेस्राे चरणकाे परीक्षण नेपालमा पनि गर्ने तयारी


कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ।

परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए।

उनले पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए।

‘चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,’ ज्ञवालीले भने।

उनले चीनको ‘होङ्सी ग्रुप’ पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए।

ज्ञवालीले भने, ‘उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनुभएको छ। तर हामी त्यसलाई अध्ययन गरेर अनुमति दिने कुरा टुंगो गर्छौं।’

अन्य कम्पनीहरू पनि क्लिनिकल ट्रायलका लागि आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने परिषद्को तयारी छ।

ज्ञवाली भन्छन्, ‘कम्पनीहरू इच्छुक हुनु भएन भने पनि परिषद्ले नै क्लिनिकल ट्रायललगायत अनुसन्धान अगाडि बढाउँछ।’

उनले त्यसका लागि अक्सफोर्ड ग्रुपसँग प्रारम्भिक कुराकानी पनि भएको बताए।

‘हामीले विश्व स्वास्थ्य संगठनमार्फत अक्सफोर्डसँग पनि कुरा गरेका छौं। यो साता ठोस कुरा थाहा हुन्छ’ उनले भने, ‘उहाँहरूले अनुसन्धानको लागि भनेर खोप उपलब्ध गराउने वा नेपालले खरिद गर्नुपर्ने कुरा चाहिँ टुंगो लागेको छैन।’

उनले सम्बन्धित दूतावासमार्फत चीन र रूससँग पनि खोपका लागि कुरा भइरहेको जनाए।

रूसले कोरोनाविरुद्धको खोप चाँडै नै बजारमा आउने दाबी गरेको छ। यीबाहेक अन्य शक्ति राष्ट्रहरूसमेत कोरोनाविरुद्धको खोप बनाउन दिनरात लागिरहेका छन्।

भारतले पनि कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल गरिरहेको छ।

नेपालमा भने यो खोप कति जनामा परीक्षण गर्ने भन्ने टुंगो भएको छैन। त्यसका लागि परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ।

ज्ञवाली भन्छन्, ‘कतिजना व्यक्तिलाई खोप दिने भन्ने टुंगो छैन। तर परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ। अब खोप आएपछि डिजाइनकै आधारमा प्रयोग हुन्छ।’

पछिल्लो समय परिषद्ले कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधीको प्रभावकारिताबारे पनि अनुसन्धान गरिरहेको छ। ज्ञवालीले केही दिनमै संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्न लागिएको बताए।

उनले अनुसन्धानकै चरणमा रहेकाले सुरूमा यो तोकिएका अस्पताल र चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र संक्रमितको उपचारमा प्रयोग गर्न पाइने जनाए।

साथै प्रयोगपछि संक्रमितमा देखिएको क्लिनिकल सुधार र नकारात्मक असरबारे परिषद् र स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने भनिएको छ। यो औषधीले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएको छ।

जसका कारण संक्रमितको अस्पताल बसाइ कम हुने भनिएको छ। कोरोना संक्रमणसँग लडिरहेका विभिन्न मुलुकहरूले यसको प्रयोग गरिरहेको छ। भारतमा पनि यसको प्रयोग गरिएको र त्यसमा सकारात्मक सुधार देखिएको बताइएको छ।

बेलायती पत्रिका द गार्डियनले राखेको ट्रयाकअनुसार अहिलेसम्म विभिन्न देशका १ सय ८५ वटा भ्याक्सिन विभिन्न चरणमा रहेका छन्। तीमध्ये  १३८ वटा प्रि-क्लिनिकल चरण छन् भने २५ वटा पहिलो फेजमा छन्, १५ वटाको दोस्रो चरणको परीक्षण भइरहेको छ भने ७ वटा तेस्रो चरणको परीक्षणमा छन्। अहिलेसम्म संसारका कुनै पनि देशले  यी सबै चरण पार गरेर भ्याक्सिन स्वीकृत गरिसकेका छैनन्। 

रूसले भने तेस्रो चरणको परीक्षणबिनै आफ्नो भ्याक्सिनलाई स्वीकृत गरिदिएको छ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap