२०८१ बैशाख १३

९०% सम्म प्रभावकारी कोरोना भाइरस विरुद्धको खोप

लन्डन — कोभिडविरुद्ध विकास भइरहेको एउटा खोपले सकारात्मक नतिजा दिएको छ । अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजरले आफूहरूले कोभिड– १९ संक्रमण रोक्न सक्ने प्रभावकारी खोप विकास गरेको जनाएको छ ।

विश्वभर कोभिड–१९ संक्रमितको संख्या ५ करोड नाघेकै दिन सोमबार यो समाचार सार्वजनिक भएको हो । उक्त खोपले ९० प्रतिशत मानिसलाई संक्रमित हुनबाट बचाउने एक प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त खोप ६ वटा मुलुकका ४३ हजार ५ सय मानिसमा परीक्षण गर्दा स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको बताइएको छ । कम्पनीले यसै महिनाको अन्त्यसम्ममा आपत्कालीन प्रयोगका लागि स्वीकृति लिने तयारी गरेको बीबीसीले जनाएको छ ।

हाल विश्वभर करिब दुई दर्जन खोप अन्तिम अर्थात् तेस्रो चरणमा पुगेका छन् तर सकारात्मक परिणाम देखाउने यो खोप पहिलो भएको निर्माणकर्ताको दाबी छ । तीन महिनाको अन्तरमा दुइटा डोज आवश्यक पर्ने र दोस्रो डोजको एक सातापछि मानिस सुरक्षित रहने समाचारमा उल्लेख छ । अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा खोप परीक्षण गरिएको थियो । फाइजर कम्पनीले यस वर्षको अन्त्यसम्ममा ५ करोड डोज भ्याक्सिन वितरण गर्ने गरी काम भइरहेको जनाएको छ । खोपलाई माइनस ८० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएकाले त्यसको ओसारपसारमा चुनौती हुन सक्ने जानकारहरू बताउँछन् ।


Advertisement


फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्ति यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘कोभिड-१९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध प्रभावकारी हुन सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक जनस्वास्थ्यविद् डा. पदम सिम्खडा यसलाई खोप विकासमा ठूलो सफलता मान्छन् । उनले यसका चुनौती पनि रहेको बताए । ‘खोपले कतिन्जेल एन्टिबडी सक्रिय राख्छ भन्ने मुख्य कुरा हो,’ सिम्खडाले कान्तिपुरसँग भने, ‘अहिले यो सानो स्केलमा परीक्षण भएकाले बृहत् गर्दा कस्तो प्रतिक्रिया आउँछ, हेर्नुपर्ने हुन्छ ।’

बेलायतस्थित अर्का जनस्वास्थ्यविद् डा. विभु पौड्याल अन्तिम परिणाम आउन बाँकी रहे पनि यो प्रारम्भिक नतिजाले आशाको किरण जगाएको बताउँछन् । यसको प्रतिरोधात्मक क्षमता कहिलेसम्म रहन्छ, त्यो अहिले नै भन्न नसकिने भएकाले धेरै विश्वस्त भइहाल्न नहुने उनको धारणा छ ।

फाइजर कम्पनीले यस वर्षको अन्त्यसम्ममा ५० मिलियन डोज र सन् २०२१ को अन्त्यसम्ममा १.३ बिलियन डोज भ्याक्सिन उपलब्ध गराउने विश्वास लिएको छ । बेलायतले उक्त खोपको ३ करोड डोज अर्डर गरिसकेको छ । फाइजरका अध्यक्ष डा. अल्बर्ट बोर्लाले विश्वभर फैलिएको स्वास्थ्य समस्या अन्त्य र मानिसलाई अति आवश्यक खोप उपलब्ध गराउन सफलतानजिक पुगेको बताएका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap