२०८३ कार्तिक १२

सात वर्ष बित्दा पनि पुल जस्ताको तेस्तै

छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।

सडक विभाग र आइएमइरआरसी कन्सलटेन्सी, ललितपुरको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाडबाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुकाम खलङ्गासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्लाभरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको यात्रुको भनाइ छ ।


Advertisement


पुल नहुँदा बर्सेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । रु तीन करोड लागतको पुल निर्माणका लागि सात वर्षअघि लुम्बिनी र आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थिए । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

परामर्शदाता कम्पनी आइएमइरआरसी कन्सलटेन्सीलाई रु सात लाखमा पुल डिजाइनको जिम्मा दिइएको थियो । अख्तियारी नहुँदा कम्पनीलाई कारवाही गर्न नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताए । “पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा पुल निर्माणमा समस्या भयो”, उनले भने, “परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ, तर यहाँ २५ मिटरभन्दा बढी पुल बनाउने ठाउँ छैन ।”

छ वर्षअघि निर्माण कम्पनीले साइट हेर्ने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो । सडक विभागले उक्त डिजाइन रद्द गरी नयाँ डिजाइन ठेकेदार कम्पनीलाई दिएको छ । “नयाँ डिजाइन स्वीकृत भए पनि पुरानो दररेटअनुसार पुल निर्माण गर्न नसक्ने भन्दै ठेकेदारले काम अघि बढाएको छैन”, डिभिजन प्रमुख भट्टले भने, “अब वर्षा सकिएलगत्तै काम अघि नबढाए ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान गरिनेछ ।” नयाँ डिजाइनअनुसार करिब रु तीन करोड लगानीमा २५ मिटरको पुल बन्ने उनले बताए ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap