२०८० चैत्र १६

पोखरामा मात्रै १०१ संक्रमित थपिए, गण्डकीमा थप चार जनाको निधन

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा  निधन भएको हो  । मृतकमा गत ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा अन्य दीर्घ रोगको समस्या पनि जनाइएको छ ।अहिले उनको शब व्यबस्थापनको तयारी भइरहेको छ ।

यस्तै, अर्का मृतक नवलपुरको गैंडाकोट–५ का रहेका छन् । ७३ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति चितवन मेडिकल कलेज, चितवनमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो  । गत ५ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो  ।


Advertisement


अर्का मृतक पनि नवलपुरकै रहेका छन्  । कावासोती–२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल, नवलपुरमा उपचारका क्रममा निधन भएको छ  । गत ३ गते उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो  ।

यसैगरी, पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय कोरोना संक्रमित महिलाको गए राति ११ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ । ८ गते उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । मृतकहरुको शव व्यवस्थापनको तयारी भै रहेको छ ।

निर्देशनालयको विज्ञप्ती अनुसार पोखरामा मात्रै १०१ संक्रमित थपिएका छन् । ट्राफिक कार्यालयका १३ र वडा कार्यालयका बगरका ३१ प्रहरी सहित १०१ जना संक्रमित थपिएका हुन् । संक्रमित सबै कन्ट्याक्ट् ट्रेसिङबाट पहिचान भएका हुन् । पछिल्लो विवरण अनुसार गण्डकीमा संक्रमितको कुल संख्या ६७११ छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap