२०८१ बैशाख १४

सुदूरपश्चिम प्रदेश प्रहरीले ल्यायो दसैं लक्षित विशेष सुरक्षा योजना, कुकुरसहित गस्ती

साभार: रातोपाटी

काठमाडौँ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल डोटीले नजिकिएको चाडबाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित हत्या, अपहरण, ठगी, चोरी, डकैती, पटाका लगायतका विस्फोटक पदार्थ, महिला हिंसालगायत घटनालाई घट्न नदिन छुट्टाछुट्टै विशेष प्रहरी टोली तयार गरेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले विशेष सुरक्षा योजना कार्यक्रम आइतबारबाट प्रदेशका ९ वटै जिल्लामा लागू हुने बताए । शान्ति सुरक्षाको भरपर्दो व्यवस्थापनका साथै कुनै अप्रिय घटना एवं दुर्घटनारहित चाडपर्व मनाउन डीआईजी सुवेदीले आग्रह समेत गरे ।

वर्तमान समयमा विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणले समग्र विश्व नै आक्रान्त बनिरहेको अवस्थामा संक्रमणलाई समुदायस्तरमा थप फैलनबाट रोक्न समेत त्यत्तिकै चुनौती रहेको सुवेदीको भनाइ छ । सुरक्षा योजना अन्तर्गत चाडपर्वको समयमा समाजमा हुने सामाजिक विकृतिदेखि समाजमा घट्नसक्ने सम्भाव्य जघन्य अपराधको न्युनिकरणका लागि विशेष टोली स्ट्यान्डबाई राखिएको सुवेदीले बताए ।

सुदूरपश्चिम प्रदेशमा विशेष सुरक्षा योजना कार्यान्वयन गर्नका लागि ५ हजार ५० जना प्रहरी परिचालन गरिएको छ । यस्तै, दंगा नियन्त्रण गण कञ्चनपुर, सशस्त्र प्रहरी गण धनगढी र प्रहरी गुल्म दिपायलमा गरी सात सय १४ जना प्रहरीलाई स्ट्यान्डबाई राखिएको प्रदेश प्रहरी प्रमुख सुवेदीले बताए ।


Advertisement


प्रदेशभरी ७८ जना सादा पोसाकका प्रहरी कर्मचारीहरु परिचालन हुने सूदूरपश्चिम प्रदेशका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए । सिंहका अनुसार बैंक तथा वित्तिय संस्थाहरु र सुनचाँदीको कारोबार हुने स्थानलाई मात्र लक्षित गरी प्रदेशभरी १३३ जना प्रहरी परिचालन गरिएको छ ।

त्यसैगरी दुर्घटना न्यूनीकरण लागि २०८ जना प्रहरी कर्मचारीहरु विभिन्न स्थानहरु खटिनेछन् । यात्रुलगायत समस्यामा परेका व्यक्तिहरुको सहजीकरणका लागि ४० ठाउँमा ‘हेल्प डेस्क’को स्थापना गरिएको सिंहले रातोपाटीसँग भने । स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउने रणनीति सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लिएको एसएसपी सिंहले बताए ।

विशेष सुरक्षाका लागि तालिम प्राप्त कुकुर परिचालन, सीमानाकामा चेकजाँचको व्यवस्था र उपभोग्य सामाग्रीहरुको कालोबजारी हुन नदिन प्रभावकारी अनुगमन हुनेछ । चोरी÷डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन डीएसपी र इन्सपेक्टरको कमान्डमा टोली बनाई र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा तत्काल प्रदेश प्रहरी प्रमुखलाई खबर गर्न आग्रह पनि गरेको छ ।

Copy link
Powered by Social Snap