२०८० चैत्र १६

ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ : गगन थापा

साभार: रातोपाटी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको बताएका छन् ।

पछिल्लो समय कोरोना संक्रमितलाई जटिलता हुँदा आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले समयमै नसोचेको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाको भनाइ छ ।

विहीबार ट्वीटरमा थापाले लेखेका छन्, ‘एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ। केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।’ 


Advertisement


समय, स्रोत, सहयोग सबै हुँदा पनि प्रधानमन्त्री ओलीको सोच र शैलीको कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको उनको बुझाइ छ । 

‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्री ज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन।समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ,’  थापाले लेखेका छन् ।

थापाले अहिले पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नभएको भन्दै अहिले मन्त्रीमण्डल भागबन्डा भन्दा संकटबारे छलफल गर्न आग्रह गरे । ‘योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन। अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन,संकटबारे छलफल गर्नुस्।बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्,’ थापको  आग्रह छ ।  

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि थापाले कोभिड विरुद्धको लडाइँमा आफूहरुले साथ दिन चाहेको भन्दै प्रधानमन्त्रीलाई मेसन गरी केही त गर्न आग्रह गरे ।

Copy link
Powered by Social Snap