२०८१ बैशाख १३

प्रदेश ५ : भालुवाङ क्षेत्रलाई राजधानी बनाउने विषयमा १२ मध्ये ७ जिल्लाबाट काँग्रेसको समर्थन

साभार: रातोपाटी

गुल्मी । प्रदेश ५ का १२ जिल्लामध्ये ७  जिल्लाबाट प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले दाङको भालुवाङ क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावको समर्थन गरेको छ ।

रुपन्देही, नवलपरासी, पाल्पा र गुल्मीका काँग्रेस नेता तथा कार्यकर्ताहरु प्रदेश राजधानी बुटवलबाट सार्ने निर्णयको विरोधमा उत्रिरहँदा सोही पार्टीका ७ जिल्ला सभापति भने भालुवाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्तावको समर्थनमा उत्रिएका हुन् ।

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का भूगोलका हिसाबले दाङमा राजधानी राख्नु उचित मान्छन् ।

पूर्वीरुकुमका काँग्रेस सभापति केशरमान रोका पनि दाङलाई राजधानी बनाउने निर्णय स्वागतयोग्य रहेको बताउँँछन् । ‘पाल्पा र नवलपरासीका जनतालाई भालुवाङ राजधानी अलि टाढै पर्ला,’ उनले भने, ‘पूर्वी रुकुम र बर्दियाका जनतालाई हेर्ने हो भने दाङ सबैका लागि केन्द्रविन्दु हो ।’

नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनले पार्टी र व्यक्ति केन्द्रित नहुने हो भने प्रदेश ५ को राजधानीका लागि सबैभन्दा उत्तम थलो दाङ नै भएको ठोकुवा गरे । प्रदेश ५ का दुई जिल्लाबाहेक १० जिल्लाका लागि सबैभन्दा पायक पर्ने थलो भनेकै भालुवाङ रहेको उनको जिकिर छ ।

नेपाली काँग्रेस प्युठानका सभापति अमर भण्डारी पनि पाल्पा बाहेक गुल्मी अर्घाखाँची र प्युठानवासीका लागि भालुवाङ केन्द्रविन्दु रहेको बताउँछन् ।


Advertisement


नेपाली काँग्रेस अर्घाखाँचीका सभापति बिष्णु मुस्कान खनाल पनि भालुवाङ क्षेत्रलाई राजधानी बनाउनु उचित हुने जिकिर गर्छन् । ‘पहिलेदेखि आवत जावत गरिरहेको हिसाबले बुटवल राजधानी भईदिए पनि ठिक नै हुन्थ्यो,’ उनले भने, ‘तर हामीलाई मात्र हेरेर भएन, रुकुम, रोल्पा र बर्दियासम्मका जनतालाई हेर्ने हो भने भालुवाङ सबैका लागि पायक पर्दछ ।’

नेपाली काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले आफूहरुले प्रेस विज्ञप्ति जारी गरेरै भालुवाङलाई राजधानी बनाउने प्रस्तावको स्वागत गरेको बताए । ‘सुरुमा त हामीले नेपालगन्ज मै प्रदेश ५ को राजधानी बनाइनु पर्छ भनेर माग गरेका थियौँ,’ उनले भने, ‘तर सबैलाई पायक पर्ने गरी अहिले भालुवाङलाई राजधानी बनाउने प्रस्ताव आएको छ, यो स्वागतयोग्य छ ।’

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बर्दियाका सभापति सञ्जय गौतमले आफूहरुले पहिलादेखि नै भालुवाङलाई राजधानी बनाउनुपर्ने प्रस्ताव गरेको बताए । उनले भने, ‘हामीले त मुख्यमन्त्रीलाई भेटेरै दाङको देउखुरीदेखि भालुवाङमा प्रदेशको राजधानी हुनुपर्छ भनेर भनेका थियौं । हामीले जे भनेका थियौं, त्यसैअनुसारको प्रस्ताव आयो, हामीले यसलाई स्वागत गरेका छौं ।

उनले दलगत स्वार्थभन्दा माथि उठेर भालुवाङलाई राजधानी बनाउने प्रस्ताव कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

‘पाल्पा र रुपन्देहीवासीले विरोध गर्नु स्वाभाविकै भए पनि सरकारले ल्याएको यो प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ सभापति गौतमले भने, ‘छिट्टै कार्यान्वन भईदिए हुन्थ्यो भन्ने लागेको छ ।’

कपिलवस्तुका पार्टी सभापति सुरेन्द्र आचार्य भने भरसक बुटवल नै राजधानी भइदिए राम्रो हुने तर्क राख्छन् ।

‘प्रदेश ५ का जिल्लाहरुमध्ये पूर्वतर्फकालाई बुटवल नै राजधानी पायक पर्दछ । पश्चिम तर्फकालाई भालुवाङ राजधानी भईदिए पायक पर्दछ,’ उनले भने, ‘कपिलवस्तुका ८ वटा स्थानीय तहमध्ये विजय नगर गाउँपालिका, शिवराज नगरपालिका र कृष्ण नगर नगरपालिकाका जनतालाई भालु्वाङ नै पायक पर्दछ ।’

वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका शुद्धोधन गाउँपालिकालाई बुटवल पायक पर्ने उनले बताए । यशोधरा गाउँपालिका, कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिकालाई दुवैतर्फ बराबरी पर्ने सभापति आचार्यको भनाइ छ । यस हिसावले बुटवल र भालुवाङका सम्बन्धमा कपिलवस्तुका जनताको आधाआधा अभिमत भएको उनको भनाइ छ ।

सभापति आचार्य भन्छन्, ‘नेकपाको बहुमतको सरकारले भालुवाङलाई राजधानी बनाउने निर्णय गरेर आफैले समस्या निम्त्याएको छ, ऊ तनावमुक्त हुने हो भने कपिलवस्तुमा राजधानी राखोस् भन्न चाहन्छौं ।’ तर भूगोलका हिसाबले भालुवाङ प्रदेश ५ कै मध्यविन्दुमा पर्ने कुरालाई उनले अस्वीकार भने गरेनन् ।

Copy link
Powered by Social Snap