२०८० चैत्र १५

महिला क्रिकेटरको ग्रेडिङमा त्रुटि : खेलाडीको नाममा समेत झुक्कियो क्यान

Credit: OnlineKhabar

८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघले सुखद पहल गर्दै पहिलोपटक महिला क्रिकेटरहरुलाई सेन्ट्रल कन्ट्रयाक्ट (केन्द्रीय सम्झौता) मा समेट्यो, तर यो आलोचनामुक्त बन्न सकेन ।

राष्ट्रिय टिमबाट खेलिरहेका महिला क्रिकेटरहरुसमेत कन्ट्रयाक्माट छुट्दा क्यानको पहल अलिनो बनेको छ । एउटै नाम भएका खेलाडीहरुलाई लिएर क्यान झुक्किएको हास्यास्पद तथ्यसमेत फेला परेको छ ।

वर्ष २०१९ मा नेपालको महिला टोलीले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । तीनवटै टी–२० फर्म्याटका थिए । यसमा नेपाली खेलाडीले विश्व कीर्तिमानसमेत बनाए । वर्षको सुरुमा थाइल्याण्ड टी–२० स्म्यास खेलेको नेपालको महिला क्रिकेट टिमले वर्षको अन्तिममा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो ।

२०२० को सुरुमै महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाकको सूची बनेको भए ती प्रतियोगिताहरु खेल्ने सबै खेलाडीहरु पर्थे होलान् । अघिल्लो वर्ष खेलेका आधारमा उनीहरु अगाडि थिए । २०१९ मै साग हुनुअघि नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक महिलाको फ्रेन्चाइज लिग क्रिकेट वुमन्स च्याम्पियन्स लिग डब्लुसीएल पनि भएको थियो । एक हिसाबले सन् २०१९ मा नेपाली महिला क्रिकेट निकै चलायमान रह्यो ।

नेपाल क्रिकेट संघ क्यानको २०७६ माघ २७ गते बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीको पनि सेन्ट्रल कन्ट्रयाक्ट गर्ने निर्णय लिएको थियो । यसबाट महिला क्रिकेटहरु खुशी भए । मासिक रुपमा तलब पाउने भएपछि खेलाडीको उत्साह बढ्नु स्वाभाविक थियो ।

त्यसबेला सेन्ट्रल कन्ट्रयाक्टको सूची तयार पार्न क्यान कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा ३ सदस्यीय समिति बनेको थियो । तर केही समयपछि नै कोरोना महामारीले खेलकुद ठप्प भयो । क्रिकेट पनि सुत्यो । मैदान बाहिरका कामहरु पनि तत्कालका लागि रोकिए ।

सात महिनापछि मंगलबार महिला सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक भएको छ । चितवनमा बसेको क्यान बोर्ड बैठकले १९ खेलाडीलाई पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राख्दा निश्चय पनि यो नेपाली महिला क्रिकेटमा नयाँ सुरुवात थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको १३ वर्षपछि महिला क्रिकेटको पनि पुरुषको जस्तै कन्ट्रयाक्ट भयो ।

तर क्यानले सार्वजनिक गरेको महिला खेलाडीको नाम, उनीहरुको ग्रेड, अनि मासिक रकमको खबरले भने महिला खेलाडी सन्तुष्ट हुन सकेनन् । विशेषगरी ग्रेडिङ सूची र मासिक पाउने रकम न्यून हुँदा उत्साह मरेको छ ।

क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रुविना क्षेत्री बेलबासे, उपकप्तान सीता मगरसहित पाँच खेलाडी ‘ए ग्रेड’मा छन् । ए ग्रेडका बाँकी खेलाडीमा पूर्वकप्तान नेरी थापा, इन्दु बर्मा र करुणा भण्डारी छन् ।

यस्तै ग्रेड बीमा ८ र ग्रेड सीमा ६ खेलाडी छन् । तर, राष्ट्रिय टिममा रहेका खेलाडी कन्ट्रयाक्टमा नपर्नु र राष्ट्रिय टिममा खेल्दै नखेलेका खेलाडी कन्ट्रयाक्टमा पर्नु आश्चर्यको विषय बनेको छ ।

एउटै नामले झुक्कियो क्यान

तीन खेलाडीको नाम एउटै हुँदा क्यान झुक्किएको देखिएको छ । नेपालमा कविता नाम गरेका तीन क्रिकेट खेलाडी छन् । कविता कुँवर, कविता गौतम र कविता जोशी । यीमध्ये दुई खेलाडी केन्द्रीय सम्झौतामा परेका छन् ।

रमाइलो त के छ भने कविता जोशी जसले अहिलेसम्म राष्ट्रिय टिममा खेलेकी छैनन् उनले ग्रेड बीमा स्थान पाइन् । जबकि यू १९ टिमको उपकप्तान अनि राष्ट्रिय टिमको नियमित सदस्य कविता कुँवर ग्रेड सीमा छिन् । डब्लुसीएल फ्रेन्चाइज लिगमा शानदार बलिङ गर्दै सर्वाधिक १० विकेट लिएकी खेलाडी कविता गौतम कुनै पनि ग्रेडिङ लिस्टमा छैनन् ।

यसमा अनलाइखबर स्रोतले बुझ्दा नाम एउटै भएकोले नै गल्ती भएको भेटिएको छ । एउटै नाम भएकोले कविता गौतम हुनुपर्नेमा कविता जोशीको नाम समावेश भएको हुनसक्ने भन्ने सूचना प्राप्त भएको छ ।

कविता जोशीले डब्लुसीएलमा ललितपुरबाट खेलेकी थिइन् । डब्लुसिएल च्याम्पियन टिम चितवन राइनोजकी बलर कविता गौतमले प्रतियोगितामा सर्वाधिक १० विकेट लिएकी थिइन् । तीन कवितामध्ये २०१९ को तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगिता साथै एक यू–१९ प्रतयोगिता समेत खेलेकी खेलाडी हुन् कविता कुँवर । तर उनी ग्रेड सीमा छन् । कविता जोशी र कविता गौतमले २०१९ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेनन् । तर घरेलु क्रिकेटमा कविता गौतमले राम्रो प्रदर्शन गरेकी थिइन् ।

प्रदर्शनको हिसाबले हेर्ने हो भने कविता कुँवर अगाडि देखिन्छिन् । तर ग्रेडिङमा भने कविता जोशीको नाम सबैभन्दा अगाडि देखिएपछि आश्चर्य भएको हो ।


Advertisement


अरु पनि विरोधाभाष

यसैगरी २०१९ को कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका ज्योति पाण्डे र रितु कनोजिया पनि ग्रेड बी मा परेका छन् । दुवै राष्ट्रिय टिममा खेलिसकेका खेलाडी भने हुन् । रितु नेपालको पहिलो पुस्ताकै खेलाडी हुन्, तर पछिल्लो वर्ष उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छैनन् । यस्तै २०१९ मा २ मात्र अन्तर्राष्ट्रिय खेल खेलेकी विन्दु रावल पनि बी ग्रेडमा परेकी छिन् ।

यसबाहेक नेपाली टिममा नियमित खेल्ने बलर सोनु खड्का भने ग्रेड सीमा छिन् । १३ औं सागमा एकै खेलमा ६ विकेट लादै कीर्तिमान बनाएकी अन्जली चन्द पनि ग्रेड सीमै छिन् । राष्ट्रिय टिममै नखेलेकी खेलाडी ग्रेड बीमा अनि राष्ट्रिय टिममा नियमित खेल्ने खेलाडी ग्रेड सीमा पर्नु आश्चर्य हो । यसले खेलाडी छनोट गर्ने टिम र क्यानको निर्णयमाथि नै गम्भीर प्रश्न तेर्सिएको छ ।

यस्तै राष्ट्रिय टिमका नियमित खेलाडी ओपनर काजल श्रेष्ठ र बलर सरिता मगर भने ग्रेड बीमा छन् । यी दुई खेलाडीका साथै सोनु र अन्जली अहिले राखिएको भन्दा माथिल्लो ग्रेडमा पर्नलायक खेलाडी हुन् ।

गत वर्ष कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका अनुराधा चौधरी र शोभा आलेलाई ग्रेड सी मा समावेश गरिएको छ । जबकी गत वर्ष खेलेका ममताकुमारी चौधरी १३ औं सागको टिममा रहेकी सरस्वती चौधरी र शान्ति खतिवडा भने क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा पर्न असफल रहे ।

तलबमा पनि असन्तुष्टि

पुरुष क्रिकेटर र महिला क्रिकेटरको तलबमा क्यानले ठूलो अन्तर कायम गरेको छ । यसप्रति महिला खेलाडी खुशी छैनन् ।

नेपाली महिला क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका एलबी क्षेत्रीले महिला खेलाडीको वर्गीकरण र तलबमा असन्तुष्टि व्यक्त गरे । देखाउनकै लागि मात्र महिला खेलाडीको वर्गीकरण गरिएको उनको दावी छ ।

‘तलबमा धेरै भेदभाव गरिएको छ । सुरुवात भयो भन्दैमा यति धेरै फरक हुनु भनेको महिला क्रिकेटरलाई कम आँक्ने मानसिकताले काम गरेको देखियो,’ क्षेत्रीले भने ।

पुरुष खेलाडीको ग्रेड सीमा रहनेलाई ३० हजार छ भने महिलाको ए ग्रेडमा रहनेलाई १५ हजार रुपैयाँ मात्र तोकिएको छ ।

क्षेत्रीले महिला खेलाडीको वर्गीकरणमा पनि असन्तुष्टि व्यक्त गरे । राष्ट्रिय टिममै नखेलेका खेलाडीहरु ग्रेड बी मा पर्नु आश्चर्य रहेको उनको भनाइ छ । क्यानले मनपरी तरिकाले वर्गीकरण गरेको र दबाबमा काम गरेको हुन सक्ने क्षेत्रीले बताए ।

चितवनमा बसेको क्यान बोर्ड बैठकले ९ वटा निर्णय गरेको भने राति विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो । त्यसदेखि नै खेलाडीको बर्गीकरण सूचीको आलोचना शुरु भइसकेको छ । ग्रेडिङ लिस्ट तयार पार्ने समितिले बोर्ड बैठकले नै अनुमोदन गरिसकेको निर्णयको बचाउ गर्दैछ ।

उता क्यान भने समितिले प्रस्ताव गरेको सूचीे अनुमोदन मात्र गरेको भनेर पन्छिन खोज्दैछ । यसबारे क्यान अध्यक्ष चतुरबहादुर चन्दसंग बुझ्दा उनले यस विषयमा फेरि छलफल गर्न सकिने बताए ।

अहिले गरिएको ग्रेडिङ २०२० डिसेम्बर सम्मको लागि मात्र लागु हुने क्यानले जनाएको छ । २०२१ को लागि अर्को ग्रेडिङ सार्वजनिक हुनेछ ।

Copy link
Powered by Social Snap