२०८१ जेष्ठ २

नेपाल र यूएसएआईडीबीच संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न




काठमाडौं । नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बीच आज संयुक्त पोर्टफोलियो समीक्षा सम्पन्न भएको छ ।


Advertisement


दुई निकायहरूबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरूबीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा कार्यक्रम सफल भएको दाबी गरिएको छ ।

“अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त पोर्टफोलियो समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीहरूलाई सम्बोधन गर्न र नेपाली नागरिकहरूको हितका लागि रणनीतिहरूलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको यूएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरूमाथि प्रकाश पार्दै थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको छ ।



नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले संयुक्त पोर्टफोलियो समीक्षाको महत्वमाथि जोड दिँदै भने, “आजको संयुक्त पोर्टफोलियो समीक्षाले हाम्रा संयुक्त उपलब्धिहरू र सिकाइहरू आदानप्रदान गर्नका निम्ति उत्कृष्ट मञ्च प्रदान गरेको छ । हामी स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिका सशक्तीकरण, विपद् जोखिम व्यवस्थापन, सुशासन, वातावरण, नागरिक समाज एवं मिडिया र व्यापार विकास जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा हाम्रो साझेदारीलाई अझ सबल बनाउन सहयोगका भावी क्षेत्रहरूबारे छलफल गर्न यहाँ जम्मा भएका छौँ ।”

संयुक्त पोर्टफोलियो समीक्षामा उद्घाटन र प्राविधिक सत्र गरी दुईवटा महत्वपूर्ण सत्रहरू समावेश थिए । उद्घाटन सत्रमा अर्थमन्त्री डा. प्रकाशशरण महत, राजदूत थम्पसन र यूएसएआईडी नेपालका मिसन निर्देशक सेपिडे केभान्शाडले आ–आफ्ना मन्तव्य राखेका थिए ।

“संयुक्त पोर्टफोलियो समीक्षाले पारदर्शिता, सहयोग र जवाफदेहिताका सिद्धान्तहरूमाथि पुनः जोड दिँदै राष्ट्रका लागि थप समृद्ध र दिगो भविष्यतर्फ सामूहिक प्रयासहरूलाई निर्देशित गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

Copy link
Powered by Social Snap