२०८१ बैशाख १३

भूकम्पपछि त्रसित सिन्धुपाल्चोकवासी : पानीमा भिज्दै घरबाहिर बास !

सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्न निर्देशन

साभार: रातोपाटी

काठमाडौँ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो ।

कोरोना महामारीको बेलामा सिन्धुपाल्चोक प्राकृतिक विपत्तिको केन्द्रबिन्दु जस्तै भएको छ । सिन्धुपाल्चोकवासीले बाढीपहिरोदेखि भूकम्पको सामना गर्नुपरेको छ । ०७१ साउन १७ मा सिन्धुपाल्चोकको मांखा र राम्चेको सीमा क्षेत्र जुरे पहिरोमा परेर १४५ जनाको मृत्यु भएको थियो । सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् । 

सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको भूकम्पका कारण सिन्धुपाल्चोकबासीमा बुधबारको भूकम्पले थप त्रास बढेको छ ।

बुधबार बिहान आएको भूकम्पको कारण मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज न्यौपानेका अनुसार बाह्रबिसेका स्थानीय डरले घरबाहिर निस्केर बसेका छन् ।

कोरोनाले धुरुक्क रुवाएको बेला भूकम्पको सामना गर्नुपरेको बाह्रबिसे नगरपालिका–९ राम्चेका स्थानीय फुर्वा शेर्पा बताउँछन् । उनले रातोपाटीसँग भने, ‘सिमसिम पानी परेको छ । पानी परेको छ भन्दैमा यस्तो बेला घरभित्र गएर बस्ने कुरा भएन । भूकम्प बाजा बजाएर पनि आउने होइन ।’


Advertisement


०७२ सालको भूकम्पले हामीलाई एकैचोटी घरबाट बारीको डिलमा पुर्याइदिएको स्मरण गर्दै शेर्पा भन्छन्, ‘त्यतिबेला दर्दनाक दृश्य हेर्दै हामी बारीको डिलमा पाल हालेर, बोरा ओछ्याएर बस्यौँ । अहिले कोरोनाको महामारी छ । घरभित्रै थन्किएर बस्नुपरेको अवस्था छ ।’

पहिलो भूकम्प गएको ७ मिनेटपछि अर्को धक्काको पनि महसुस भएको शेर्पाले रातोपाटीलाई बताए । दोस्रो धक्काले झनै त्रास उत्पन्न भएको शेर्पाको भनाइ छ ।

भूकम्बाट राम्चेको चुल्ठेमा ढुङ्गामाटोबाट बनाइएका केही घरहरु चर्किएको शेर्पाले जानकारी दिए । भूकम्पले निकै हल्लाए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालले भूकम्पका कारण जमिन कमजोर भएको अनुमान गर्दै जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्ने निर्देशन दिएको बताए ।

भूकम्पले पहिरोको जोखिम बढेको सिडिओ ढकालको बुझाइ छ । रातोपाटीसँगको कुराकारीमा ढकालले भने, ‘नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीलाई हाइ अलर्टमा बस्न निर्देशन दिएको छु ।’

०७२ सालमा गएको भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोक प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको विज्ञहरुको भनाइ छ । भूकम्पले थिलथिलो सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो, भोटेकोशीमा आएको बाढी, भूकम्पबाट क्षति, हवाई दुर्घटना र सडक दुर्घटनाको चिनारी हो ।

हरेक वर्ष बाढी–पहिरो जस्ता प्राकृत्तिक विपत्तिको सामना गनुपरेको छ सिन्धुपाल्चोकवासीले । यसवर्ष पनि बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई बाढी, पहिराले दुःख दियो ।

यस वर्षको मनसुन शुरु भएसँगै ०७७ जेठ ३० पछि सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आयो । जसकारण ५५ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् ।

Copy link
Powered by Social Snap