२०८० चैत्र १५

प्रहरीकै छोराको रहस्यमय मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान नभएको गुनासो

Credit: OnlineKhabar

३० भदौ, काठमाडौं । नेपाल प्रहरीकै एकजना सदस्यको छोराको रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले गाम्भिर्यता नदेखाएको पीडित परिवारले गुनासो गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, वीरगञ्जमा कार्यरत प्रहरी हवल्दार मनिभुषण यादवका ९ वर्षीय छोरा सुमितकुमार यादवको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरी उदासीन देखिएको परिवारले गुनासो गरेको हो ।

बाराको देउताल गाउँपालिका–५, धुराहास्थित घरबाट हवल्दार पुत्र सुमित गत १९ भदौमा हराएका थिए । तत्काल खोजतलासका लागि प्रहरीलाई आग्रह गरिएको थियो । त्यसक्रममा भोलिपल्ट उनको शव गाउँबाट दुई किलोमिटर पूर्वतिरको पोखरीमा भेटिएको थियो ।

मृतकका हजुरबुबा मुसाफिर यादव अनकन्टार ठाउँमा भएको पोखरीमा सुमित एक्लै गए भन्ने विषय नै शंकास्पद भएको बताउँछन् । प्रहरीले प्रारम्भिक अनुसन्धान नै नगरी डुबेर मृत्यु भएको जस्तो गैरजिम्मेवार प्रतिक्रिया दिने गरेकोे उनको भनाइ छ ।

‘प्रहरीले सहजै पोखरीमा नुहाउन गएकाले डुबेको हुनसक्ने भनिदिएको छ’, उनी भन्छन्, ‘तर, त्यहाँ कोही पनि नुहाउन जाँदैनन्, यो सबै स्थानीयलाई थाहा छ ।’

जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी र प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहलाई पटकपटक घटनाबारे अनुसन्धान गरिदिन आग्रह गरे पनि संवेदनशील नभएको परिवारको गुनासो छ ।

प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा डुबेर मृत्यु भएको उल्लेख छ । तर, परिवारले भने डुब्नु पर्ने अवस्था कसरी आयो ? भन्ने विषयमा खोजविन गर्न आग्रह गरेको छ । ‘अनुसन्धान गरेर आएको नतिजा हामीलाई मान्य हुन्छ तर, अनुसन्धान नै नगरी बोल्दा हामीलाई पीडामाथि थप पीडा भएको छ’, यादवले भने ।

उनका अनुसार सुमित दुई वर्षदेखि कलैयाको मेरिगोल्ड बोर्डिङ स्कुलको छात्रावासमा बसेर पढिरहेका थिए । लकडाउनपछि घर आएका उनी वस्ती पनि नभएको क्षेत्रमा कसरी एक्ले पुगे भन्ने विषय प्रहरीको अनुसन्धानको दायरामा नपर्नु दुःखद् भएको परिवारका सदस्यहरु बताउँछन् ।


Advertisement


‘पोखरीमा उनी साथीहरुसँग गएका थिए भने ती को हुन् ? यदि साथीसँग गएका थिएनन् भने कोसँग गए ? त्यो विषय प्रहरीको अनुसन्धानको दायरामा किन पर्दैन ?’, मुसाफिरको प्रश्न छ ।

सात जनाविरुद्ध अनुसन्धान गर्न माग

मृतकका बुबा मनिभुषणले भने घटनाबारे गम्भिरतापूर्वक अनुसन्धान गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय, बारामा ७ जनाविरुद्ध निवेदन दिएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी पंगेनीकै आग्रहमा निवेदन दिएको परिवारका सदस्यहरु बताउँछन् । तर, निवेदन दिएपछि पनि छानविनमा उनले तदारुकता नदेखाएको परिवारको आरोप छ ।

प्रहरी प्रमुख पंगेनी भने प्रारम्भिक जाँचमा डुबेर मृत्यु भएको देखिएको बताउँछन् । उनका अनुसार शरीरमा अन्य चोटपटक पनि केही देखिएकाले मृत्युमा अन्य कारण हुननसक्ने देखिएको छ ।

यद्यपि, थप पुष्ट्याइँका लागि शवको भिसेरा र डायटम परीक्षणका लागि पठाइएको पंगेनीको भनाइ छ । भिसेरा रिपोर्टले मृत्यु हुनुअघि खाएको कुराबारे बताउनेछ भने डायटमले मृत्युपछि व्यक्तिलाई पोखरीमा फालिएको हो वा पोखरीमा डुबेर मृत्यु भएको हो भन्ने संकेत दिन्छ ।

फरेन्सिक विज्ञहरुका अनुसार पोखरीमा डुबेको घटनामा मृतकको संवेदनशील अंग लगायतमा किराले टोकेर घाउ बनाएको हुन्छ । डायाटम परीक्षणमा पोखरीमा भएका किरा र झारको आधारमा परीक्षण गरेर त्यो मुखभित्र पसेको छ/छैन भन्ने जाँच हुन्छ ।

मुखभित्र गएको अवस्थामा पोखरीमा डुबेकै कारण मृत्यु भएको मानिन्छ भने मुखभित्र नछिरेको पाइए घटनालाई शंकास्पद मानिन्छ । यस्तो अवस्थामा अन्य परिस्थितिजन्य आधारलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

एसपी पंगेनी पनि डुबेर मृत्यु भए पनि कोहीसँग खेल्न जाँदा वा कसैले धक्का दिएको हुनसक्ने विषयलाई नकार्न नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं, कोही बच्चा नै गएको भए पनि अहिले डरले भन्न नमानेको हुनसक्छ ।’

Copy link
Powered by Social Snap