२०८१ बैशाख ७

कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाको ठहर– दुई हजारमा परीक्षण असम्भव

साभार: कान्तिपुर

सोमबार धुम्बराईस्थित ह्याम्स अस्पतालमा काठमाडौं उपत्यकामा परीक्षणको इजाजत पाएका काठमाडौं मेडिकल कलेजबाहेकका सबै प्रयोगशालाहरु भेला भएर सरकारले पछिल्लोपटक कायम गरेको मूल्यलाई पुनरावलोकन गर्नका लागि अनुरोध गर्ने निर्णय गरेका हुन् । केही निजी प्रयोगशालाहरु सरकारले सुरुमा कायम गरेको अधिकतम मुल्य ५५ सय रुपैयाँलाई घटाएर ४४ सय कायम गर्दा नै असन्तुष्ट थिए भने त्यसलाई पनि घटाएर २ हजार कायम गरेपछि सरकारविरुद्ध एकताबद्ध भएका हुन् ।


Advertisement


ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माको अध्यक्षतामा आयोजित भेलाले गरेको निर्णयमा उपत्यका बाहिरका प्रयोगशालाले समेत ऐक्यबद्धता जनाउने मौखिक जानकारी दिएको बताइएको छ । कोरोना परीक्षण गर्ने निजी प्रयोगशालाहरुको भेलाले सरकारलाई कोरोना महामारीको व्यवस्थापनका लागि सहयोग गरिरहेको अवस्थामा सरोकारवाला पक्षसँग कुनै सल्लाह नै नगरी परीक्षण शुल्क तोकेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

यस्तै परीक्षणको गुणस्तरका बारेमा ख्याल नै नगरी अन्य कमसल परीक्षण प्रविधिलाई बढावा दिने बहानामा पीसीआर शुल्क घटाएको आरोप पनि भेलाले लगाएको छ । भेलाले सरकारसँग निजी प्रयोगशालाहरुको प्रतिनिधित्व गर्दै छलफल गर्ने जिम्मा ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्मालाई दिएको छ ।

शर्मा नेतृत्वको टोलीले सोमबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर इन्सिडेन्ट कमाण्ड सेन्टरका प्रमुख डा. गुणराज लोहनीलाई आफ्ना निर्णय बुझाएका छन् । उक्त बेलाले डा. लोहनीलाई बुझाएको पत्रमा निजी प्रयोगशालाहरुमा परीक्षण गर्दा लाग्ने औसत मूल्य तथा खर्चका बारेमा पनि जानकारी उल्लेख गरिएको डा. शर्माले जानकारी दिएका छन् ।

Copy link
Powered by Social Snap