२०८१ बैशाख १७

‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’




राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उहाँले विकासका लागि राजनीति गर्न नहुने बताउनुभएको हो । “राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ”, उहाँले भन्नुभयो ।


Advertisement


खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताउनुभयो । संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

उहाँले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताउनुभयो । “सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।



नेपाली कांग्रेसकी नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री सहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताउनुभयो । वृक्षरोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूखबिरुवा रोप्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सडक कालोपत्र गर्दा ढल, खानेपानी र बिजुलीको अवस्थालाई राम्रोसँग अध्ययन गर्नुपर्ने बताउनुभयो । नीति निर्माणसँगै स्थानीय तहको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको खड्गीले बताउनुभयो ।

नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति हुनुपर्ने बताउनुभयो । टोखा–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले स्थानीय सरकारदेखि केन्द्रीय सरकार सहकार्य गरेर अगाडि बढेमात्र स्थानीय तहको विकास हुने बताउनुभयो ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौँलाई स्वच्छ, हराभरा र वातावरणमैत्री सहर बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताउनुभयो । प्राकृतिक वातावरण र राजनीतिक वातावरण राम्रो भएमात्र देशको विकास सम्भव हुने अध्यक्ष दासको भनाइ छ ।

सिद्धेश्वर करिडोर समितिका अध्यक्ष उमाकान्त सिवाकोटीले विष्णुमती करिडोरलाई सुन्दर, सफा र हराभरा बनाउन तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताउनुभयो ।

Copy link
Powered by Social Snap