२०८० चैत्र १५

सिन्धुपाल्चोकमा किन जान्छ लगातार बाढी–पहिरो ?

साभार: रातोपाटी

काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा र राम्चेको सीमा क्षेत्र जुरेको पहिरोले त्यहाँका स्थानीयलाई गहिरो घाउ लगाएर गयो । ०७१ साउन १७ मा १४५ जनाको मृत्यु भएको सो पहिरो सम्झेर अहिले पनि त्यहाँका स्थानीय झस्किन्छन् ।  सिन्धुपाल्चोकलाई त्यसयता हरेक वर्ष बाढी–पहिरो जस्ता प्राकृत्तिक विपत्तिले दुःख दिन छाडेको छैन् । त्यस्तो विपदले यसवर्ष बाह्रबिसे नगरपालिका, जुगल र भोटेकोशी गाउँपालिकालाई दुःख दियो ।  

यस वर्षको मनसुन शुरु भएसँगै (०७७ जेठ ३० पछि) सिन्धुपाल्चोकमा १७ ठाउँमा बढी–पहिरो आएको छ । जसकारण ५५ जनाको मृत्यु भयो । २३ जना अझै बेपत्ता छन् ।  २४ असारमा बाह्रबिसे–५ जम्बुमा याल्मो खोलाको बाढी, जुगल गाउँपालिका–२ लिदी र भोटेकोशी गाउँपालिकामा आएको पहिरोले ठुलो जनधनको क्षति भएको छ । सो विपद्बाट ९३ परिवार प्रभावित भएका छन् । 


Advertisement


९० वटा घर पूर्णरुपमा क्षति भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढी पहिरोमा परेर १५ जना घाइते भए । यसवर्ष बाढीले भन्दा पहिरोले धेरै क्षति गरेको छ ।  शनिवार साँझ बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भिरखर्क र नेवारटोलमा पहिरोले ९ जनाको मृत्यु भएको छ । समाचार तयार गर्दासम्म २४ जना बेपत्ताको सूचीमा छन् ।

किन बारम्बार खस्छ पहिरो ? 

भोटेकोशी, जुगल र बाह्रबिसे क्षेत्रमा नै लगातार पहिरो गइरहेको छ । ०७२ वैशाखको भूकम्पको असर र लगातारको पानीका कारण सो क्षेत्र पहिरोको जोखिमा रहेको बताउँछन्, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोखरेल । 

‘बाह्रबिसे, जुगल र भोटेकोशी बाढी–पहिरोको उच्च जोखिममा रहेका क्षेत्र हुन्’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले रातोपाटीसँग भने–‘भूकम्पले सो क्षेत्रलाई थिलथिलो बनाएको थियो, लगातारको वर्षाले त्यसको असर अहिले देखा परेको हो ।’ 

शनिवार साँझ बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भिरखर्क र नेवारटोलमा लगातार ६ घण्टा पानी परेको थियो ।  सो क्षेत्रमा डोजरमार्फत थुप्रै ठाउँमा बाटो खनिएको छ । ‘डोजरे विकास’ को असर पनि त्यहाँ परेको जानकारहरु बताउँछन् । असुरक्षित बसोबासका कारण त्यहाँ धेरै जनधनको क्षति भएको छ । 

‘जलवायु परिवर्तनका कारणले लगातार पहिरो खसिरहेको छ’ राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिईओ पोखरेलले भने– ‘प्रि–मनसुन र वर्षायाममा सो क्षेत्रमा पहिले भन्दा धेरै पानी परेको छ ।’ 

नेपालका धेरै बस्ति उच्च स्लोपमा रहेको हुनाले पानी धेरै परेपछि स्लोप फेल भएर पहिरो जाने खानी तथा भूगर्भ विभागका भूविज्ञान महाशाखा प्रमुख डा.राजेन्द्र प्रसाद भण्डारीले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘पहिरो जानुमा धेरै कुरा पानीमा भरपर्छ, जमिनको स्लोप कस्तो छ, सूर्यको किरणबाट कता फर्केको  छ भन्ने कुराले पहिरो जाने–नजाने निर्क्योल गर्छ ।’ 

अध्ययनमा ढिलाई 

९ वर्षयता (०६८ पछि) सिन्धुपाल्चोकमा ८८ वटा बाढी र पहिरोका घटनाबाट १ सय १८ जनाको ज्यान गैसकेको छ । १ सय ५१ जना बेपत्ता छन् । ८ सय २९ परिवार प्राकृत्तिक बिपद्बाट प्रभावित भए । ३ सय २९ किसानका घर पूर्ण रुपमा क्षति भयो । सो कुरा, स्थानिय जनप्रतिनिधि र सरकार सबैलाई थाहा छ । तर, लगातार बाढी पहिरो किन जान्छ र त्यसको जोखिमबाट स्थानियलाई कसरी बचाउन सकिन्छ भनेर कसैले ध्यान दिएनन् । 

गृहमन्त्री र सांसदहरु हरेक वर्ष हेलिकप्टर चढेर घट्नास्थल पुगे, पीडितका आँशु हेरेर फर्किए । दिर्घकालिन समस्या समाधानतर्फ राज्य र जनप्रतिनिधिले विचार नै गरेनन् ।  सिन्धुपाल्चोकमा लगातार किन पहिरो जान्छ भन्नेबारे भौगर्भिक अध्ययन नै नभएका बताउँछन् खानी तथा भूगर्भ विभागका सूचना अधिकारी डा.जनक बहादुर चन्द । 

‘जियोलोजिलक भौगोलिक अध्यनचाहिँ भएको छ, भौगर्भिक चटानको कित्ताकाट र जियोलोजिकल सेटिङ कस्तो छ भन्ने अध्ययन  भएको छ’ डा. चन्दले रातोपाटीसँग भने–‘पहिरोको अध्ययनचाहिँ भएको छैन् ।’  खानी तथा भूगर्भ विभागका भूविज्ञान महाशाखा प्रमुख डा.राजेन्द्रप्रसाद भण्डारीले नगरपालिका स्तरमा प्लानिङ गरेर सो भूगोलको अध्ययन गर्न जरुरी रहेको बताए । उनले भने–‘सो क्षेत्रमा थप क्षति हुन नदिन अब गृह मन्त्रालयसँगको समन्वयमा हामी अध्ययन अनुसन्धान गर्छौ ।’  

‘अध्ययन हुँदै छ’–प्राधिकरण

राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाह्रबिसे नगरपालिका, भोटेकोशी र जुगल गाउँपालिकामा ‘पहिरो किन जान्छ’ भन्नेबारे अध्ययन गरिरहेको  जनाएको छ ।  प्राधिकरणका सिईओ अनिल पोखरेलले रातोपाटीसँग भने– ‘सिन्धुपाल्चोकसहित भूकम्प प्रभावित १४ जिल्लामा पहिरो सम्बन्धी अध्ययन भइरहेको छ ।’ सो अध्ययन अन्तिम चरणमा पुगेको पोखरेलले बताए । 

पुनर्निमाण प्राधिकरणले शुरु गरेको अध्ययनलाई राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्णता दिन लागेको उनको भनाई छ ।  ‘१४ वटा जिल्लाको वडा तहसम्म पहिरोको उच्च जोखिममा रहेका बस्तीको अध्ययन गर्दै छौं’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने–‘रेड एरियामा कति घर परिवार छन् भनेर अध्ययन गरिरहेका छौ. ।’ 


पहिरोबाट प्रभावितलाई ३ लाख 

बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे, भिरखर्क र नेवारटोलका पहिरो प्रभावितको घर बनाउन प्रति परिवार ३ लाख दिने सरकारी तयारी छ ।  बाह्रबिसे–७ मा पहिरोका कारण घर गुमाउने स्थानियलाई भूकम्प प्रभावित सरह घर बनाउन ३ लाख दिने तयारी भइरहेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोखरेलले बताए । उनले भने–‘भूकम्प प्रभावित घरकै मापदण्ड पुरा गरेर पीडितको खातामा पैसा पठाउने गरि कार्यविधी बनाउँदै छौं ।’ 

प्राधिकरणले उनीहरुलाई घर बनाउन वैकल्पिक जमिन समेत दिनेगरी कार्यविधि तयार गरिरहेको छ ।  मनसुन शुरु भएपछि देशभर ३ सयभन्दा बढीको मृत्यु भएको छ । 

Copy link
Powered by Social Snap