२०८१ बैशाख १५

सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण पहिरो (अपडेट) : ज्यान गुमाएका २ जनाको सनाखत

सांकेतिक तस्विर

साभार: रातोपाटी

९ बजे

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा पहिरोका कारण ज्यान गुमाएका २ जनाको सनाखत भएको छ ।

नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्क बिकटोलकी २३ वर्षिया जुनु बिकको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका  प्रवक्ता (डिएसपी) प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।

पहिरोका कारण भीरखर्कमा जुनु बिकसहित ३ जनाको मृत्यु भएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताइन् ।

नगफुजेका ७ घर बगेर भोटेकोशीमा मिसिएका छन् । त्यहाँ  १६ वटा बेपत्ता छन् । उपमेयर पाख्रिनका अनुसार भीरखर्कको बिक टोलमा १०–१२ वटा घर पुरिएको छ । त्यहाँ ६ जना बेपत्ता छन्, तीनजना घाईते भएका छन् ।

सो वडाको केम्बेमा पनि पहिरोले घर पुरिएको सूचना आएपछि प्रहरी नायव निरिक्षक (सई) कमाण्डको टोली त्यसतर्फ जाँदै गरेको डिएसपी सापकोटाले बताए ।

नागपुजेमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेका छन् । सिन्धुपाल्चोकका एसपी राजन अधिकारी पनि घटनास्थलमा जाँदै छन् । 


Advertisement


७ः३० बजे

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले रातोपाटीलाई बताए ।

हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ ।

घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भिक सूचना आएको डिआईजी लामाले बताए ।

‘भिरखर्कमा पनि प्रहरी पुग्दै छ’ डिआईजी लामाले भने– ‘क्षतिको यकिन विवरण आउन बाँकी छ ।’

यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ तीनजनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएका छन् । 
‘यकिन विवरण आउन बाँकी छ’ उपमेयर पाख्रिनले भनिन्–‘हामी घटनास्थल जाँदै छौं ।’

लामो समयको वर्षापछि राति करिब २–३ बजे पहिरो गएको स्थानीयले जानकारी दिएका छन् ।  यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।

तस्विर : रामचन्द्र दुलालको फेसबुकबाट

Copy link
Powered by Social Snap