२०८० चैत्र १५

काठमाडौं महानगरले भन्यो – फुटपाथ पसल र ठेला व्यापार खोले महामारी नियन्त्रणबाहिर जान्छ

साभार: सेतोपाटी

‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भनिएको छ।

आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुन्। ।

सोही क्रममा उनले भनिन्, ‘महानगरले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेको छ। अहिलेको आदेश महानगरको यो नीतिविपरीत छ। अर्कोतिर सहरमा संक्रमण फैलिँदो दरमा छ। यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ। यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रणबाहिर जान्छ।’

यस ठाउँमा स्वास्थ्य सुरक्षा उपाय अवलम्बन गर्ने कम मात्र सम्भावना हुने, अनुगमन गर्न कठिन हुने र कन्ट्याक्ट ट्रेसिङ् जटिल हुने भएकोले आदेश सच्याएर पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी हुँ।’


Advertisement


ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘यो आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकूल गराउने उद्देश्यले जारी गरिएको होइन। महामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसहरूलाई परेको समस्या खुकुलो बनाउन खोजिएको हो। अहिले महानगरबाट औपचारिक रूपमा ध्यानाकर्षण भएको छ। अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यससम्बन्धी छलफल गरेर निर्णयमा पुग्छौं।’

जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते जारी गरेको आदेशमा ‘फुटपाथ पसल र ठेला व्यापार’ खुल्ला गर्ने भनेपछि भित्री वडाहरुले, आफ्नो वडामा यस प्रकारका गतिविधि सञ्चालन गर्न नदिने सूचना प्रकाशन गरेका छन्।

त्यसैगरी, जनप्रतिनिधिहरूले आफ्ना सामाजिक सञ्जालमार्फत् फुटपाथ र ठेला व्यापार सञ्चालन गर्न नदिने जानकारी दिइरहेका छन्।

Copy link
Powered by Social Snap