२०८१ बैशाख ८

असोज १५ देखि आन्तरिक उडान गर्ने तयारीमा सरकार, अन्तर्राष्ट्रिय उडान संख्या पनि थपिँदै

साभार: रातोपाटी

सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लैजाने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले अन्तर्राष्ट्रिय उडान संख्या थप्न लागिएको जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यो प्रस्ताव पठाइसकेको भन्दै उनले आन्तरिक उडान पनि सुचारु गर्न प्रस्ताव पठाएको जानकारी गराए । 

आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ । आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै उनले भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’  हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने  सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो । 

आर्थिक पत्रकार संघ (सेजन)ले आयोजना गरेको सेजन अर्थनीति बहसमा मन्त्री भट्टराइले उडान संख्या थप्ने र आन्तरिक उडान गर्ने तयारी गरिएको जानकारी गराएका हुन् । 
हाल दैनिक ७/८ अन्तर्राष्ट्रिय उडान भइरहेको र अब त्यो संख्या बढाउँदै लैजाने मन्त्री भट्टराईले जानकारी दिए  । पर्यटन क्षेत्रले मासिक १० अर्ब रुपैयाँ गुमाएको भन्दै उनले छिटो भन्दा छिटो पर्यटन क्षेत्र खोल्न आफूहरुले पहल गरेको पनि उनले बताए । सरकारले सबैको बाँच्ने अधिकारलाई ज्ञारेन्टी गर्न कठोर निर्णय लिनुपरेको मन्त्री भट्टराइको तर्क छ । 


Advertisement


स्वदेश फर्कन चाहने करिब पाँच लाख नेपाली रहेको बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाहरुको रोजगारी गुमिसक्यो । कतिपय कम्पनीले कम्पनीकै खर्चमा नेपाल पठाउने भनेका छन् । कतिपय बेखर्ची भएकाहरुलाई उद्धार गर्नुपर्ने छ । अहिले दैनिक करिब हजार जना स्वदेश फर्किएकोमा यो संख्या अब दैनिक ३ हजारसम्म पुग्छ ।’

दक्षिण एसियमा व्यावसायिक उडान गर्ने नेपाल नै पहिलो देश भएको मन्त्री भट्टराईको दाबी छ । विश्वमै अहिले औसतमा ५० प्रतिशतभन्दा कम उडाउन भएको उनको भनाइ छ । सरकारले कोरोनाभाइरसको जोखिमका कारण गत चैतदेखि आन्तरिक उडान बन्द गरेको छ भने अन्तर्राष्ट्रियतर्फ भने केही समययता सुरक्षाका मापदण्ड अपनाएर सीमित गन्तव्यमा नियमित र चार्टरमार्फत उडान हुँदै आएको छ । 

Copy link
Powered by Social Snap