२०७९ असार १६
Advertisement

Advertisement

कोरोना कहर : उपत्यकामा सरकारी र निजी अस्पतालले यसरी दिइरहेका छन् सेवा

साभार: रातोपाटी

काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरू ठप्प छन् । पछिल्लो केही सातायता देशभरी नै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तीव्र आलोचना समेत भइरहेको छ । यसैबीच प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ । उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफलसमेत गरिरहेको छ । यसैक्रममा मङ्गलबार उपसमितिले कोभिड र नन कोभिडका बिरामीहरूलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा निजी अस्पतालका सरोकारवालाहरूसँग छलफल गरेको छ । छलफलमा सहभागी सरकारी तथा निजी अस्पतालका निर्देशक तथा पदाधिकारीहरूले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नुपरेका समस्याहरू बताएका छन् । नेपालमा कोरोना सङ्क्रमण देखिएपछि आफ्नो अस्पतालबाट सम्पादन भएका सेवाहरू, स्वास्थ्यकर्मीहरूले भोगेका समस्याका बारेमा उनीहरूले समितिले जानकारी गराएका छन् । छलफलका क्रममा प्रस्तुत भएका उनीहरूको विचारको सम्पादित अंशः  

छलफलमा कसले के भने ?
केदारप्रसाद सेन्चुरी, निर्देशक, वीर अस्पताल
हामीले सुरुमा गेटमै ज्वरो जाँच गर्ने हेल्प डेस्कको व्यवस्था ग¥यौँ । त्यसपछि ज्वरो क्लिनिक, आइसोलेसन वार्ड र अन्य वार्डहरू तोकेर सुरु ग¥यौँ । त्योभन्दा अगाडि हामीले विभिन्न उपसमितिहरू बनायौँ । जसले गर्दा काम गर्न सहज भयो । ती समितिहरू अहिले पनि सक्रिय छन् । 

अहिलेको सन्दर्भमा अस्ति भर्खरै भदौ २१ गतेदेखि अस्पताल कोभिड अस्पतालका रूपमा सेवा दिइरहेको छ । ४ सय ६० बेड रहेकोमा ४ सय २२ बेड सञ्चालनमा रहेको छ र पुराना स्टक्चरहरू छन् । त्यसैभित्र कोभिड र ननकोभिड दुवैलाई सुरुदेखि नै हामीले छुट्याएर काम गरिराखेका छौँ भने अब डेडिकेटेड कोभिड अस्पतालका रूपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरू ननकोभिड पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ । खास गरेर मिर्गौलासम्बन्धी उपचारको सेवा हाम्रोमा गर्नैपर्ने अवस्था छ । अन्य सेवाहरू हामीले राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएका छौँ । 

डा. रोहित पोखरेल, कार्यकारी निर्देशक, त्रिवि शिक्षण अस्पताल
लकडाउनपछिको समयमा ननकोभिड बिरामीको सङ्ख्या कम भए पनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेसन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको छ । अहिले सबैभन्दा बढी अस्पतालले अपरेसनमा आकस्मिक र न्यून आकस्मिकलाई प्राथमिकता दिएको छ । तर आवश्यकताअनुसार सबै अपरेसन गर्ने गरेका छौँ । तर ननकोभिडलाई अलिकति कम गर्नुको कारण के हो भने स्रोतहरू धेरै खर्च नगरौँ पछि गाह्रो प¥यो भने अप्ठ्यारो होला भनेर सकेसम्म इमरजेन्सी र सेमिइमरजेन्सी अपरेसनका लागि मात्रै ध्यान दिएका छौँ । कोभिडका लागि चैत महिनादेखि भदौको अन्तिमसम्म आउँदा झण्डै ३ हजार कोभिड शङ्कास्पद बिरामीहरूलाई हामीले सेवा दिएका छौँ । त्योमध्ये झण्डै १३ सय बिरामी भर्ना गरेर उपचार गरेका छौँ । गणेशमान सिंह भवनमा नाक, कान, घाँटीको ओपीडी अपरेसन र वार्ड सबै चलिराखेको र अर्थोपेडिकको चाहिँ वार्ड र अपरेसन थिएटर भएकोमा कुल पाँचवटा अपरेसन थिएटर भएकोलाई हामीले कोभिड ब्लक भनेर सेपरेट ग¥यौँ ताकि त्यो भिन्दै भएको हुनाले छुट्याउन सकियोस् भनेर हामीले गरेका थियौँ । तर अहिलेको अवस्थामा बिरामीहरूको चाप हेरेपछि हामी अर्को म्याटोनिटी ब्लकलाई पनि कोभिडका लागि प्रयोग गरेका छौँ ।

 त्यस्तै एनएस थ्रीलाई पनि कोभिडको वार्ड भनेर अहिले हामीसँग कोभिडका लागि भनेर १ सय २० वटा बेड छुट्याएका छौँ । निकट भविष्यमा हामी २ सयवटा बेड छुट्याउने पक्षमा छौँ । अहिलेसम्म हामीले २ सय ३३ जना कोभिड बिरामीलाई सेवा दिएर पठाएका छौँ । हेमो डायलासिस हामीले दिनमा झण्डै ४० वटा गर्छौं । दुईवटा हेमो डायलासिस मेसिन कोभिडका लागि छुट्याएका छौँ । कोभिड पोजेटिभ भएको बिरामीको डायलासिस त्रिवि शिक्षण अस्पतालमा मात्रै हुन्छ । अहिलेसम्म १८ जना पोजेटिभ केस भएका बिरामीको हेमो डायलासिस गरेका छौँ । अहिले बच्चाहरूको पनि पोजेटिभ केस आउन थालेपछि हामीले पीआईसीयू वार्ड बच्चाहरूको लागि छुट्यायौँ र त्यो वार्डमा अहिलेसम्म २८ जनालाई भर्ना गरेर सेवा दिएका छौँ । भेन्टिलेटरमा पाँच जनालाई सेवा दियौँ भने कोभिड पोजेटिभ भएका बच्चाहरू २ जना थिए । 

डा. रवि शाक्य, कार्यकारी निर्देशक, पाटन अस्पताल
कोभिड सङ्क्रमणको दर बढेसँगै पीपीई लगायतका सामग्रीको अभाव हुने देखेर हामी आफैले त्यसको उत्पादन सुरु ग¥यौँ । पीपीई, मास्क र सेनिटाइजर सबै उत्पादन गरिरहेका छौँ । तर अहिले पनि पर्याप्त त छैन तर सक्दो उत्पादन गरेर हामीले प्रयोग गरिरहेका छौँ । आजको मितिसम्म हाम्रो अस्पतालमा २ हजार कोडिभका बिरामीहरू भर्ना भएका छन् । जसमा १८ सयजना निको भएर घर फर्किएका छन् ।  अहिले १ सय १० जना उपचाररत छन् । ३० जनाको मृत्यु भएको छ । हामीले २ वटा मेसिन राखेर लगातार हेमोडायलासिस गरिरहेका छौँ । कोभिड वार्ड भित्र पनि सबै सेवा सुविधा छन् । त्यहाँ सुत्केरी सेवा, साइक्याट्रिक सेवा र सर्जरीहरू सबै सेवा दिइरहेका छौँ ।

सर्जरीको छुट्टै सेटअप पनि छ । कुनै पनि सेवाहरूलाई बन्द गरेको अवस्था छैन । अहिले हाम्रा स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको अवस्था छ । अस्पतालको बिरामीबाट सर्नेभन्दा पनि कम्युनिटीबाट नै सरेर आएर एउटा स्वास्थ्यकर्मीले अर्कोलाई सारेको अवस्था बढी छ । बरु कोभिड वार्डमा छिर्नेहरू एकदमै सतर्क भएका छन् । उनीहरूमा त्यति फैलिएको छैन । अरूहरू फैलिएको अवस्था छ । आजको दिनमा करिब करिब ३ दर्जन जति पोजेटिभ भएर अहिले पनि १६ जना भर्ना भएर उपचार गराइरहेका छन् । स्वास्थ्यकर्मी अथवा काम गर्ने म्यानपावरका पनि हामीलाई कठिनाइ भइरहेको छ । सङ्क्रमण नभएका स्वास्थ्यर्मीहरू पनि त्रसित बन्दै गएका छन । उनीहरूको मनोबल एकदमै कम भएको अवस्था छ । काम गरे पनि समाजले जस नदिने, सम्मान नदिने अवस्था छ । त्यो अवस्थामा स्वास्थ्यकर्मीहरूबाट काम लिन एकदमै गाह्रो भएको छ ।


Advertisement


डा. चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल
डाक्टर, नर्स र हाउसकिपिङहरूको सुरक्षाका लागि एकदम क्रिटिकल छ ।  त्योभन्दा अर्को ठूलो कुरा भनेको बिरामीलाई जुन खालको आत्मबल दिएर उपचार गर्नका लागि धेरै लगानी जरुरी हुन्छ तर पब्लिकले हेर्दा निजीमा आफूले पैसा तिरेर उपचार गर्ने अधिक खर्च हुने अवस्था अहिलेको बेलामा मैले देखेको छु । 

कोभिड बिरामी लिन सुरु भएपछि हामीले ४६ जना बिरामीलाई भर्ना ग¥यौँ । जसमा धेरै सिरियस बिरामी आईसीयूमा छन् । हामीले कोभिडका लागि १२ वटा आईसीयू बेड छुट्याएका छौँ । हामीले खर्च गर्न सक्ने बिरामीलाई एकल कोठा दिएका छौँ । अलिकति कम खर्च गर्न सक्ने र आईसीयूमा राख्न नपर्नेलाई चार जनाको बेड उपलब्ध छ । जुन आईसीयूमा राख्नु नपर्ने त्यस्तो खालको इकोनोमिक बेड, त्योभन्दा तल्लो बिरामीलाई १८ बेडको आइसोलेसन गरेर सरकारले मागेको २० प्रतिशत बेडमा हामीले झण्डै ३० प्रतिशत बेड अस्पतालको कुल क्षमताको बेड थपेका छौँ । ४६ जना बिरामी भर्ना भएकोमा २२ जना निको भएर घर फर्किएका छन् ।

 भेन्टिलेटरमा राखेर उपचार गरिएका तीन जना घर फर्किएका छन् । जसमा प्लाज्मा थेरापी, रेन्डिकेसन जस्ता रेन्डिसिपेड जस्ता सेवाहरू पनि दिइएको थियो । केही बिरामीलाई नेगेटिभ भए पनि नर्मल वार्डमा सार्न सक्यौँ । अहिले पनि २३ पोजेटिभ बिरामी हाम्रो अस्पतालमा हुनुहुन्छ । अर्को चुनौतीको कुरा भनेको स्टाफको हो । अब वार्डमा पीसीआर गर्नुभयो, बिरामीको पीसीआर नेगेटिभ आयो भने बिरामीलाई सर्जरीमा लिएर गयौँ, अपरेसन भयो । सबै ठिक छ, दुई दिनपछि ज्वरो आउँछ । अनि पीसीआर ग¥यो अब पोजेटिभ आउँछ । त्यो कसैले पनि भविष्यवाणी गर्न नसक्ने चुनौती छ । स्टाफ र डक्टरलाई उत्प्रेरित गर्न उनीहरूको उपचारमा लागेको खर्च अस्पतालले गर्ने, खानकीको व्यवस्था गर्ने, उनीहरूलाई होटल अथवा अस्पतालको बेडमा भर्ना गरेर टेक केयर गर्नेगर्दा आर्थिक क्षेत्रबाट सर्भाइभ हुने देखिँदैन । तर अर्को विकल्प पनि छैन । किनभने स्टाफको केयर गर्न सकेनौँ भने उनीहरूलाई समयमा तलब दिन सकेनौँ भने त हाम्रो अस्पतालले कोभिडको सेवा दिने कुरा त परै जाओस् उनीहरूको केयर पनि हाम्रा लागि धेरै चुनौती हुन आउँछ । कोभिड मेडिकल सङ्क्रमण मात्रै नभएर यो सामाजिक चुनौती हो । अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ त्योभन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन ।

डा. अजय खड्का, आइसोलेसन इन्चार्ज, नर्भिक अस्पताल
स्टाफहरूलाई छुट्टै होस्टल लिएर राखिएको छ । खाना लगायतको व्यवस्था सबै अस्पतालले नै गरेको छ । कर्मचारीका लागि इन्सेन्टिभको रूपमा तलबमा नै थप गरेर दिने गरिएको छ । बिरामीलाई असर नहोस् भनेर कोभिडका बिरामीहरूको उपचारका लािग भवन छुट्याइएको छ । २८ जना पोजेटिभ बिरामीको उपचार भएकोमा अहिलेसम्म ९ जना डिस्चार्ज भएका छन् । दोस्रो अथवा तेस्रो परीक्षणमा नेगेटिभ आएको खण्डमा डिस्चार्ज गरेर पठाउने गरेको छ । आफ्नो ल्याब नभएको कारण परीक्षणका लागि बाहिर पठाउने गरिएको छ ।

डा. जेनश आचार्य, सहनिर्देशक, केएमसी अस्पताल
जेठ १० गते पहिलो बिरामी लिँदा हामीले सिनामङ्गलमा ९ सय ३० जना बिरामी स्क्रिनिङ क्लिनिकबाट हेरिरहेका थियौँ । आजको दिनसम्म ३८ हजार ६ सय ६२ जनालाई ओपीडी सेवा दिइसकेका छौँ । २२ हजार १ सय ६६ जना भर्ना भएर निको भएर ननकोभिड बिरामीको उपचार भएको छ । इमरजेन्सीमा ४ हजार ७ सय ८१ जना बिरामीलाई सेवा दिइसकेका छौँ । 
अहिलेसम्म ११ सयवटा सर्जरी भइसकेको छ भने ७ सय ८८ वटा डेलिभरी भइसकेको छ । दुवाकोटमा आजको दिनसम्ममा २ सय ६ जना कोभिडको शङ्कास्पद बिरामीलाई आउने वित्तिकै क्वारेन्टाइनमा राख्ने काम ग¥यौँ । दुवाकोटको हस्पिटल पनि ग्रिन जोन र रेड जोनमा वर्गीकरण गरेर ग्रिन जोनमा डेन्टल कलेज भएको हुनाले डेन्टल सुविधा दिएका थियौँ । रेड जोनमा लिफ्ट प्रयोग गरेर शङ्कास्पद बिरामीलाई ८ तलामा राख्यौँ ।

डा. सङ्गिता शाक्य, कोभिड व्यवस्थापन प्रमुख, बी एन्ड बी अस्पताल
सबैभन्दा ठूलो गल्ती कोभिड र ननकोभिड बिरामीहरू एकै ठाउँमा राखेर भएको छ । त्यो गल्ती हामीले पनि गरिरहेका छौँ । बरु यो गर्नुको सट्टा कोभिड डेडिकेटेड अस्पतालहरू क्षमता बढाएर कोभिड बिरामीहरूलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने थिए । स्टाफहरूले बिरामी छुनै डराउँछन् । हामीले त्यो समस्या भोगिरहेका छौँ । नर्सहरूले छुनै डराउँछन् । पीसीआर टेस्ट गरेर मात्र ल्याऊ भन्छन् । यो हाम्रो अस्पतालको समस्या मात्रै हाइन अरू अस्पतालमा यस्तै समस्या छ । जबसम्म हामीलाई फोन आउँदैन तबसम्म तुरुन्त बच्चालाई उपचार गर नभनुन्जेलसम्म लिनै नमान्ने समस्या छ । २० प्रतिशत सबै अस्पतालमा कोभिड बिरामी राखेर सङ्क्रमणको झन् जोखिम भयो । 

Copy link
Powered by Social Snap