२०८१ बैशाख ८

सुनसरी ४ : सर्वदलीय बैठक निष्कर्षविहीन, मतगणनाका लागि आयोगको निर्देशनको पर्खाइ 





सुनसरी । शनिबार साँझदेखि स्थगित भएको सुनसरीको क्षेत्र नं. ४ को मतगणना अनिश्चित् बनेको छ । आज दिनभर मतगणना सुचारु गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसे पनि कुनै निर्णय हुन सकेन ।



Advertisement



बैठकको छलफलमा चित्त नबुझको भन्दै नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगमा निवेदन दिएका हुन् । आयोगले निवेदन उपुर कुनै निर्देशन दिएको छैन । 

मतगणना स्थगित भएको १२ घण्टा हुन लाग्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै निर्णय गर्न सकेको छैन । आज बिहान बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएपछि दिउँसो पुनः बैठक बसेको थियो । तर, दिउँसो बसेको बैठकले पनि विवाद समाधान गर्न कुनै निर्णय गर्न सकेन ।
 
निर्वाचन अधिकृतको कार्यालयले निर्णय दिन नसक्दा अन्यौलता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतगणना वा पुनः मतदानको माग गर्दै निवेदन दिएको छ । राजनितिक दलको विवादका कारण मतगणना अन्योल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जीवनकुमार श्रेष्ठ र समानुपातिक उमेदवार तथा जिल्ला उपसभापति देवकुमारी भण्डारीले ले निवेदन दिएका छन् । 
उनीहरुले तत्काल निर्णय गर्न माग गरेका छन् । 



सर्वदलीय बैठकमा उमेदवारका आआफ्नै अडान

दिनभरको बैठकमा कांग्रेस र नेकपा (एमाले)का उमेदवारले पुरानै अडान दोहोर्याएका थिए । कांग्रेसका कार्कीले प्राप्त नतिजामा गल्ती भएको र विश्वास गर्न नसक्ने भन्दै पुनः गणना गर्ने माग दोहोर्याएका थिए । 

तर, एमालेका जगदिश कुसियैतले निर्वाचन कार्यालयले इन्ट्री नगरेको अवस्थामा कर्मचारीबाट भएको गल्ती पुनः नदोहोर्याउने भन्दै गणना सुचारु गर्न माग गरेका थिए । “म निर्वाचनको कानुनी प्रकृयामार्फत अगाडि बढ्ने भन्दै माननीय मन्त्रीज्यू निस्कनुभयो । बैठक बिनानिष्कर्ष टुंगियो,” एमालेका उमेदवार कुसियैतले भने ।
 
सर्वदलीय बैठकपछि दुई उमेदवारबीच पनि पटकपटक बैठक बसेको थियो । दुई उमेदवार र मुख्य निर्वाचन अधिकृतबीच पनि छुट्टै बैठक चलेको थियो । पटकपटक बसेको दुई पक्षीय तथा त्रिपक्षीय बैठकबाट पनि कुनै सहमति निस्कन सकेन । 

बैठकबाट सहमतिमा पुग्न नसकेपछि मन्त्री कार्की बैठकस्थलबाट बाहिरीएका थिए ।

Copy link
Powered by Social Snap