२०८१ बैशाख २३

जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : सिंह




काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले जनताको चाहनाअनुरूप काम गर्न आफू केन्द्रित हुने बताएका छन् । विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहनाअनुसार आफूले काम गर्ने उनको भनाइ छ ।

शुक्रबार आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गरे । आफूले त्यसो नगर्ने उनले प्रतिबद्धता जनाए ।



Advertisement



उनले तीनवटै तहका सरकारलाई अधिकारसम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गरे ।

सुशासन, समृद्धि, विकास, बेरोजगारी समस्या समाधान गरी मुलुकलाई भ्रष्टाचार मुक्त गराउनुपर्ने दायित्व पनि आफूहरूको रहेको नेता सिंहले बताए ।



उनले जनताको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई प्राथमिकताका साथ अघि बढाउने दोहोर्‍याए ।

उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा त्यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका थिए ।

Copy link
Powered by Social Snap